काभ्रेमा मोतीबिन्दुको नि : शुल्क उपचार
काभ्रे । पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ ।निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा आवश्यकतानुसार वडामा मासिक आँखा उपचार शिविर सञ्चालन गर्ने, स्थानीयको उपचार निःशुल्क गर्ने तथा नगरभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिइने उल्लेख छ । नगरप्रमुख भण्डारीले सम्झौताले स्थानीयको सो रोगको गुणस्तरीय उपचार पाउनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब नगरवासीले सो रोगको निःशुल्क सहज परीक्षण र उपचार पाउनुहुनेछ ।”अस्पतालको सहयोगमा गत वर्ष पनौतीका ९० जनाको सो रोगको निःशुल्क शल्यक्रिया गरिएको थियो । नगरसँगको सम्झौताले सो रोग न्यूनीकरण अभियानमा थप हौसला मिलेको अस्पतालले जनाएको छ । थप पढ्नुहोस् ...