भैरहवा । कोभिड–१९ का कारण बन्द भएको नेपाल भारत सीमा नाका बेलहिया ११ महिना बितिसक्दासम्म पनि सहज रुपमा खुल्न सकेको छैन् । सरकारले बेलहियासहितका भारतसंग सीमा जोडिएका नाकाहरु खोलिएको बताए पनि सहज रुपमा नाका सुचारु नहुँदा पर्यटन व्यवसाय प्रभावित भएको छ ।
लामो समयसम्म पर्यटकीय नाका सञ्चालनमा नआएपछि पर्यटन क्षेत्र धरासायी अवस्थामा पुगेको व्यवसायीहरुको भनाइ छ । पर्यटन व्यवसायीहरुले कोरोना भाइरस संक्रमणको जोखिम कम भएको र भारत लगायत विभिन्न देशमा अन्तर्राष्ट्रिय हवाई उडान समेत सुरु भइसकेको अवस्थामा स्थलमार्ग हँुदै सबैभन्दा बढी पर्यटक आवागमन अझै पनि बन्द रहेको आवतजावत सुचारु गर्न माग गरेका छन् ।
जिल्लामा क्रियाशिल पर्यटन तथा व्यवसायिक संघ–सस्थाले नाका सञ्चालनको माग गर्दै सीमा नाका बेलहियामा आधा घण्टा चक्काजाम र मैनबत्ती जुलुस निकालेका छन् ।
सिद्धार्थ होटल एशोसियसन नेपाल (सान), सोसाइटी अफ ट्राभल्स एण्ड टुर्स, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, होटल व्यवसायी, यातायात व्यवसायी लगायत नेपाल भारतका सरोकारवाला निकायले मैनबत्ती जुलुस निकालेका हुन् ।