तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेसँगै केही कम्युनिस्ट घटकहरुको एकताले देश साँच्चिकै समृद्धितर्फ जाने जनतामा ठुलो अभिलासा थियो । त्यही अभिलासा माथि टेकेर नै निर्वाचनपछि नेकपा नेपालको सबैभन्दा ठुलो राजनीतिक दल बन्न पुग्यो । अहिले नेकपाको लगभग दुईतिहाइ सहितको शक्तिशाली सरकार बनेको छ तर सरकारको कामकारबाही र योजना भने निक्कै फितलो हुँदै गएको छ । हिजो जनतालाई जुन सपना देखाएका थिए, आज निर्वाचन जितेपछि आफ्नो सरकारले कामको गति बढाउन नसक्दा जननिर्वाचित् प्रतिनिधिहरु अन्योलमा छन् ।
नेकपा भित्र विचार र सिद्धान्तको मतभेद त थियो नै तर पछिल्लो चरण पद प्रतिष्ठाको भागभण्डामा आएर विवाद सिर्जना भएको छ यो विवादले अप्रत्यक्ष रुपमा पार्टी संगठन र आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको गतिलाई नियन्त्रण भन्द बाहिर लाँदै गरेको आमजनताले महसुस गरेको पाइन्छ । पछिल्लो चरण ६ वटा महत्वपूर्ण विभागमध्ये पूर्व एमाले पक्षले ४ वटा विभागको नेतृत्व लिने र पूर्व माओवादी पक्षले २ वटा विभागको नेतृत्व लिने सहमति भएको थियो । तर अन्तिममा आएर यी सबैकुरामा सहमति पश्चात् पनि तात्कालिन माओवादी र एमालेले पार्टीको स्कुलिङ विभाग आफ्नो आफ्नो पार्टीले पाउनु पर्ने अडानमा छन् ।
स्कुलिङ विभागको विवादमा बाहिर नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल देखेपनि भित्र लडाइँ भनेको पुर्व माओवादीधार र एमालेधार बीच नै हो । किनभने स्कुलिङ विभागमा जुन पक्षले पायो त्यस पक्षको विचार पार्टीमा हाबी हुन्छ भन्ने त्रास दुबै पार्टीका नेता कार्यकर्तालाई प्रष्ट देखिन्छ । बालुवाटारमा सचिवालय बैठक बस्नुभन्दा अगाडि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुर्व माओवादीको भेलामा स्कुलिङ विभागको विषयमा सचिवालयमा उठाउने र एमालेलाई स्कुलिङ विभाग छोड्न नहुने सहमति भएको थियो ।
यतिबेला स्कुलिङ विभाग प्रमुख इश्वर पोखरेल कि नारायणकाजी श्रेष्ठ भन्ने सवालमा समेत विभिन्न टिक्का–टिप्पणी भइरहेको छ । इश्वर पोखरेले पार्टी एकताको सवालमा विभिन्न विवादित कुराहरु गर्दै आएको र उहाँमा तात्कालिन एमालेले बोकेको जनताको बहुदलीय जनवाद नै हुनुपर्छ भनेर पटकपटक सार्वजनिक समारोहमा बोल्दै आएकोले पनि पुर्व माओवादी पक्षले इश्वर पोखरेललाई स्वीकार्न नसकेको देखिन्छ । कतिपय माओवादीधारका नेता कार्यकर्ताहरुमा एमालेबाट परिवर्तनशिल विचारधारालाई स्वीकार्ने, हिजोको यथास्थितिबाट केही माथि उठेर केही नयाँ विचारको अभ्यास गरौँ भन्ने खालको व्यक्ति आए स्कुलिङ विभाग एमालेले नै लिए पनि फरक नपर्ने मनस्थितिमा देखिन्छ ।
यहाँ सवाल स्कुलिङ विभागको देखेपनि अन्ततस् विचारमा गएर कुरा ठोकिन्छ । एमाले भित्रका पनि विशेषगरी ओली धारका नेता कार्यकर्ताहरुमा तेत्रो ठुलो विरासत बोकेको पार्टी माओवादी र माओवादीको नेतृत्वमा भएको जनयुद्धलाई हेर्ने दृष्टिकोण कति सम्म कमजोर छ भन्ने कुरा बेलाबेलामा सुर्य थापाहरुको अविब्यक्तिबाट प्रष्ट पार्छ ।
इश्वर पोखरेलले केही समयअघि पूर्वएमालेले अघि सारेको ‘जनताको बहदलीय जनवाद’ लाई पार्टीको दस्तावेजमै राख्नुपर्ने धारणा अघि सारेका थिए । ‘जनताको जनवाद’ अमूर्त भएको उनको तर्क छ तर पार्टीले एमालेको जनताको बहुदलीय जनबाद र माओवादीको २१ औं शताब्दीको जनबाद भन्द माथि उठेर नयाँ विचारको विकास गर्दै जानुपर्छ र अबको निर्दे्शिक सिद्धान्त जनताको जनबादमा आएर मोटामोटी सहमति भएको छ । तर यसको विपक्षमा इश्वर पोखरेलले जनताको बहुदलीय जनवाद भनेर आन्तरिक बहस चलाउन खोजेपछि पूर्वमाओवादी पक्षका चिढिएका कारण पनि इश्वर पोखरेललाई स्वीकार्ने पक्षमा माओवादी पक्ष देखिदैन ।
नारायणकाजी पूर्वमाओवादीको पक्षबाट यसअघि पटक–पटक दस्तावेज लेख्ने व्यक्ति हुन् । दुवै पक्षबाट आएका विचार संश्लेषण गरी राजनीतिक दस्तावेजलाई अन्तिम रूपमा पनि श्रेष्ठले नै दिइएको र अहिलेको राजनीतिक दस्तावेजका धेरै अंश आफूले तयार गरेको, वैचारिक लाइनको व्याख्या पनि आफैंले गर्न सक्ने दाबी गर्दै स्कुलिङ विभाग आफुले पाए बैचारिक रुपमा तितर–बितर भएका सबै कार्यकर्तालाई विचारको माध्यमबाट एकीकृत गर्न सक्ने श्रेष्ठको दाबी देखिन्छ ।
जनताको बहदलीय जनवादकै मर्ममा पार्टी अघि बढाउनको लागि स्कुल विभाग पूर्वएमाले पक्षले लिनुपर्ने केही एमाले भित्रको नेता कार्यकर्ताहरुको धारणा देखिन्छ । ‘रूपमा जे भने पनि पार्टीले जनताको बहुदलीय जनवाद स्विकारेको छ । आजको नयाँ अवस्थामा पार्टीलाई अघि बढाउन इश्वर पोखरेल स्कुलिङ विभागको नेतृत्व लिन खोज्नुभएको हो, ‘उहाँ दुई पटक पार्टी महासचिव भएको र पुष्पकमल दाहालभन्दा अघिदेखि भूमिगत भएर काम गरेको व्यक्ति हो’ भन्दै सुर्य थापा जस्तो जिम्मेवार नेताले खुलियाम नेतृत्व विरुद्ध बोल्दै हिड्नुले पनि माओवादीपक्षले यो विषय गम्भीर भएको देखिन्छ ।
यहाँ कुरो स्किलिङ विभागको भएपनि स्कुलिङ विभाग प्रमुखले अन्तिममा गएर ग्राउन्ड लेबलमा पार्टीको निति र सिद्धान्त भन्दा बाहिर गएर बहस चलाउदै गुटबन्दी गरेर नेतृत्वलाई समस्य पार्ने देखिन्छ त्योही कारणले पनि केपी शर्मा ओलीले इश्वर पोखरेलको विषयमा अडान लिएको देखिदैन । ईश्वरलाई कुनै न कुनै साइजमा राखौं भन्ने जस्तो भूमिकामा देखिन्छ । ओलीले यसमा दरिलो साथ नदिए इश्वर पोखरेलको अकांक्ष अकांक्षामै सीमित रहनेछ ।
र, माओवादी दावीको कुरा
माओवादीको दावी कमरेड ईश्वरलाई स्कुलिङ विभागको जिम्मेवारी दिनै हुँदैन भन्ने होइन । तर, माओवादीको तर्फबाट यो विभागमा दावेदारी नछाड्ने चाहिँ हो । अब एउटा कुरा गम्भिर भएर सोचौँ, माओवादीले सशक्त रुपमा स्कुलिङ विभागको जिम्मेवारीमा दावी गरेको छ या ईश्वर कमरेडलाई यो जिम्मेवारी दिनुहुँदैन भन्न खोजिएको छ ?
हामीले यति भन्न सक्छौँ, ईश्वर कमरेडले माओवादीले बोकेको विचार र त्यसका नेतृत्वको मात्रै खेदो किन खनिरहेका छन् ? पार्टी नेतृत्व खासगरी अध्यक्ष कमरेड प्रचण्ड र केपी शर्मा ओलीबीच भएको सहमतिलाई नै किन नमान्ने बताइरहेका छन् ? २१ औँ शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादका विशेषतालाई समेटेर जनताको जनवादलाई नेकपाको न्युनतम कार्यक्रमको रुपमा मानेर अगाडि बढ्ने सहमति ईश्वर कमरेडको निम्ति किन मान्य भएन ? नेकपाका आम कार्यकर्ताहरुले कमरेड ईश्वरसँग यो प्रश्नको जवाफ मागिरहेका छन् ।
मुल पार्टीको नेतृत्वकै रक्षा नगर्ने, नेतृत्व सहमत भएका विचारधारालाई पनि नमान्ने अवस्थामा स्कुलिङ विभागको जिम्मेवारी लिनु कतिको जायज होला ? आज ईश्वर कमरेड आफैँले गम्भिरतापूर्वक सोच्न जरुरी छ ।
तर, पनि हाम्रो शुभकामना छ, कमरेड ईश्वरले स्कुलिङ विभागको नेतृत्व पाओस्, । बस्, कुरा यति हो, स्कुलिङ विभागका प्रमुखले पार्टीको निर्देशक सिद्धान्त र नेतृत्वको अपमान गर्न पाइँदैन ।