मदन भण्डारी विश्वविद्यालय निर्माण प्रक्रियाको बाटो खुल्यो
काभ्रेपलाञ्चोक । मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६ पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि बाटो खुलेको छ । विसं २०७६ साउनमा दर्ता ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ दुई वर्षपछि सोमबार सङ्घीय संसद्बाट परिमार्जनसहित सर्वसम्मतिले पारित भएको हो । विश्वविद्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माणका लागि यसअघि जग्गा अधिग्रहणको प्रक्रिया भइसकेको छ । सोमबारको प्रतिनिधिसभा बैठकले प्राविधिक विषय मात्रै अध्यापन गराउन पाउनेगरी विधेयक पारित गरेको हो । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरियोस् भनी पेस गरेका थिए। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेका थिए । विधेयक पारित भएसँगै विश्वविद्यालयको नाम ‘मदन भण्डारी यूनिभर्सिटी’ रहने जनाइएको छ । विश्वविद्यालय निर्माणका लागि आवश्यक जमिनमध्ये पाँचखाल नगरपालिकासहित नमोबुद्ध नगरको केही वडा समेटिएको छ । थप पढ्नुहोस् ...