काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको युद्ध आफूहरूले नै जित्नुपर्ने दाबी गरेका छन् । मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सम्बोधनको क्रममा उनले भने, ‘अहिलेको युद्ध हामीले जित्नुपर्छ । लडाइँ त विभिन्न ढंगले चलिरहेको छ । अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, सही फैसला गर्छ भन्नेमा विश्वास छ ।’
ओलीले पार्टी, संविधान र लोकतन्त्रलाई विघटन र विसर्जनतिर लान खोजेको भन्दै उनले भने, ‘धेरै दुस्ख र मेहनतले पार्टी एकता गरिएको हो । एकताको झन्डा हामी उठाएका छौं । केपीजीले पार्टी, संविधान र लोकतन्त्रलाई विघटन र विसर्जनतिर लैजानुभएको छ । पार्टीलाई फुटतिर लैजानुभएको छ ।’
संसद विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिए । ‘अहिलेको युद्ध हामीले जित्नु छ,’ प्रचण्डले भने ।
पार्टी धेरै दुःखले एकताबद्ध गरिएको उल्लेख गर्दै प्रचण्डले त्यसलाई विभाजन गर्ने षडयन्त्र भइरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटको बाटो रोजेको आरोप प्रचण्डले लगाए ।
उनले भने, ‘माओले युद्ध र राजनीतिलाई राम्रोसँग परिभाषित गर्नु भएको छ । रक्तपातपूर्ण राजनीतिक युद्ध र रक्तपातबिहीन युद्ध राजनीति हो । हामी अहिले रक्तपात बिहीन युद्ध अर्थात नयाँ प्रकारको शान्तिपूर्ण युद्धमा छौँ। ’
केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर वर्षौँको आन्दोलनबाट प्राप्त उपलब्धी अपहरण गर्ने प्रयासमा लागेकाले त्यस विरुद्ध देशव्यापी शान्तिपूर्ण आन्दोलन रुपी युद्धमा रहेको प्रचण्डले बताएका हुन् ।