काठमाडौं । कोरोना महामारीपछि नेपाल आउन नपाएकाहरुको उद्दारका नाममा भएको रकम हिनामिना भएकोबारे यतिबेला यत्रतत्र खोजी भइरहेको छ । विशेषगरी यूएईका नेपालीहरुको उद्दारका लागि भएको खर्चमाआर्थिक हिनामिना देखिएपछि त्यसबारे प्रश्न उठेको थियो ।
सो आर्थिक हिनामिनाको बारेमा स्पष्ट जवाफ एनआरएनए, यूएईका अध्यक्ष प्रकाश कोइरालाले नदिएपछि अहिले निलम्बनमा परेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलो) को ले समस्यामा परेका नेपालीहरुको उद्दारका लागि उपलब्ध गराएको रकमबारे हिनामिना भएको हो । हिनामिनाको समाचार उज्यालो नेटवर्कसहितका विभिन्न संचारमाध्यममा प्रकाशित भएपछि छानविन समिति नै गठन भएको छ ।
उज्यालो नेटवर्कलाई अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) ले जानकारी गराएको जानकारी अनुसार यूएईका लागि नेपाली रुपैंया ५१ लाख ११ हजार ४८४ रुपैंया ३२ पैसा उपलब्ध गराइएको थियो । तर, अन्तर्राष्ट्रिय श्रम संगठनले भने यूएईका लागि ८० हजार डर (झण्डै ९० लाख रुपैंया) सम्झौता गरिएको थियो । सो रकम कहाँ र कसरी खर्च भयो भन्ने विषयको पारदर्शी हिसाब नभएपछि विवाद उत्कर्षमा पुगेको थियो ।
सामाजिक सञ्जालमा तिव्र आलोचना भएपछि अहिले आइसीसी र एनआरएनए यूएईले छानविन समिति नै गठन गरेको छ । विशेषगरी हामीले यूएईका लागि उपलब्ध गराएको रकम कुन कुन शिर्षकमा खर्च भयो भनेर आएसीसीलाई सोधेका थियौं । यस हिनामिनाबारे छानविन समितिमा छलफल भइरहेको भन्दै अहिले बाँकी डाटा उपलब्ध गराउन नसकिने आईसीसीले बताएको छ ।
स्रोतका अनुसार आइसीसीका केही पदाधिकारीको समेत मिलेमत्तोमा रकम हिनामिना भएको हो । आइसीसीले खर्च भएको रकम विवरण र सम्झौता रकम मेल नखानु, खर्चको शिर्षक नछुटिनु लगायतका कारणबाट पनि आईसीसी पदाधिकारीको संलग्नता रहेको हुनसक्ने आशंका विशवस्त स्रोतको रहेको छ ।
रोचक कुरा त के छ भने, विश्वका विभिन्न मुलुकहरुमा नेपालीहरुको संरक्षणका लागि भनेर एनआरएनएले सबै मुलुकमा आ–आफ्नो संगठन विस्तार गरेको छ । तर, आएसीसीबाट प्राप्त रकमबारे भने एनसीसी एनआरएनए यूएईका पदाधिकारीले नै कुनै सुईंको नै पाएनन् । कतिसम्म भने, आइसीसीले उपलब्ध गराएको उक्त रकम अध्यक्ष र उपाध्यक्षको नाममा खोलिएको संयुक्त खातामा पुग्यो ।
अध्यक्ष कोइरालाले उक्त रकम हिनामिना गर्नकै लागि यसबारे संगठनका महासचिव, प्रवक्ता र उपाध्यक्षलाई थाहा नै दिएनन् । सामाजिक सञ्जालमा विभिन्न प्रश्नहरु उठेपछि उनीहरु सार्वजनिक रुपमा आफूहरु अनविज्ञ रहेको भन्दै प्रष्टिकरण दिएका थिए ।
संस्थालाई नै थाहा नदिई एनसीसीले उक्त रकम कुनै व्यक्तिको नाममा पठाउनुले आइसीसीको मिलेमत्तो रहेको आशंका बढ्दै गएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचारहरु: