२४ पुष २०७७, शुक्रबार

प्रधानमन्त्री ज्यू, मन जित्न कि मत माग्न सुदूरपश्चिम जानुभाको ?

पदम राज भट्ट पदम राज भट्ट २४ पुष २०७७, शुक्रबार

प्रधानमन्त्री ज्यू नमस्कार !
हुन त तपाईंलाई यतिबेला मैले लेखेको यो पत्र पढ्ने समय छैन । मैले पनि यो चिठ्ठि तपाईंलाई लेख्न भ्याएको थिईंन र चाहेको पनि थिइँन् । किनकी म आफैं तपाईंहरुले ल्याउछौं भनेको समाजवादभित्रै रुमल्लिरहेको छु । तर, आज मैले केही समय भविष्यको पौंठेजोरी खेलेको प्रदेशमा गएर करिब १ घन्टा लामो सम्बोधन गर्नुभयो । मेरो जन्म डडेल्धुरा भएपनि करियरको सिलसिलामा केही समय धनगढीमा बिताएको छु । झण्डै ५० हजार मान्छेको भीडलाई तातो घाम तपाउँदै तपाईंले दिएका आश्वासनले केहीको मन प्रफुल्लित त बनायो होला । तर, मलाई तपाईंको सम्बोधन सुनिसकेपछि सुदूरपश्चिम प्रदेशसँग जोडिएका केही दृश्य पेश गर्न मन लागेको छ ।

प्रधानमन्त्री ज्यू, दुई वर्ष भन्दा अघिमात्र काँध मिलाएर हिँडेका दोस्तिको कुरा काट्न उखान र टुक्काको साहरामा समय खर्चनुभएको देखेर भन्दैछु, यसलाई केहीबेर समय निकालेर पढिदिनुस् ।

बिलम्ब नगरी म मेरा विषयतर्फ नै जाने अनुमति चाहन्छु ।

दृश्य १
संसद विघटन भएपछि यति ठूलो भीडमा पहिलोपटक देखा पर्नुभएको तपाईंले विकास निर्माणका कामको फेहरिस्त दिनुसम्म दिनुभयो । तपाईंको ध्यान ठूलो भीडमै प¥यो । कहिँ कतै याद गर्नुभयो कि भएन, त्यहाँ केही युवकहरु ‘निर्मला पन्तको बलात्कारी खै ?’ भनेर लेखिएको सेतो टि–सर्ट लगाएर उपस्थित भएका थिए ।

खैर ! ठूलो भीडमा तपाईंले उसलाई देख्नुभएन ? तर, तपाईंकै सुरक्षार्थ खटिएको सुरक्षा प्रशासनले भने ती युवालाई खोज्यो र भेट्यो पनि । त्यति मात्रै होइन्, तपाईं सम्बोधन गर्न सभामा पुगिरहँदा उनीहरुलाई भ्यान चढाएर हुईंकियो । देशदेखि विदेशसम्म, नागरिक अगुवादेखि पत्रकारसम्मले प्रश्न उठाएको निर्मलाको बलात्कारीको अहिलेसम्म तपाईं र तपाईको सरकारले न्याय दिन सकेको छैन् । करिब १ घन्टासम्म चलेको तपाईंको उखाने भाषणमा ‘निर्मला हत्याकाण्ड’ र त्यससँग जोडिएको एक वाक्य पनि उठाउनुभएन् । ती सेतो टि सर्टमा निर्मलाको बलात्कारी खोजेर उपस्थित भएका युवाले कुन अपराध गरेका थिए र प्रहरीले भ्यानमा राखेर चौकि पु¥याएको ? तपाईंले भनिरहेको लोकतन्त्रमा प्रश्न गर्नु अपराध हो ?

दृश्य २
अँ, अर्को कुरा प्रधानमन्त्री ज्यू !
तपाईं आमसभालाई सम्बोधन गर्न जाँदैगर्दा विघटित प्रतिनिधिसभाका एक सांसदले यहाँको हातमा एउटा कागजको टुक्रा थमाउनु भयो । त्यसमा के थियो के थिएन म त्यतातिर जान चाहन्न । तर, तपाईंले सम्बोधनको क्रममा बेला–बेला घोत्लिएर तल–तल हेर्दा त्यही कागजको टुक्रा हेरिरहेको जस्तो भान थियो । वर्षौंदेखि पिछडिएको र उत्पीडिनमा पर्दै आएका सुदूरवासीहरु तपाईंको लामो भाषण सुन्दैगर्दा पेट मिचि मिचि हाँसिरहेका थिए । सम्बोधनको क्रममा यहाँले भन्नुभयो, ‘अब सुदूरपश्चिमलाई पछाडि पार्ने कुनै तागत छैन !’ अनि सम्बोधनकै क्रममा थप्नुभयो, ‘सुदूरपश्चिमका परिश्रमी जनताले भारतका खेतलाई हरियाली बनाएका छन् ।’

झण्डै दुई तिहाई नजिकको सरकारको कार्यकारी प्रमुख हुनुभएको यहाँलाई सुदूरका आधाभन्दा बढी जनता भारतमा रोजगारीका लागि गएको पनि थाहा रहेछ । तपाईंलाई कुन कुराले रोक्यो सुदूरपश्चिम हरियाली बनाउन ? के तपाईंको देशमा रोजगारी पाएरै उनीहरु भारतको खेत हरियाली बनाउन गएका हुन ?

दृश्य ३
प्रधानमन्त्रीज्यू, दिक्क नमान्नुस् ल !
विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना महामारीको भय सकिएको छैन् । समाचारका अनुसार यही रोग प्रकोप बढेसँग जापानको टोकियोमा आजदेखि नै एक महिनाका लागि संकटकाल घोषणा गरिएको छ । खैर ! जनसागर भेला गरेर कस्को मान्छे कति भन्ने प्रतिस्पर्धामा लाग्नुभएका यहाँहरुलाई यो विषयले त के छोला र ?
तर, महामारीकै बीचमा यहाँले दिनुभएको एउटा अभिव्यत्ति चैं मैले र सुदूरवासीहरुले बिर्सिएका छैनन् । यति तिक्ष्ण दिमाग भएका यहाँले पनि सो विषय विर्सनुभएको छैन होला । महामारीकै बीचमा तपाईंले सुदूरपश्चिमका मान्छेहरुको उत्ताउलो प्रवृत्तिले कोरोना संक्रमण बढेको अभिव्यक्ति एक संचारमाध्यम मार्फत भन्नुभएको थियो । अनि भन्नुभएको थियो,‘दुईरचारजना मान्छेहरूको उत्ताउलोपनसँग सम्झौता गरेर सिंगो देशमा कोरोना फैलाउन सकिँदैन । त्यो प्रवृति अलिक बढ्ता सुदूरपश्चिममा देखिएको छ ।’

एकपटक नढाटि भन्नुस् त प्रधानमन्त्री ज्यू, के खाउँ र कसो गरौं भन्दै भारतबाट अताल्लिएर आफ्नो मुलुक छिरेका नेपालीलाई दिएको त्यो अभिव्यक्ति धनगढीमा सम्बोधन गरिरहँदा यहाँलाई याद आएन ?

तिमात्र होइन प्रधानमन्त्री ज्यू, धेरै सुदूरका युवाहरु आफ्नो देश छिर्न नपाएर महाकाली नदिमा हाम फालेर आए । त्यतिबेला तपाईंलाई त बालुवाटार भित्र पूर्ण सुरक्षाको व्यवस्था थियो होला । तपाईंका आसेपासेहरु ओम्नी र त्यस्तै त्यस्तैको नाममा अरबौं घोटला गर्दैमा व्यस्ता थियो । चुनावी माहोल तताउन धनगढीमा त्यत्रो जनसागर जम्मा पार्ने तपाईं त्यतिबेला कुन दुलोमा हुनुहुन्थ्यो प्रधानमन्त्री ज्यू ?

दृश्य ४
विशेषगरी, राष्ट्रवादको नमिठो लाग्ने शब्दहरु तपार्यंले जनसागर अगाडी देख्नेबित्तिकै उठाइहाल्नुहुन्छ । यसअघि पनि भारतले गरेको नाकाबन्दीको बेलाको अडानलाई साक्षि राखेर धेरै सभालाई सम्बोधन गर्नुभयो । ०७४ सालको चुनावमा त त्यही अडानलाई नै मुख्य भाषण बनाएर देशदौडाह मा लाग्नुभएको दृष्टान्त छ ।

धनगढी पुगेर तपाईंले यो विषय उठाउनुहोला भन्ने मेरो पूर्वानुमान नै थियो । केही समयअघि मात्र आफ्नो सरकारको गृहमन्त्री सहितको टोलीलाई ‘हेलिकोप्टरमा सरर…’ सुदूरपश्चिमको सिमा नाका भ्रमण गराउनुभएको थियो । छाङरुमा लगेर स्थापना गरिएको बिओपीलाई आधार मान्दै लिपुलेक–लिम्पियाधुरा नक्सा सार्वजनिक गरेँ पनि भन्नुभयो । तपाईंले मिठो भाषामा त्यसो भनिरहँदा केहीले गडगडाहट तालि पनि बजाएका थिए ।

तर प्रधानमन्त्रीज्यू, मलाई सोध्न मन लागेको छ, सीमा क्षेत्रका नागरिकहरु तपाईं र तपाईंको सरकार सँग सन्तुष्ट छन् ? के राज्यकोषबाट पाउने सुविधान तिनीहरुले पाएका छन् । यदी तपाईंलाई यो विषय थाहा छैन भने ग्राउन्ड जिरो मै गएर गरिएको रिपोर्टिङ ‘कथा कालापानीको’ यो लिंकमा गएर एक पटक हेरिदिनुस् र राष्ट्रियताको सवाल अगाडी बढाउनुस् ।

सरकार बनेको यत्रो लामो समय कुनै प्राथमिकतामा नपरेको सुदूरपश्चिम संसद विघटन भएपछि ४ वटा मन्त्रीहरुले भरिपूर्ण भएको छ । संघीय मन्त्रालयको जिम्मेवारी तपाईंले कुन हिसाबमा दिनुभयो त्यसको लेखाजोखा तपाईंले नै गर्नुभएको होला । निर्वाचनमा होमिइसकेपछि कामचलाउ सरकारका मन्त्रालय सम्हाल्न दिएर सुदूरमा देखाउन खोजेको यो भीडले तपाईंलाई त खुसी मिलेको होला । तर, वास्तविक पीडा बोकेका सुदूरवासीको आँखामा खुसी पढ्न सकिएको छैन् ।

एक सुदूरवासीको हैसियतमा प्रश्न गर्न मन लागेको छ, ‘प्रधानमन्त्री ज्यू, निर्मला हत्यारादेखि वर्षौंदेखि सीमा छेउमा पीडा भोगेका सुदूरवासीको मन भन्दा पनि मत माग्न तपाईं धनगढी जानुभएको हो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *