गणतान्त्रिक नेपालको छातीमाथि राजावादीको बेमौसमी हुँकार

मिन बहादुर सुनुवार ‘सुमन’ २९ मंसिर २०७७, सोमबार

शिशिर ऋतु अहिले वैंशालु अवस्थामा छ । जाडोले गर्दा नेपालको भूमि बेस्सरी चिसिएको छ । र, चिसोसँगै हिमालमा हिउँको थुप्रो बढ्दै छ । त्यसकारण, चिसो सिरेटोले मान्छेका शरीर काँपिरहेको अवस्थामा मानिसहरु न्यानो कपडा अनि बासको खोजीमा भौंतारिरहेका छन् । मानिस तातो खानाको चाजोपाजोमा व्यस्त छन् । तर जोसँग न्यानो कपडा, न्यानो बास अनि तातो खाना छैन भन्नुहोस् त उनिहरुको अवस्था कस्तो होला ? जाडो मौसममा कोही न्यानो ओतको खोजीमा छन् भने कोही तातो खानाको ।

तर, गत हप्ता सडकमा मोटरसाइकलको ठूलो भिड थियो, जसको खोजको उद्देश्य नितान्त फरक थियो । मानौ त्यो हुलले केही खोजिरहेको छ । हरेक दिन अनि हरेक रातसम्म । के त्यो हुलले जनताको लागि तातो गास, न्यानो बास र कपास खोजेको हो तरु के त्यो हुलले नेपालको स्थायित्व अनि समृद्धि खोजेको हो ? पक्कै पनि होइन । त्यो भिड जनताको खातिर न्यानो गाँस, बास र कपासको खोजीमा थिएन । त्यसकारण, त्यो भिडले अहोरात्र खोजेको व्यक्ति जनता थिएन, जनताको आवश्यक्ता थिएन–राजसंथा र हिन्दुराज्य थियो । त्यो हुलको खोजीको केन्द्रबिन्दु नरेश थियो । किनकि त्यो हुलको टड्कारो नारा भित्र ‘राजा आउ देश बचाउ’ को आवाज बुलन्दित थियो । जुन आवाजले सडक र गल्लिहरु हिजोआज दुर्गन्धित भएका छन् ।

को हुन् त ती बाइकको हुलमा घोक्रो फुट्नेगरि चिच्याउने मनुवाहरु ? अरु कोही होइनन् । ती राजाको भरौटे हुन् । जसले हिजो दरवारको जुठोपुरो खाएर बाचेका अनि दरवारको छत्रछायामा हुर्केका राजाको चाकडीवाजहरु नै आज राजाको पक्षमा खुलेआम सडकमा दौडिरहेको छन् । जो कोक्रोमा हुर्कदै गरेको शिशु संघीयता र गणतन्त्रको निर्मम रुपमा हत्या गर्न अग्रसर छन् । यो झुंडको आरोप छ गणतन्त्रवादीले केही गरेनन् । अग्रगामीले केही लछारपाटो लगाएन। राजावादीहरुको बेलाबेला भन्ने र गर्ने यस्तो हर्कहरु देख्दा अनि सुन्दा जनताको मनमा केही गम्भीर प्रश्नहरु ठोकिँन्न थालेको छ ।

के राजतन्त्र गणतन्त्रको विकल्प हुनसक्छ ? के राजाले हिजो २ सय ५० वर्षसम्म शासन गर्दा नेपाली जनताको लागि गाँस, बाँस र कपासको व्यवस्था गरेको थियो ? के राजाले समाजमा सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण गर्न सकेको थियो ? के राजसंस्था हिजो सांस्कृतिक विविधताको प्रतीक थियो ? के राजाले देशमा वर्गीय, जातीय, लैङगिक, क्षेत्रीय, भाषिक अनि पिछडिएका समुदायहरुको समता र समान्ताको मुद्दालाई उठाएको थियो ? के त्यसको कार्यन्वयनमा जोड दिएको थियो ?

बिलकुल थिएन। इतिहास साची छ । भुक्तभोगी जनता अहिलेसम्म बाचिरहेका छन् । राजा सामन्त र तानाशाहको प्रतीक हो । दमन र उत्पीडनको नाइके हो। जसले जनताको परिवर्तन, प्रजातन्त्र र समृद्धिको आवाजलाई बुटले कुल्चेर हत्या गरेको थियो । उद्दाहरण प्रशस्त छन् । जननिर्वाचित प्रथम प्रधानमन्त्री वी पी कोइरालाको सरकारलाई ुकुु गर्ने को थियो रु वी पी लाई जेल हाल्ने महेन्द्र को थिए ? केपी शर्मा ओलीलाई जेलमा सडाउन खोज्ने कसको षड्यन्त्र थियो ?

पटकपटक प्रजातान्त्रिक सरकारको मुलछेदन गर्ने राजा होइन ? झापा क्रान्ति र बिद्रोहलाई दमन गर्ने हिजो राजाको पंचे होइनन् ? देशभर नै सामाजिक, सांस्कृतिक र राजनीतिक रुपान्तरणको आँधिवेरी ल्याउने शक्तिशाली जनयुद्ध र क्रान्तिलाई दमन गर्ने राजसंस्था होइन ? अनि अग्रगामी र समावेशी वर्तमान संविधान के राजाले जनतालाई दिएको उपहार हो ? अवश्य होइन । उक्त संविधान प्राप्त गर्न जनताको सर्वोत्तम छोराछोरीले २००७ सालदेखि अनेकन क्रान्ति र आन्दोलनको मोड र घुम्तीहरुमा आफ्नो रगत बगाएको छ । लोकतान्त्रिक गणतन्त्र नेपालको काखमा हक, हित, अधिकार, सामाजिक न्याय र समान अवसर अनि समृद्धि प्राप्त गर्नका लागि बलिदान दिएका छन् ।

त्यसकारण, राजा जनताको स्वतन्त्रता, सार्वभौमिक्ता, समृद्धि, सांस्कृतिक विविधता र एकतालाई नष्ट गर्ने नरसंहारकारी थिए । युद्धपिपासु र हत्यारा थिए, जसले सयौं थुङ्गा फुलहरुलाई कहिल्यै समान रुपमा फुल्न अनि फकृनु दिएन । जसको हात अनि अनुहारमा निर्दोष जनताको रगतले पोतिएको दाग सिवाय अरु केही छैन । तसर्थ, राजा र राजसंस्था नेपाली जनताको लागि सबैभन्दा घृणित पात्र र संस्था हो जसको नेपाली जनताको मनमा वर्षौं पहिले नै मृत्यु भइसकेको छ ।

त्यस्तै, त्यो भिड्ले हरेक दिन अनि रात जप्ने अर्को मन्त्र भनेको हिन्दुराज्य हो । जुन मन्त्र संविधानको खिलाफमा छ । किनकि नेपालको संविधानले धर्म निरपेक्षतालाई स्वीकार गरेको छ । कुनै पनि धर्म राज्यले मान्नु हुन । धर्म मान्ने नमान्ने विषय राज्यको होइन , जनताको हो । कुन धर्म मान्ने भन्ने विषयमा जनता स्वतन्त्र छन् । हिजो मध्ययुगीन समाजमा धर्मिक राज्यहरू थिए । तर अबको समाजले त्यो युगलाई पार गर्दै विज्ञान र प्रविधिको युगमा समाज आइपुगेको छ ।

त्यसकारण, हिन्दुराज्य अग्रगमनको बाधक हो । जसले बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक पहिचान र सहअस्तित्वलाई निषेध गर्द्छ । किनभने हिजो हिन्दुराज्यबाट सबैभन्दा बढी प्रताडित दलित, जनजाती, महिला, मुसलमान लगायत अन्य समुदायहरुको कथाव्यथाहरु अझै समाजमा खोट बनेर रहिरहेको छ । ती खोट अनि पीडाको डोबहरुलाई चाडैं निको पार्न जनतालाई संघीयता र गणतन्त्रको मलमपट्टी अपरिहार्य छ । किनकि धार्मिक अधिनायकवादले समाजमा जातिवादी र धार्मिक अतिवादलाई प्रश्रय दिन्छ । र समाज विस्तारै जातीय कलह अनि द्वन्द्वमा फस्न सक्छ । तसर्थ, हिन्दुराज्य अबको समाजको मुख्य माग हुन सक्दैन ।

त्यस्तै, राजावादीको जत्था उग्ररूपमा राजावादी नारा लगाउदै दौडधुपमा छन् । जुन जत्था संघीयताको विरुद्धमा मरेर लागेको छ । १९१० को मुलुकी ऐनमा जात विभाजन गर्दै समाजमा जातीयता र जातिवादी सोच र व्यवहार कानून बनाएर जबरजस्ती लाद्न लालमोहोर छाप लगाउने जनता होइनन् , सामन्ती शासक राजतन्त्र हो । आज राजावादी र त्यसको भरौटेहरुले राजसंस्था र हिन्दुराज्यको नाममा संघीयता, राज्यको पूर्नसंरचना, समानुपातिक सामवेशीता र गणतन्त्रलाई ध्वस्त गर्न खोज्दै छन् । तसर्थ, राजसंस्थाको यो दिवा सपना कदापि पुरा हुन नदिन राजनीतिक दल र नागरिक समाजको के कस्तो भूमिका छ ? यो निकै माननीय विषय बन्दैछ ।

अन्त्यमा, संघीयता र गणतन्त्र जनताको उच्च बलिदानको महान उपलब्धि हुन । यो अहिले शिशु अवस्थामा नै छ । जुन हुर्किने क्रममा छ । भलै यसबाट जनताले तत्कालै धेरै फाइदा प्राप्त गर्न सकेका छैनन् । जनताले लोकतन्त्र, गणतन्त्र र संघीयताको वास्तविक रुपमा अनुभुती गर्न सकेको छैन । यो साचो कुरा हो । तर बुझ्नुपर्ने विषय के हो भने सयौं वर्षदेखि समाजलाई गाँजेको सामाजिक, सांस्कृतिक, आर्थिक लगायत विकृति अनि विसंगतिलाई सफाचट गर्न रातारात सकिन्न पनि । यसले नागरिक, नेतृत्व, कर्मचारी, व्यापारी, नागरिक समाज र राजनीतिक दलबाट अझ धेरै ठूलो त्याग, धैर्यता, परिश्रम अनि कुशल जिम्मेवारीबोधको अटुट साथ माग्द्छ । के हामी त्यो जिम्मेवारी पूरा गर्न सक्छौं ?

तसर्थ, वंशजको आधारमा कसैलाई राजा बन्ने रहन छ भने त्यो पुरा हुन्न । किनकि राजा भूपति, शासक र सार्वभौम हुने परिस्थिति बद्लिएको छ । अब त्यहाँ राजा होइन, जनता छन् । जसले आफ्नो भविष्यको फैसला आफ्नो हातबाट गर्नेछन् । जसले नेपाल आमाको समृद्धि आफ्नै परिश्रम, सीप र योगदानले गर्ने छ । जहाँ सम्पूर्ण नेपालीहरु सह(अस्तित्व, भाइचारा, आत्म(सम्मान, सहकार्य र एकताको भावनाले संगठित हुनेछ । ती कर्मठ जनताको परिश्रमले मात्र सयौं वर्षदेखिको गरीब देशको पहिचानलाई बदल्न सक्छ ।

त्यसकारण, देशमा संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्म निरपेक्षता र समानुपातिक सामावेशीता चाहिन्छ । राजा, राजतन्त्र र हिन्दुराज्यको अस्तित्वको युग समाप्त भैसकेको छ । त्यसैले, नेतृत्वको हातमा नै जनताको भविष्य सुम्पिएको अवस्थामा यो र त्योको वहानामा उनिहरु उम्किन पाउने छैनन् । त्यो सुविधा राजनीतिक नेतृत्वलाई कदापि छैन । अब हरेक पल नेतृत्वलाई खबरदारी गर्दै जनता जाग्नुपर्छ । र, नागरिक समाजले जनताको लागि बोल्नुपर्छ अनि लेख्नुपर्छ । किनभने लोकतान्त्रिक गणतन्त्र नेपाल आमाको छातीमाथि हत्यारा तानाशाह राजा र राजसंस्थाको बेमौसमी हुन्कार सार्वभौम नेपाली जनतालाई सधैं अपाच्य छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *