भरत शिवाकोटी /
चिनबाट शुरु भएको कोरोना भाइरस (COVID19) ले विश्वभर बिस्तारै महामारिको रुप धारण गर्दै गैरहेको छ । कोरोनाबाट दिनहुँ संक्रमण हुने संख्या तिब्र रुपमा वृद्धि भइरहेको छ भने मृत्यु हुनेको संख्या झन्डै चालीस हजार नजिक पुगेको छ, यसबाट विश्व समुदाय चिन्तित बनेको छ ।
हालसम्म कुनै औषधी पत्ता नलागेको यो महामारी भाइरस बाट बच्ने उपाय भनेको उच्च सतर्कता अथवा सावधानी नै हो । यसै अनुरुप विभिन्न देशहरूले आ-आफ्नो देशका जनता सुरक्षीत राख्न सावधानी अपनाएका छ्न । हाम्रो देश नेपालमा समेत कोरोना भाइरस संक्रमीत फेला परिसकेको र संक्रमणको आशंका गरिएका व्याक्तिहरु बढदो क्रममा रहेको सर्वविदितै छ जसलाई नियन्त्रण गर्न नेपाल सरकारले विगत एक हप्तादेखी मुलुक लकडाउन गरेको छ । महामारी नियन्त्रणमा लिन अन्य विभिन्न उपायहरु अवलम्बन गरिएको छ जुन सराहनिय छ भन्दा अत्युक्ति नहोला ।
वर्तमान लकडाउनको समयमा सुरक्षालाई काबु बाहिर जान नदिन कतिपय ठाउँमा सुरक्षाकर्मी द्वारा अभद्र व्यवहार सँगै बढी बल प्रयोग गरेको समाचारहरु समेत बाहिरिएको अवस्थामा त्यसलाई निगरानीमा राख्दै सुरक्षा सतर्कता बढाउन जरुरी देखिन्छ । लकडाउनको अवधिमा पनि कतिपय जनमानस यसलाइ बेवास्ता गरिरहेका छन भने कतिपय आफू सतर्क रहे केही नहुने भ्रममा छन । तर कोरोना संक्रमीत व्यक्ती कुनै व्यक्ती वा परिवार सँग रहेमा वा सम्पर्क भएमा त्यो व्यक्ती र सिङ्गो परिवार संक्रमीत हुनेछ्न अनि त्यो व्यक्ती वा परिवारका सदस्य अरु जति ब्यक्ती सँग घुलमिल हुन्छ्न त्यति नै व्यक्ती कोरोना भाइरसबाट संक्रमीत हुन्छ्न र यहि क्रमले यसले भयावह रुप लिन्छ भन्ने कटु सत्यलाई नजरअन्दाज गरेको यत्रतत्र देख्न सकिन्छ सँगै संक्रमीत व्यक्तीले प्रयोग गरेका वस्तुहरु जस्तो कपडा, पैसा, तास, अन्य सामाग्री र कोरोना संक्रमीत व्यक्ती समिपमा भए पनि सजिलै सँग कोरोना भाइरस सर्न सक्छ भन्ने तितो यथार्थलाई समेत पटक्कै ख्याल गरेको पाँइदैन सँगै अन्य सुरक्षा सतर्कताका न्युनतम कामहरुमा समेत बेवास्ता गरेको पाइन्छ । यी यावत सुरक्षाका कवजहरुलाई अवलम्बन गराउन सुचनामुलक जानकारी आवश्यक छ ।
जसलाई जानकारी नै छैन, उसलाई त सुचना अथवा जानकारीको खाँचो रह्यो तर जसलाई सबै जानकारी छ अनि बुझ्ने व्यक्तिले नबुझ्ने व्यक्तिलाई बुझाउनु आजको समयमा अर्को ठुलो ओखती हो, सरकारलाई सहयोग हो र आफु सुरक्षित रहने प्रतिशत बढाउनु हो । तर उनै बुझ्नेहरूले नै नबुझ्ने जस्तो गरि वेवास्ता गर्नु चाहिँ बिडम्बना नै मान्नुपर्छ । समस्यालाई सामान्य ठानेर हिजोको जस्तै गरि हिँडडुल गरिदैछ र सरकार द्वारा जारी गरिएको लकडाउनलाई चुनौती दिने काम भैरहेको छ । यसको परिणाम कति घातक हुनसक्छ भन्ने उदाहरण खोज्न धेरै टाढा जान पर्दैन । आज भन्दा केही हप्ता पहिले मात्र इटाली लगायतका देशमा कोरोना संक्रमितको आँकडा आजको नेपालको जस्तै थियो । सरकारले हरेक ठाँउमा लकडाउन गरेको थियो, मानिसहरुलाई अति आवश्यक काम नपरी बाहिर जान निषेध गरेको थियो, साबुनपानीले पटक-पटक हात धुन, मास्कको प्रयोग गर्न भनेको थियो, भेला, भिड नहुन नगर्न भनेको थियो ।
तर अहिले हामीले कोरोना भाइरसलाई जस्तो सामान्य सोचेका छौँ, उनिहरुले पनि त्यस्तै सामान्य सोचेर सरकारको आग्रहलाई लत्याइदिए । बिना काममा बाहिर निस्कन र हिँडन छोडेनन, भेला हुन, अनावश्यक भिड गर्न छोडेनन । परिणाम स्वरूप आज इटालीको हालत नियन्त्रण गर्न हम्मे हम्मे परेको छ । हरेक दिन सयौंको संख्यामा मनिसहरुले ज्यान गुमाइरहेका छन, भाइरसका कारण मर्नेको संख्या कोरोना भाइरसको उत्पति भएको छिमेकी राष्ट्र चिनको भन्दा उच्च रहेको छ । जब यो भाइरसका कारण कसैको मृत्यु हुन्छ तत्पश्चात अरु व्यक्तिमा भाइरस सर्ने खतराका कारण कसैलाई भेटन दिईदैन, लाश लैजान, सदगत गर्न पाइदैन । यस्तो डरलाग्दो दृष्टान्त हाम्रो अगाडी हुँदाहुँदै हामी त्यसलाई समेत बेवास्ता गर्दैछौं भने कतै हामी त्यस्तै चपेटामा त पर्दैनौ यसै भन्न सकिने अवस्था छैन ।
आशा गरौं, हामीलाई प्राकृतिक सँगै मौसम र अन्य साथ समेत रहनेछ र इटालीको जस्तो भयावह स्थिति आउने छैन तर यसका निमित्त हामीले पालना गर्नुपर्ने न्युनतम सतर्कता चाहिँ पालना गर्नैपर्छ अन्यथा उपरवालाको मर्जी भनेर छोडे बुद्दिको बिर्को लगाएर जानाजान गरेको सतर्कता उल्लंघनको परिणाम स्वीकार्न तयार हुनुको विकल्प हुनेछैन । निकट भविष्यमा हाम्रो असावधानीका कारण नेपालमा इटालीको जस्तै भयावह स्थिती आइपरे आज इटालीका जनताले जसरी पछुताउने समय पाएका छैनन त्यसैगरी हामीसँग नि पछुताउने समय नहुन सक्छ । अब पनि आवश्यकता बिना नै घरबाहिर निस्केर हिँडने, भेला हुने, तास, जुवा, क्यारेम्बोर्ड आदि खेल्ने अथवा न्युनतम आफुले सक्ने सुरक्षा सतर्कतालाई पटक्कै ख्याल नगरे हामीलाई यसको मूल्य चर्को पर्न सक्छ । अझ अहिले ज्यालामजदुरी गरेर छाक टार्ने समुदायको चुलो बाल्न सरकार तथा विभिन्न संघ संस्थाले सहयोग गर्न देखाएको तदारुपता प्रशंसा योग्य देखिए पनि त्यसको वितरण तरिकामा भने अत्यत्नै जोखिम देखिएको छ । फोटो खिच्नका निमित्त न्युनतम दुरि एवं सुरक्षा सतर्कता अवलम्बन गर्नेतर्फ जानाजान बेवास्ता गर्दै हाताहाती भिड कायम गरेर वितरित राहतले कालान्तरमा न त राहत पाउने सुरक्षित रहने देखिन्छ न त राहत दिने नै सुरक्षित रहने देखिन्छ । सुरक्षित रहन सक्ने उपाय हुँदाहुँदै आफुले आँफैलाई उच्च जोखिमको दाउमा राखेर गरिने राहत बितरणलाई गहन गरि हेर्ने हो भने गर्व गर्ने ठाउँ देखिदैन ।


