| Saturday 17 October, 2020

११ वर्षपछि सहकर्मीको हत्या गरी फरार अभियुक्त पक्राउ

काठमाडौँ । आफ्नै सहकर्मीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइवी०ले जनाएको छ ।

ब्युरोको टोलीले ती दुई जनालाई बाँकेको नेपालगञ्जस्थित भातीय सीमा क्षेत्रबाट पक्राउ काठमाडौ लयाएको हो । उनीहरुलाई थप कारवाहीका लागि आजै वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

विसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईँटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरिएको थियो । त्यसपछि उनीहरु फरार भई भारतमा लुकिछिपी बस्दै आएका थिए ।

उनीहरु बीच सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ । उनीहरु घटनापछि ललितपुरबाट पैदलै हेटौँडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारत गएका थिए ।

भारतमा परिचयसमेत बदलेर काम गर्दै आएका थिए । पछि परिवारसमेत भारत लगेको खुल्न आएको छ । निरन्तरको निगरानी पश्चात नेपाल आएको पत्ता लागेपछि पक्राउ गरी काठमाडौँ ल्याइएको हो । – रासस

२ सय ६८ जना मानवअधिकार उल्लङ्घनकर्ताको नामावली सार्वजनिक

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित २ सय ६८ जना मानवअधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले विगत बीस वर्षमा गरेका सिफारिसको कार्यान्वयन अवस्थाको प्रतिवेदनबाट उक्त सङ्ख्याका उलङ्घनर्ताको सूची सार्वजनिक गरेका हुन् । हालसम्मका एक हजार १९५ सिफारिस र कार्यान्वयनको अवस्थाको मूल्याङ्कनका आधारमा ती नाम तय गरिएको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए ।

प्रतिवेदनले नेपाल सरकारका सचिवसहित निजामती सेवाका कर्मचारी १६, नेपाल प्रहरीका ९८, नेपाली सेनाका ८५, सशस्त्र प्रहरी बलका आठ, तत्कालीन नेकपा (माओवादी) का ६५, शिक्षक चार, चिकित्सक दुईसहित सुराकी, प्रतिकार समूह, सेवागृह सञ्चालक एवम् कैदी समेत थप सात र एकजना मानवअधिकारकर्मीलालाई उलङ्कर्तामा समावेश गरेको छ ।

प्रवक्ता भट्टराईका अनुसार तीमध्ये हालसम्म ३० जनालाई मात्र कानूनी कारबाही भएको र बाँकी २५६ जना माथि कुनै कारबाही नभएको प्रतिवेदनले देखाएको छ । सिफारिस गरिएका उजुरीमध्ये सबैभन्दा बढी हत्याका घटनासँग सम्बन्धित र सबैभन्दा कम शरणार्थीको अधिकारसँग सम्बन्धित छन् ।

प्रतिवेदमा आयोगबाट भएका ३४ प्रकृतिका विभिन्न सिफारिसमा ११ वटा निकायको नाम किटान गरी तिनलाई मानव अधिकार उल्लङ्घनकर्ताक रुपमा पहिचान गरिएको छ । आयोगका सिफारिस मध्ये १६३ वटा पूर्ण कार्यान्वयन भएका छन् भने ४४५ वटा सिफारिस आंशिक रुपमा कार्यान्वयन भएका छन् । यस्तै ५८७ वटा सिफारिस अझै कार्यान्वयन हुन सकेका छैनन् ।

पीडितको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको विषयलाई अधिकांशतः मौद्रिक क्षतिपूर्तिबाट मात्र टुङ्ग्याउने प्रवृत्तिले एकातिर पीडितको पूर्ण न्यायप्राप्तिको अधिकार संकुचन भएको र अर्कातर्फ दण्डहीनताको स्थितिले बढावा पाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले आयोगका वार्षिक प्रतिवेदनमाथि सङ्घीय संसद र प्रदेश सभामा छलफल हुन, राजनीतिक दलका घोषणापत्रमा उल्लेख भएका मानव अधिकारप्रतिको प्रतिबद्धता कार्यान्वयन हुन, दण्डहीनताको स्थिति अन्त्य गरी मानवअधिकारको सम्मान, संरक्षण तथा परिपूर्ति गराउन सरकारलाई आवश्यक निर्देशन दिन विषयगत संसदीय समितिलाई आग्रह गरेको छ ।

सञ्चार सेट (वाकीटकी) बोकेर व्यवसायीलाई छक्याउँदै हिँड्ने नक्कली प्रहरी पक्राउ

काठमाडौँ । एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए, तर कसैले पत्तो पाउन सकेनन् । उसले प्रहरीले बोक्ने जस्तै सञ्चार सेट (वाकीटकी) र सुरक्षा निकायको पोशाकसमेत प्रयोग गर्दै काठमाडौँ उपत्यकामा व्यवसायीलाई प्रभाव पार्दै कतिपयबाट रकम समेत लिएको जनाइएको छ ।

अन्तत दुई वर्ष पछि आज महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेपछि रहस्य खुलेको हो । उनी नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै हिँड्ने व्यक्ति भएको महाशाखाले जनाएको छ ।

आफू सुरक्षाकर्मी भएको बताउँदै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिने गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उक्त सूचना प्राप्त भएपछि महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले आज विहान रामेछाप खाडोदेवि घर भई काठमाडौँको बानियाटार बस्ने गोविन्द खड्कालाई पक्राउ गरेको थापाले बताउनुभयो । उनले प्रहरीको ‘नेम प्लेट’ तथा लुगा समेत प्रयोग गर्दै आएका थिए ।

उनको साथबाट सञ्चार सेट, गोविन्द खड्का लेखिएको ‘नेम प्लेट’, विभिन्न सुरक्षा निकायको पोशाक, सुरक्षाकर्मीले लगाउने वुट जुत्तालगायत बरामद गरिएको छ । बरामद सञ्चार सेटले अन्य सुरक्षा निकायका सञ्चार सेटका फ्रिक्वेन्सी टिप्ने गरेको पाइएको छ । उनले सेनाको पोशाकको समेत दुरुपयोग गरेको पाइएको छ ।

बरामद भएको सञ्चार सेट विदेशी पर्यटक सगरमाथा आरोहणको समयमा आउने क्रममा नेपालीलाई राख्न दिएको र त्यही सेट दुरुपयोग गर्दै आएको प्रहरीले जनाएको छ । महाशाखाले कोही कसैलाई विभिन्न प्रभावमा पारी ठगी गरेको भएमा सम्पर्कमा आउन अनुरोध गरेको छ । उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाईएको छ ।

दशैँको सङ्घारमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

काठमाडौं । दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ । काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् ।

सामान्य अवस्थामा दशैँ आउने दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो । अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुको चाप छैन । नजिकिएको दशैँ लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।

हवाई सेवा प्रदायक कम्पनीले भाडादर सस्तो हुँदा पनि यस पटक बुकिङ उत्साहबद्र्धक नभएको बताउछन् । आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीको बुकिङ अहिले उत्साहजनक छैन । भएका बुकिङ पनि काठमाडौँबाट बाहिर जाने एकतर्फी मात्रै सामान्य छन् ।

बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले नजिकिएको दशैँका लागि हवाई टिकट बुकिङ उत्साहजनक नरहेको बताए । उनका अनुसार काठमाडौँबाट एकतर्फी बुकिङ सामान्य छ । फर्कदा आधाभन्दा पनि कम यात्रु हुन्छन् । यसपटक दशैँको एक÷दुई दिन अघि पनि यात्रुले सहजै टिकट पाउने निर्देशक जोशीले बताए । बुद्धले अहिले दैनिक दुवैतर्फी गरी ६४ उडान गर्दै आएको छ ।

सामान्य अवस्थामा दशैँका बेला विशेष गरी फूलपातीदेखि विजयदशीसम्मको १५ दिन अघि नै टिकट बुकिङ भइसक्थ्यो । यो पटक सस्तो भाडादर कायम गर्दा पनि यात्रुको आकर्षण बढेको छैन । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले सधैँको बुकिङ पहिलाको जस्तो उत्साहबद्र्धक नभएको बताए । कोभिड महामारीका कारण यात्रुमा एकखालको त्रास रहेकाले हवाई भाडादर सस्तो हुँदा पनि बुकिङ राम्रो छैन ।

प्रवक्ता बर्तौलाका अनुसार तुम्लिङटारबाहेकका गन्तव्यममा सधैँका लागि सहजै टिकट पाइनेछ । यो गन्तव्यमा बुद्ध र यतीका सानो ३० सिट क्षमताका जहाजले उडान भर्ने हुँदा हरेक वर्ष अत्यधिक चाप हुने गरेको छ । यतीले दैनिक दुईतर्फी ३८ उडान गर्दै आएको छ । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि कोभिड महामारीले अस्तव्यस्त पारेका कारण दशैँका लागि बुकिङ सन्तोषजनक नभएको बताउँछन् ।

अहिले दशैँका लागि टिकट सहज र सस्तो भएको र एकतर्फी कुपेन्सी राम्रै रहेको उनले बताए । श्रीले पोखरा, सिमरा, जनकपुर, राजविराजबाहेक अन्य सबै गन्तव्यमा उडान गरिरहेको छ । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले यसपटकको दशैँका लागि हवाई उडानमा उत्साहजनक नभएको बताए । उनका अनुसार अहिले उडिरहेकै जहाजमा पनि फूल अकुपेन्सी छैन । सधैँको तीन–चार दिन दुई–चार उडान थपिने प्रवक्ता शर्माले बताए । भद्रपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा दशैँका लागि केही उडान थपिनसक्ने उनको भनाई छ ।

विगतका दशैँ, तिहार, छठलगायत चाडपर्वका बेला हवाई जहाजको टिकट पाउनै यात्रुलाई हम्मे पर्दथ्यो । कोभिड–१९ महामारीका कारण छ महिनापछि मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालनमा छ । राजधानी काठमाडौँलगायत कतिपय जिल्लामा महामारी उच्च बिन्दुमा पुगेको छ । महामारीबाट जोखिन यस पटकको दशैँमा विगतकोजस्तो चहलपहल हुनेछैन । सोही कारण पनि हवाई क्षेत्रमा उत्साह छैन । सरकारले पनि दशैँ जहाँ जस्तो अवस्थामा रहेको त्यही मनाउन भीडभाड नगर्न आग्रह गरिरहेको छ । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

 

२७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर फर्किए

तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ ।

अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको रु ३०० का दरले कैद भुक्तानबापतको रकम तिरेर छुट पाउने व्यवस्था रहेकाले उनीहरुको कैद मिनाहा भएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

गत चैत ११ गतेदेखि असोज २६ गते आइतबारसम्ममा २७ जनाको कैद मिनाहा भएको हो । उनले भने, “कानूनी व्यवसायीको सहायतामा अदालतमा निवेदन दिएपछि प्राथमिकताको आधारमा जोखिममा रहेकालाई छुट दिने कानूनी व्यवस्था रहेको छ ।”

कोभिड–१९ का कारण नेपाल सरकारले सुरक्षित हुन आह्वान गरेको बन्दाबन्दीदेखि हालसम्म ती कैदीबन्दीले छुट पाएका हुन् । कैद मिनाहामा वृद्धा, अशक्त, रोगीले प्राथमिकता पाउने नियम रहेको कारागारले जनाएको छ । यसरी छुट पाउनेमा अधिकांश सवारी ज्यान मुद्दाका रहेका छन् भने केही काठ मुद्दा, चोरी मुद्दा र लागुऔषध र ठगी मुद्दाका रहेका छन् ।

पच्चीस क्षमताको उक्त कारागारमा सोमबार आजसम्म कैदी १४९ र थुनुवा ६५ गरी जना कूल २१४ जना कैदीबन्दी रहेका छन् । धेरै कैदीबन्दी भएकाले ८० जनाक्षमता रहेको महिला बन्दीगृहमा पुरुष राखिएको र महिलालाई पोखरा पठाउने गरिएको कारागारले जनाएको छ ।

 

मुख्य नाका बन्द हुँदा पनि भारततर्फ बाक्लो आवतजावत

सर्लाही । जिल्लाको सीमावर्ती क्षेत्रका नागरिक भारतीय बजारसम्म बाक्लो मात्रामा आवतजावत गरिरहेका छन् ।

मुख्य सीमानाका बन्द रहे पनि सहायक बाटो र खेतबारीबाट मानिसको ओहोरदोहोर बाक्लिएको छ । स्थानीयस्तरमा बजार नरहेको, भारतीय बजारमा दैनिक उपभोग्य सामान सस्तोमा पाउने र चाडपर्व नजिकिँदै गएका कारण पनि सीमावर्ती क्षेत्रका बासिन्दा सीमापारि भारतीय बजारमा निस्फिक्री जाने गरेका छन् ।

जिल्लाको सीमावर्ती क्षेत्रका अधिकांश स्थानीय तहमा ठूलाखाले बजार नभएका कारण पनि किनमेल गर्न सो क्षेत्रका स्थानीयवासी सीमापारि जान बाध्य भएका हुन् ।

मुख्य नाका बन्द रहेका कारण खेतबारी र खोलाको बाटो भएर दैनिक सयौँ मानिस किनमेलका लागि भारतीय बजार पुग्ने गरेको बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंहले बताए ।

सीमावर्र्ती गाउँका बासिन्दालाई नुन, तेल किन्नदेखि औषधोपचार गर्न भारतीय बजार नै नजिक पर्छ । अन्त सबैतिर ओहोरदोहोर भइरहँदा मुख्य नाकामात्रै बन्द गरिँदा बिरामी परेर झट्ट सीमापारि जानुपर्नेहरु अप्ठयारोमा परिरहेको उनको भनाइ छ ।

जिल्लाको सीमावर्ती दक्षिणी भेगमा पर्ने गोडैता, विष्णु, रामनगर, कौडेना, मलङ्गवा, ब्रम्ह्मपुरी, पर्सा, हरिपूर्वालगायत स्थानीय तहका दैनिक सयौँको सङ्ख्यामा स्थानीयवासी किनमेलका लागि भारतीय बजार पुग्ने गरेको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वर्षौँदेखिको रीति रोकेर वारिपारि हुने आवागमन ठप्प नै पार्न नसकिने बताए । व्यवहारिक समस्या हेरेर काजकीरिया, औषधोपचारजस्ता कार्यका लागि आवतजावत गर्न दिएको भए पनि सरकारले निर्णय नगरेसम्म मुख्य सीमानाका नै खुला गर्न नसकिने प्रजिअ पौडेलले बताए । प्रजिअ पौडेलका अनुसार भारतबाट मुख्य नाका हुँदै विभिन्न मालसामान भने दैनिकरूपमा आयात भइरहेको छ ।

घरका सदस्यमात्र सहभागी भएर चाडवाड मनाउन आग्रह

काठमाण्डौ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १९औँ बैठकले दिनानुदिन कोरोना भाइरसको सङक्रमण वृद्धि हुने दर निरन्तर बढिरहेको अवस्थामा एक ठाउँमा भेला हुँदा सङ्क्रमण फैलिने त्रास बढेकाले सामूहिकरूपमा भीडभाड नगरी आ–आफ्नो घरका सदस्यमात्र सहभागी भएर चाडवाड मनाउन आग्रह गरेको हो ।

कोरोना सङक्रमणबाट बच्न र बचाउन आसन्न दशैँ, तिहारलगायतमा एक ठाउँमा भेला नहुन र चहलपहल नगर्न आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए ।

बैठकले नेपाल सरकारको कोभिड–१९ सम्बन्धी नियमको पालना गर्दै विभिन्न खेलकूद, धार्मिक मेला, भीडभाडका बीचमा गरिने कार्यक्रम, भेलाजस्ता ‘मास मुभमेन्ट’ मा सञ्चालन हुने गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रत्येक वडामा वडाध्यक्ष वा वडासदस्यको नेतृत्वमा निगरानी टोली बनाएर स्थानीयवासीलाई कोभिड–१९ को सङ्क्रमणबाट बच्ने उपायका बारेमा सचेत गराउने तथा बाहिरबाट आएकालाई क्वारेन्टिन, आइसोलेसन वा स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था मिलाउन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सिर्जनात्मक तरिकाले सचेतनामूलक अभियान सञ्चालन गर्न हरेक स्थानीय तहलाई अनुरोध गरिएको प्रमुख चाम्लिङले बताए ।

यस्तै आइसोलेसन सेन्टर निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधिअनुसार आइसोलेसन सेन्टर निर्माणका लागि स्थानीय सरकारलाई अनुरोध गर्ने, जिल्ला बाहिरबाट आउने जोसुकै व्यक्तिलाई अनिवार्य पिसीआर परीक्षण गरेर मात्र आउन अनुरोध गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

‘राष्ट्रिय सामाजिक जागरण’ अभियान संचालन गर्ने मन्त्री गुरुङको घोषणा

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै संचालन गर्ने घोषणा गर्नु भएको छ ।

मन्त्री गुरुङले पाँच वर्षीया बालिका समेत बलात्कार हुने गरेको घटनाले लज्जाबोध गराएको उल्लेख गर्दै त्यस्ता जघन्य अपराधिक घटना हुनै नदिन राष्ट्रिय सामाजिक जागरण अभियान संचालन गर्ने सोच अघि सारिएको पनि स्पष्ट पार्नु भयो । बिहीबार ‘कोभिड–१९ निर्देशक समिति’ को भर्चुअल बैठकमा बोल्दै उहाँले सामाजिक अपराधका घटनाको न्याय सम्पादनमा ढिलाई हुन नदिन, अनुसन्धानमा प्रहरीको कामलाई प्रभावकारी बनाउने विषयमा पनि अन्तर मन्त्रालयबीच सघन छलफल भईरहेको बताउनु भयो ।

त्यस्ता अपराधिक घटना हुन नदिन स्थानीय जनप्रतिनिधिहरु र नागरिक समाजका अगुवाहरुलाई पनि परिचालन गरेर अघि बढने मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले सो अभियानका लागि कार्ययोजना बनाउने काम तत्काल सुरु गर्ने उल्लेख गर्दै आवश्यक सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाजका अगुवाहरु तथा सामाजिक संघ, संस्थालाई आग्रह गर्नु भयो । मन्त्री गुरुङले कोभिडको महामारीपछि देशमा झनै हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको स्विकार गर्दै त्यसलाई नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय सरकार एकीकृत कार्ययोजनाका साथ अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । ‘कोभिड–१९ सँगै सामाजिक अपराधका घटनाहरु बढेर गएको पाइएको छ,’ मन्त्री गुरुङले भन्नु भयो,‘त्यस्ता अपराधिक घटना हुन नदिन तीन वटै तहका सरकारले एकीकृत कार्ययोजना बनाई तत्काल लागू गर्नेछ ।’

सो भर्चुअल बैठकमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले हरेक स्थानीय तहमा ‘लैगिक हिंसा निवारण कोष’ स्थापना गर्न ढिलाई गर्न नहुनेमा जोड दिनु भएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै मुलुकभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोनाभाइरस संक्रमणलाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछील्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छ ।

काठमाडौं १११६, भक्तपुर १३० ललितपुर १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएको हो ।

नेपालमा पछील्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । सँगै नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

सर्लाहीमा डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध

सर्लाही । जिल्लामा डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जिल्लाभित्र हुने धार्मिक, सामाजिक, राजनीतिकलगायतका कार्यक्रममा प्रयोग गरिने डिजे साउण्ड सिस्टमले चर्को ध्वनि प्रबाह हुनाका साथै ध्वनि प्रदूषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षामा असर र सामाजिक सद्वाभावमा समेत असर पारेको भन्दै जिल्ला प्रहरी कार्यालयले आफ्नो क्षेत्रभित्र सो सिस्टम प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

जिल्ला सुरक्षा समिति, जिल्लास्तरीय सर्वदलीय र सर्वपक्षीय बैठक तथा स्थानीय तहका प्रमुखहरुको संयुक्त बैठकले जिल्लाभित्र डिजे साउण्ड प्रयोगमा प्रतिबन्ध लगाउन सिफारिस गरेको प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

यस्ता साउण्ड सिस्टमले दुर्घटनासमेत बढाउने भएकाले जिल्लाका कुनै पनि स्थानमा यस्तो स्पिकर राख्न नदिन स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ठूलो स्वारमा डिजे साउण्ड सिस्टम बजाउने र अस्लील खालमा गीत संगीत बजाउने गर्दा समाजमा विकृति फैलदै गएकाले बाध्य भएर यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताए । उक्त आदेशको बर्खिलाप गरेको पाइएमा सो सिस्टम जफत गर्नाका साथै प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।