फरार दुई अभियुक्त पक्राउ
सप्तरी । चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन् । सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चोरी मुद्दामा अदालतबाट २०७८ चैत १४ गते उनलाई पाँच महिना कैद र रु पाँच हजार जरिवाना ठहर भएको थियो । आरोपितले २०७७ कात्तिक १९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी बस्ने ३१ वर्षीय झौली कामैतको घरबाट खसी चोरेका थिए । यसैगरी सवारी ज्यान मुद्दामा फरार रहेका सप्तरीको सुरुङगा नगरपालिका–२ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई समेत प्रहरीले पक्राउ गरेको छ । अदालतले विसं २०७५ चैत ३ गते दाहाललाई एक महिना १५ दिन कैद ठहर गरेको थियो । थप पढ्नुहोस् ...


