जंगली हात्तीको आतंकले चुरे काछवासी त्रसित
महोत्तरी । चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढेको छ । गत आइतबारदेखि बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसँग सीमा जोडिने चुरे पहाड हुँदै फेदी झरेका जङ्गली हात्तीले महोत्तरीको बर्दिबास, गौशाला र धनुषाको मिथिला नगरपालिका क्षेत्रमा गरी १४ घर भत्काएका छन् । तीनवटा जङ्गली हात्तीको समूह चुरे काछ हुँदै गत आइतबार फाँटमा झरेर बस्ती पसेका हुन् । आइतबार राति धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा सात घर भत्काएको हात्तीको समूहले सोमबार राति महोत्तरीको बर्दिबास–८ हात्तीलेटको फालाइन नजिक बस्तीका जीतबहादुर योञ्जन, जयकिशुन महतो, बुद्धिमन स्याङ्दान र सोमबहादुर तामाङको घर भत्काएको हो । महोत्तरीको बर्दिबास र धनुषाको मिथिला चुरे काखका एकअर्कासँग सीमा जोडिएका नगर हुन् । त्यसैगरी बुधबारमात्र हात्तीको समूहले गौशाला–१२ को फालाइन नजिकको बस्तीमा दुईकोठे घर भत्काएको छ । थप पढ्नुहोस् ...

