काठमाडौं — विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार नेपालमा प्रत्येक हजारको जन्ममा ३३ शिशुको मृत्यु हुने गरेको छ । यसमा कमी ल्याउन धेरै प्रयास भए पनि सफल हुनसकेका छैनौं । नवजात शिशुको मृत्यु हुने विभिन्न कारणमध्ये जीवाणुको संक्रमण एक हो ।
नवजात शिशुको रोगसँग लड्ने क्षमता अत्यन्त न्युन हुन्छ । अर्को समस्या छिटो चिसो हुनु हो । शिशुको छाला पातलो हुने र बोसो एकदम कम हुनाले बाहिरी तापक्रममा अलिकति मात्र घटबड भए यसको असर तुरुन्त पर्छ ।
जाडोमा जब तापक्रममा कमी आउँछ, तब शिशुलाई शीताङ्गपनको जोखिम हुने गर्छ । नवजात शिशुले हामी ठूला मान्छेले जसरी कामेर शरीरमा ताप उत्पन्न गर्न सक्दैन । त्यसै कारणले पनि बच्चा चाँडै शीताङ्ग हुने गर्छ ।
नवजात शिशुको एकमात्र आहार भनेको आमाको दूध हो । जन्मेको ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक अरू खाना जरुरत पर्दैन । बच्चा जन्मिने बित्तिकै आमाको दूध चुसाउनु अति आवश्यक हुन्छ र प्रत्येक दुई घन्टाको फरकमा बच्चालाई दूध चुसाइराख्नुपर्छ ।
राति पनि अल्छी नमानिकन पटक(पटक उठेर आमाले बच्चालाई दूध चुसाउनुपर्छ । बच्चाले समय(समयमा दूध खान पाएन भने शरीरमा रहेको चिनीको मात्रा विस्तारै घट्न थाल्छ र बच्चा बेहोश हुने तथा काम्ने हुनसक्छ । यसले दिमाग र मुटु लगायत सम्पूर्ण अंगमा असर पारी बच्चाको ज्यानै जान सक्ने पनि हुनसक्छ ।
जाडोयाममा नवजात शिशुको हेरचाह गर्दा यिनै विशेष तीन कुरामा ध्यान दिनुपर्छ । बच्चा जन्मिसकेपछि आमाले बच्चालाई कसरी न्यानो राख्ने भन्ने सिक्नुपर्छ । अस्पतालमा शिशुको जन्म हुने बित्तिकै विशेष किसिमको हिटरमुनि राखिन्छ, अनि न्यानो कपडा लगाइदिने गरिन्छ ।
बच्चालाई न्यानो राख्न सुतीको कपडा उत्तम हुन्छ । आजकल हाम्रो चलनमा भित्री कपडा एकदम बाक्लो कपास राखेर सिलाउने गरिन्छ, तर यसो गर्नु गलत हो, किनभने भित्री कपडाले जीउबाट पसिना सोसिरहेको हुन्छ ।
बाक्लो कपडा लगाइदियौं भने सोसिएको पसिना कपडामै रहिरहन्छ र चिसो भएर जान्छ, अनि चिसो पसिनाले बच्चालाई तताउनुको साटो झन् चिस्याइरहेको हुन्छ । भित्री कपडा सधैं पातलो सुतीको हुनुपर्छ र यसलाई समय(समयमा परिवर्तन गरिरहनुपर्छ, ताकि बच्चालाई सोसिएको पसिनाले चिसो नहोस् ।
बच्चाको टाउको जीउको तुलनामा ठूलो हुन्छ । त्यसैले जीउको ताप टाउकोबाट चाँडै बाहिरी वातावरणमा निस्कन सक्छ र बच्चा शीताङ्ग हुनसक्छ । त्यसकारण बच्चाको जीउमात्र होइन, टाउकोलाई पनि ढाक्नु अत्यन्त जरुरी हुन्छ ।
टाउको ढाक्न ऊनीको टोपीको प्रयोग गर्नुपर्छ । टोपीले कान पनि छोप्नुपर्छ । धेरै जाडो छ भने हातखुट्टामा पनि ऊनीको पञ्जा अनि मोजा लगाइदिनुपर्छ । बाक्लो लुगाले ढाकिसकेपछि समय(समयमा बच्चाले दिसापिसाब गरेको छ कि छैन भनेर हेर्नु आवश्यक हुन्छ, किनभने पिसाब फेरेको ठाउँ चिसो हुन्छ र यसले पनि बच्चाको तापक्रम घटाउन सक्छ ।
बच्चालाई जाडो हुन्छ भनेर आगो बालेर दाउराको अगाडि सेक्ने प्रथा हाम्रो समाजमा अझै पनि छ । दाउरा बाल्दाको धुवाँ बच्चाको फोक्सोका लागि अत्यन्त हानिकारक हुन्छ ।
यो धुवाँले विभिन्न श्वास-प्रश्वासको समस्या निम्त्याउन सक्छ । धुवाँका कारण नाक बन्द हुन्छ र सास लिन तथा फाल्न समस्या उत्पन्न हुन्छ । घरभित्र दाउरा बालेको छ भने अक्सिजनको कमी भएर कहिलेकाहीं बच्चाको ज्यानैसमेत जान सक्छ ।
बच्चालाई सेक्न दाउरा बालेर गोल पार्नुपर्छ र बलेको गोलमाथि एउटा भाँडामा पानी बसालेर राख्नुपर्छ । कोठाभित्र सेक्दा हावाको आवत(जावत हुनुपर्छ । यसो गर्यो भने कोठामा तापको साथसाथै वाफको मात्रा पनि हुन्छ र यसले बच्चालाई तातो राख्नुका साथै नाक पनि बन्द हुन दिँदैन ।
हिटर तथा ग्यासको आगोमा सेक्दै हुनुहन्छ भने पानीको भाँडा बसालिराख्नु उत्तम हुन्छ । दाउरा, काठ, बिजुली, ग्यास केही छैन भने बच्चाको सम्पूर्ण कपडा खोलेर आमाको नाङ्गो छातीमा टाँसिदिनुपर्छ र बाहिरबाट आमा र बच्चा दुवैलाई बाक्लो कपडाले ढाकिदिनुपर्छ ।
आमाको जीउको तापले बच्चालाई शीताङ्ग हुनबाट बचाउँछ । यसलाई कङ्गारु विधि भनिन्छ । यसले आत्मीयतामा पनि वृद्धि गर्छ ।
बच्चा जन्मिसकेपछि समय(समयमा बिरामी नभए पनि चिकित्सककामा लगी जँचाउनुपर्छ । सकिन्छ भने हप्ताको दुईपटक तौल नाप्ने र दुई हप्ताको एकपटक लम्बाइ र टाउकोको गोलाइ नाप्नुपर्छ र पहिलेको भन्दा बढेको छ कि छैन भनेर हेर्नुपर्छ । जाडो मौसममा नवजात शिशुलाई अरू बेलामा भन्दा बढी ध्यान दिनु जरुरी हुन्छ ।
एजेन्सीको सहयोगमा तयार पारेको रिर्पोट