‘नेकपालाई दुईतिहाई बहुमत हिजोका राजा–महाराजा र कांग्रेसीहरुले दया गरेर दिएको होइन’

उज्यालो प्रतिनिधि २३ श्रावण २०७६, बिहीबार

नेपालमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारका संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्, यो नाटकीय ढंगले भएको परिवर्तन पनि होइन । नेपाली जनताले राणाशाही आन्दोलनको बेलादेखि, ००७ साल वरिपरीदेखि संविधानसभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएर तीन तहको निर्वाचन नहुँदासम्म नेपाली जनताले गरेको अनवरत संघर्ष, त्याग र बलिदानको परिणाम हो ।

झण्डै ७० वर्ष नेपाली जनताले, यहाँका उत्पीडित वर्ग, उत्पीडितजाति, क्षेत्र, लिंग, समुदाय सबैको संघर्ष, बलिदानको कुल योगफलको रुपमा आजको संविधान र संरचना छ । र, यो संरचनाले विकास गर्नुपर्दछ । जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्दछ । त्यसैले हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वको सरकारले आफ्नो सपनाको रुपमा समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने राष्ट्रिय सपना बोकेको छ । डेढ वर्षमा हामी गर्यौ, के गरेनौँ भन्ने कुरा तपाई हामीमाझ छर्लङ्गै छ ।

यो बीचमा हामीले संसद्बाट थुप्रै ऐन कानुन बनाउनुपर्ने थियो । यदि हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि आवश्यक ऐन कानुन नबनाएको भए यो सिस्टम नै धरापमा पथ्र्यो । हाम्रो सरकारले युद्धस्तरमा काम गरेर गएको असोज ३ गतेभित्र नबनाई नहुने कानुनहरु सबै बनाएको छ र यो सिस्टमलाई बलशाली बनाएको छ । तीनवटै तहका सरकारहरुले विकास निर्माणका कामहरु गरेको छ । संघीय सरकारले पहिलो वर्षलाई आधार वर्षको रुपमा लिइएको छ । अब काम गर्नुपर्छ भनेर तीव्र गतिमा काम अगाडि बढाएको छ ।

  • हामीले उदारतापूर्वक लोकतान्त्रिक ढंगले बस्न दिएको त आठ दश वर्ष बित्न नपाउँदै, संविधान घोषणा भएको र निर्वाचन भएको २ वर्ष बित्न नपाउँदै उनीहरुले जे बकबास गर्न थालेका छन्, यदि उनीहरुले यसरी नै संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध गालीगलौज र बकबास गर्न थाल्यो भने मलाई के विश्वास छ भने उनीहरुलाई नेपाली जनताले उनीहरुलाई छुट दिने छैनन्, हामी नेताहरु नेपाली जनताको काख र हितभन्दा बाहिर हुने छैनौँ । यो उनीहरुलाई हाम्रो खबरदारी मात्रै होइन, हाम्रो सुझाव पनि हो ।

हामीलाई थाहा छ, ५० औँ वर्षमा बिगारिएको संरचना, थुपारिएको फोहरको डंगुरलाई सफा गर्ने काम हाम्रो जिम्मामा परेको छ । भन्नुहुन्छ भने अन्य राजनीतिक दल र सिस्टमले जस्तो सँस्कार विकास गर्यो, त्यो सँस्कार भत्काउने र नयाँ प्रगतीशील सँस्कार विकास गर्ने क्रममा हामी छौँ । बिहानले दिन देखाउँछ भनेझैँ देशैभर स्थानीय सरकारले सानातिना विकास निर्माणका कामहरु, शिक्षा, स्वास्थ्य रोजगार लगायतका कामहरु जसरी गरेको छ, सातै प्रदेशले सामाजिक सुरक्षा कार्यक्रमसँग सम्बन्धित कामहरु गरेको छ र केन्द्र सरकारले जनताको भावना र अपेक्षालाई बुझेर जसरी काम अगाडि बढाएको छ, यसले आगामी दिनमा ठूलाठूला विकासका कामहरु हुन्छ भन्ने विश्वास दिलाएको छ ।

केही मान्छेहरु अब यो सिस्टम फेल भयो । तपाईहरुले सुन्नुभयो होला, हिजो सामन्ती राजा महाराजाहरुको चाकडी र गुलामी गर्ने केही त्यस्ता दलालहरु, दासहरु अहिले अब सरकार होइन सिस्टम नै फेर्नुपर्ने बेला आयो भनेर भनेका छन् । सरकार गठन भएको जम्मा डेढ वर्ष मात्रै भयो, स्थानीय सरकार गठन भएको पनि २ वर्ष मात्रै भएको छ, तर तिनीहरुले सिस्टम बदल्ने कुरा गरेका छन् । एकथरी मान्छेहरुले चाहिँ राजालाई ल्याउँछौँ भनेर हल्ला गरेको पनि तपाईहरुले पनि सुन्नुभएको होला । कतिपयले विभिन्न बहानामा परिवर्तन पक्षधरताहरुलाई कुनै न कुनै रुपमा अप्ठ्यारोमा पार्ने षड्यन्त्रहरु गरेको पनि थाहा पाउनुभएको होला । ती मान्छेहरु जसले जिन्दगीभरी सामन्तवादको, निरंकुशतन्त्रको, तानाशाहीको दलाली र चाकडी गरे, र तपाई हामी गाउँघरका र देशभरीका जनताले र त्यसको नेतृत्व गरेको पार्टीले दुख कष्ट, त्याग, तपश्या बलिदानको ऐतिहासिक कीर्तिमानहरु कायम गरेर, एक वर्ष होइन, दुई वर्ष होइन, पचासौँ वर्ष लडेर यो परिवर्तन आएको हो ।

मानौँ ती हिजोका राजा महाराजाका दलालहरुले सजिलै अब यो गणतन्त्रलाई उल्ट्याउन सकिन्छ भन्नेजस्ता बकबासहरु, होहल्लाहरु अहिले गर्न थालेका छन् । तिनीहरुका ती बकबास गाउँका जनताहरुले सुविधा नपाउन् भन्नेखालका बकबास हुन् । देशभरी विकासले जो गति लिन थालेको छ, त्यो गति रोक्ने र फेरि निरंकुशतातिर पिस्नेतर्फ फर्काउने दिवासपना तिनीहरुले देखेका छन् । म अपिल गर्न चाहन्छु, उनीहरुले फेरि नेपाली जनतालाई रैती र दास बनाउने दिवासपना देखेका छन्, त्यो कहिल्यै पूरा हुने छैन, त्यसलाई कुनै हालतमा पूरा हुन दिइने छैन । सानो दुखले, त्यागले, तपश्याले यो ठाउँमा आएका होइनौँ । हामीलाई कसैले दयामाया गरेर कम्युनिष्ट पार्टीलाई दुईतिहाई बहुमत दिएको होइन । हिजोका तानाशाहहरुले दोस्रोपटक प्रधानमन्त्री हुँदा नेपाललाई एकताबद्ध गर्ने र निर्वाचनतिर लैजाने, र देशलाई नयाँ गतितिर लैजाने अनि कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने र एउटा शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्व गर्नेमध्ये एक हुने अवसर मलाई मिल्यो । यो के हिजोका राजा महाराजाहरुले दिएको अधिकार हो त ? हिजोका कांग्रेसीहरुले दिएको अधिकार हो त ?

यो त तपाईहरुले, तपाईहरुजस्ता जनसमुदायहरु, जसले रातदिन मेहनत गरेर हामीलाई बचाउनुभयो, हुर्काउनुभयो, त्यो कारण तपाईहरुको योगदानले, भरोसाले, तपाईहरुको विश्वासले, तपाईहरुको मायाले नै हामी यो ठाउँमा छौँ । यदि उनीहरुको लागेको पुगेको हुँदो हो त मलाई त जिउँदै ल्याए पनि टाउको मात्रै ल्याए पनि ५० लाखको इनाम पनि दिएकै थियो ।

हिजोका सरकारहरुले नेपाली जनताका लागि के गर्यो भन्ने हामीलाई थाहा छैन ? त्यसकारण मेरो भनाईको तात्पर्य के हो भने आजभोलि एकथरी तानाशाह र निरंकुशताका पुजारीहरु, एकथरी राजा महाराजाका दासहरु अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध बकबास गर्न थालेका छन् । म तिनीहरुलाई चुनौती दिन चाहन्छु, उनीहरु बडो चाहिँ हामी अगाडि आयौँ भन्ने ठानेका छन्, ३ करोड नेपाली जनताको आवेगमा पर्यो भने तिनीहरु खरानी हुन क्षणभर पनि लाग्दैन ।

तिनीहरुले त अहिलेका हाम्रो पार्टी र नेताहरुलाई त धन्यवाद र बधाई दिनुपर्छ कि हामी छाडिदिएका छौँ । हामीले ज्ञानेन्द्रलाई सुरक्षासहित् उदारतापूर्वक नागार्जुनमा बस्न दिएका छौँ । हामीले उनीहरुलाई नेपाली जनताको उदार मन र तपाईहरुले हुर्काएका हामी छोराछोरी हाम्रो मन पनि उदार नै छौँ । हामी यदि कोही शरण पर्न आउँछ भने हामी त्यसको मरण गर्दैनौँ ।

हामीले उदारतापूर्वक लोकतान्त्रिक ढंगले बस्न दिएको त आठ दश वर्ष बित्न नपाउँदै, संविधान घोषणा भएको र निर्वाचन भएको २ वर्ष बित्न नपाउँदै उनीहरुले जे बकबास गर्न थालेका छन्, यदि उनीहरुले यसरी नै संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध गालीगलौज र बकबास गर्न थाल्यो भने मलाई के विश्वास छ भने उनीहरुलाई नेपाली जनताले उनीहरुलाई छुट दिने छैनन्, हामी नेताहरु नेपाली जनताको काख र हितभन्दा बाहिर हुने छैनौँ । यो उनीहरुलाई हाम्रो खबरदारी मात्रै होइन, हाम्रो सुझाव पनि हो । बकबास गर्न बन्द गरे हुन्छ । नेपाली जनताको हजारौँ छोराछोरीले रगत बगाएर ल्याएको यो गणतन्त्रको रक्षाको लागि हजारौँ, लाखौँ बलिदान गर्न तयार छ । तिमीहरुले यति सजिलो ठानेका छौँ भने त्यो तिमीहरुको मुर्खता हुनेछ, समयमै तिमीहरुले बुझे हुन्छ भनेर म भन्न चाहन्छु ।

कुशेश्वर महादेवस्थान गजुलदह, सिन्धुलीको पुल उद्घाटनको अवसरमा अध्यक्ष प्रचण्डले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *