कम्युनिष्टहरु नै कम्युनिष्टको भक्षक !

उज्यालो प्रतिनिधि १२ मंसिर २०७७, शुक्रबार

नेपालमा निरंकुश राजतन्त्र होस् वा राणाशासनको अन्त्य वा सामन्ती र सम्राज्यवादी शोषणको समेत अन्त्यको आवाज उठाउँदै २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले २००७ सालदेखिका तमाम क्रान्ति, जनयुद्ध तथा बलिदानीपूर्ण संघर्षमा सक्रिय हाल सम्म नेतृत्वसमेत गर्दै आएको छ । मुलुकको समग्र अग्रगति र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा पु¥याउने महान् सफलताका लागि जनयुद्धको ठूलो योगदान छ । कम्युनिस्टको देश र जनताप्रतिको त्याग, तपस्या र बलिदानका कारणले नै अन्तिम कालमा आएर नेपाली जनताले झन्डै दुईतिहाइ मत दिई राज्यसत्ता सञ्चालन गर्ने ऐतिहासिक जिम्मेवारी सुम्पेका छन् ।

नेपाली समाजमा युगौँदेखि दिन–रात पसिना बगाउँदा पनि गाँस–बास–कपास नपाएर अत्यन्त दुःखकष्टका साथ जीवन बाँच्ने श्रमजीवी जनताको विशाल पंक्ति एकातिर छ भने तिनै जनताको पसिना लुटेर पुस्तौँ–पुस्ता सुखसयल र भोग–विलासको जिन्दगी बिताउने मुठ्ठीभरका मानिसको पंक्ति अर्कोतिर छ । युरोपको एउटा देश जर्मनीमा जन्मेका कार्ल माक्र्सदेखि नेपालका पुष्पलाललगायत विश्वका तमाम नेता तथा विद्धानले विश्वमा देखापर्दै आएको यस किसिमको विभेद र अत्याचारको अन्त्यसँगै जनताको सुख–समृद्धिका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरे । नेपालका कम्युनिस्टसामु जनताको त्यो युगीन अभिभारा पूरा गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । कोभिड–१९ को महामारीका कारणले चुनौती थपिएको भए पनि यसलाई जनताको सेवा गर्ने अवसरका रूपमा उपयोग गर्न सकिन्छ । यसवेला रोग र भोकबाट पीडित जनतालाई पार्टीको शक्ति अनि राज्यसत्ताको स्रोत र साधनलाई ठीक किसिमले प्रयोग गर्न जान्ने हो भने जनताबाट कम्युनिस्ट नै हाम्रा सच्चा साथी रहेछन् भन्ने विश्वास प्राप्त गर्न सकिन्छ । तर, यतिवेला हामी हाम्रो शक्ति र राज्यसत्तालाई कसरी प्रयोग गर्दै छौँ ? आमजनताले गम्भीर प्रश्न गर्न थालेका छन् । हामीलाई प्रश्न गर्नु जनताको नैसर्गिक अधिकार हो ।

यतिवेला हाम्रा कतिपय गल्ती–कमजोरीलाई आधार बनाएर तमाम देशी, विदेशी प्रतिक्रियावादी शक्तिले वास्तवमा माक्र्सवाद नै गलत हो, कम्युनिस्ट सिद्धान्त नै बेठीक हो भन्दै जनतामा भ्रम सिर्जना गर्ने प्रयत्न गरिरहेका छन् । उनीहरू आफ्नो शक्तिले भ्याएसम्म कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न चाहन्छन् । यो उनीहरूको वर्गीय चरित्र नै हो । तर, कम्युनिस्टले आफ्नो नीति, सिद्धान्त र निर्वाचनका वेला जारी गरेको घोषणापत्रको आधारमा जनताको पक्षमा राम्रो काम गर्न सक्ने हो भने प्रतिक्रियावादीको कुनै पनि प्रयासले कम्युनिस्ट आन्दोलन कमजोर हुँदैन । नेपाल भित्र कम्युनिष्ट भित्रको मार्क्सवाद, लेलिनवाद र माओवाद मा आस्था राखाने र नराखने बिच द्वन्द रहेको छ । बाँकी रहेका अढाइ वर्षलाई ठीक ढंगले प्रयोग गर्ने हो भने अर्को निर्वाचनमा पनि जनताले पुनः विश्वास प्रकट गर्ने सम्भावना टरेको छैन । तर, यतिवेला कम्युनिस्ट पार्टीभित्र कतिपय यस्ता चिन्तन र प्रवृत्ति देखा पर्दै छन्, जसका कारणले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने खतरा देखा पर्दै छ । वेलैमा सचेत भएर आफूलाई निर्ममतापूर्वक सच्याउन तमाम देशका कम्युनिस्टले भोगेको नियति हामीले भोगिनु पर्दैन ।

पछिल्लो आमनिर्वाचनदेखि मुलुकको कार्यपालिका र व्यवस्थापिकालगायत माथिल्लो संरचनामा कम्युनिस्टको नेतृत्व कायम छ । तर, मुलुकको अर्थतन्त्रमा पहिलेदेखि नै दलाल तथा नोकरशाही पुँजीवादको नियन्त्रण छ । मुलुकको हरक्षेत्रमा बिचौलियाको बिगबिगी छ । त्यस्तै तस्करी, बढ्दो भ्रष्टाचार र कमिसनका कारण सम्पूर्ण विकास निर्माणको काम प्रभावित छ । वैदेशिक एकाधिकार पुँजीवादको संरक्षण प्राप्त गरेको नेपालको दलाल पुँजीवादका कारणले मुलुकको राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रतामा आँच पुग्ने खतरा विद्यमान छ । यस्तो अवस्थामा दलाल तथा नोकरशाही पुँजीवाद नै नेपाल र नेपाली जनताको प्रगतिको प्रमुख बाधक भएको प्रस्ट छ । यो पुँजीवादले नेपालको अर्थतन्त्रमा मात्र होइन, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर नकारात्मक प्रभाव पार्नुका साथै राजनीतिक क्षेत्रलाई पनि विभिन्न तरिका र उपायबाट आफ्नो नियन्त्रणमा राख्ने हरसम्भव प्रयत्न गरिरहेको छ ।

अहिलेको परिस्थितिमा कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको माथिल्लो संरचनाले आर्थिक आधारलाई जनताको हितअनुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । यदि त्यस्तो भएन भने दलाल पुँजीवादले माथिल्लो संरचनालाई आफ्नो हितअनुरूप बदल्नेछ । यो यतिवेलाको सबैभन्दा ठूलो चुनौती हो । यो कुराको सफलता र असफलताले नै मुलुकको भविष्य र अन्य धेरै कुरा निर्धारित हुनेछ । पार्टीका कतिपय नेता तथा कार्यकर्ता आर्थिक स्वार्थका लागि दलाल पुँजीवादको चंगुलमा फस्न पुगे भने उनीहरूको स्वार्थका कारण मुलुक र कम्युनिस्ट आन्दोलनले ठूलो मूल्य चुकाउनु पर्नेछ । अर्थात् मूलतः कम्युनिस्टभित्रकै केही भ्रष्ट व्यक्तिका कारण कम्युनिस्ट आन्दोलन ठूलो खतरामा पर्न सक्छ ।

समाजवाद भनेको आफैँमा सामूहिकतावाद हो । हाम्रो समाजमा डरलाग्दो रूपमा व्यक्तिवादी चिन्तन बढ्दै छ ।

कम्युनिस्टले आफ्नो पार्टीभित्रबाट सामूहिकतावादी चिन्तन, संस्कृति र संस्कारको विकास गर्नुपर्ने आवश्यकता छ । नेपाली जनताले कम्युनिस्टलाई साथ दिनुको महत्वपूर्ण कारण भनेको यिनीहरूले हाम्रो सेवामा आफ्नो जीवन समर्पित गर्दै आएका छन् भन्ने विश्वास नै हो । तर, खास गरी सत्तामा पुगेपछि हामीभित्र आत्मकेन्द्रित व्यक्तिवाद अत्यन्त खतरनाक रूपमा बढ्दै छ । यो आमकार्यकर्ता र जनताले देख्दै आएका छन् । कम्युनिस्टलाई समाप्त पार्ने यो एउटा अत्यन्त खतरनाक रोग हो । यसको समयमै उपचार गर्न सकिएन भने अरू कसैको कारणले होइन, कम्युनिस्टकै आफ्नै भित्री कारणले यो आन्दोलन बर्बाद हुनेछ । यसले कतिपय नेता, कार्यकर्तामा आफूले प्राप्त गरेको ठूलो पद र खाई–पाई आएको सुविधाबाट पछि हट्नुपर्ने हो भने भविष्यमा कहिल्यै उठ्न नसक्ने गरी यो पार्टीलाई तोडफोड गर्छु भन्ने चिन्तन देखा पर्न सक्छ । आत्मकेन्द्रित व्यक्तिवादले मान्छेलाई कम्युनिस्ट विचारको ठीक उल्टो बाटोतिर डो¥याउँछ ।
कुनै पनि गतिशील पार्टीमा विभिन्न विषयवस्तु र विचारगत आधारमा अस्थायी प्रकृतिका समूहगत स्वरूप देखिनु स्वाभाविक वस्तुगत पक्ष हो । तर, तुच्छ व्यक्तिगत स्वार्थ र आन्दोलनको अहित हुने गरी गुट सञ्चालन गर्नु, कम्युनिस्ट आन्दोलनलाई क्षत–विक्षत् पार्ने विघटनवादी प्रवृत्ति हो । पार्टी परिचालनका निश्चित वैज्ञानिक विधिका आधारमा यस किसिमको गलत प्रवृत्तिलाई परास्त गर्न सकिएन भने कम्युनिस्ट नामधारी कतिपय नक्कली व्यक्तिहरूका कारण कम्युनिस्ट आन्दोलन ठूलो खतरामा पर्न सक्छ । पार्टीका तमाम नेता तथा कार्यकर्ताको बलिदान र कठोर संघर्ष तथा नेपाली जनताको सहयोग र विश्वासको आधारमा आज जुन किसिमको शक्ति आर्जन भएको छ, यसलाई केही अमुक व्यक्तिको पुरुषार्थको परिणाम ठान्ने र यो शक्तिलाई देश र जनताको सेवामा भन्दा केही निश्चित व्यक्ति राता–रात करोडपति बन्ने साधनको रूपमा प्रयोग गर्न सक्ने खतरा बढ्दै छ । विचारगत रूपमा कम्युनिस्ट पार्टीले यस्तो काम गर्ने अनुमति दिँदैन, तर पार्टीको नीति र सिद्धान्तलाई लात मारेर शक्तिको दुरुपयोग गर्ने यस किसिमको प्रवृत्तिले पार्टीलाई बर्बाद पार्नुका साथै कम्युनिस्ट विचारमाथि नै जनताले अविश्वास गर्ने मात्र होइन, उनीहरू विरोधमै उत्रिने खतरा आउन सक्छ । यी विषयलाई अहिलेदेखि नै गम्भीर रूपमा लिएर यस किसिमका गलत प्रवृत्तिविरुद्ध आन्तरिक रूपमै दृढतापूर्वक वैचारिक संघर्ष सञ्चालन गर्नु आवश्यक छ ।

कम्युनिस्ट पार्टी आफैँमा समाज बदल्ने महत्वपूर्ण साधन हो । नेपाली समाजमा अनेक किसिमका सामन्ती र पुँजीवादी विकृति, विसंगति र कुसंस्कार व्याप्त छन् । यस किसिमका सामाजिक विकृतिले पार्टीका तमाम नेता तथा कार्यकर्तालाई प्रभावित पारेको छ । समाज बदल्नका लागि सबैभन्दा पहिले पार्टीभित्रकै नेता, कार्यकर्ताले आफूलाई बदल्नु जरुरी छ । जनताको मुक्तिका लागि कम्युनिस्ट पार्टीमा लागेका मानिसले मूलतः श्रमजीवी जनतालाई नै सर्वेसर्वा ठान्नुपर्छ । तर, कतिपय व्यक्ति जनताको शक्तिभन्दा पैसा र अलौकिक शक्तिको भरोसा गरेर अघि बढ्न थाले भने अनैतिक काम गरेर भए पनि धनी बन्नुपर्छ भन्ने मान्यताले प्रश्रय पाउँछ । यसले समाजमा नैतिकता मर्छ, न्याय मर्छ, इमानदारिता मर्छ । कम्युनिस्ट पार्टीमा नैतिकता, न्याय र इमानदारिता सबैभन्दा महत्वपूर्ण र अनिवार्य विषय हो, तर त्यो समाप्त भएपछि जतिसुकै ठूलो शक्ति निर्माण भए पनि त्यो अस्थायी र क्षणिक मात्र हुन्छ ।

नेपाली जनताले कम्युनिस्ट पार्टीको सरकारबाट ठूलो अपेक्षा गरेका छन् । अपेक्षा गर्नु अत्यन्त स्वाभाविक छ । अहिले पनि हाम्रो समाजमा गरिब र धनीबीचको अन्तर निरन्तर बढ्दै गएको छ । केही मुठ्ठीभरका मानिसको सम्पत्तिको पहाड तीव्र रूपमा चुलिँदै गएको छ । गरिबी, बेरोजगारी, भ्रष्टाचार, अनैतिकता, हत्या, आत्महत्या, बलात्कार, विभेद आदि बढ्दो अवस्थामा छ । मुलुक निरन्तर परनिर्भताको दलदलमा भाषिँदै छ । व्यापार घाटा, वैदेशिक ऋण, मूल्यवृद्धिको क्रम निरन्तर बढ्दै छ । कम्युनिस्टको नीति, सिद्धान्त र कार्यक्रमले यो देशबाट उपर्युक्त सबै विषयलाई क्रमशः घटाउँदै अन्ततः त्यसलाई समाप्त पार्ने उद्घोष गरेको छ । त्यसकै लागि हजारौँले बलिदान दिएका हुन्, आफ्नो सारा जीवन समर्पित गरेका हुन् । समाजको प्रगति र विकासका लागि उपर्युक्त विषयमा व्यापक सुधार र परिवर्तन गर्न सकिएन भने जनताले कम्युनिस्ट पार्टी र उसको सरकारमाथि मात्र होइन, पार्टीको विचारमाथि नै अविश्वास गर्ने अवस्था सिर्जना हुनेछ । अन्ततः अहिलेको वास्तविकताको गहिराइमा गएर विश्लेषण गर्ने हो भने यतिवेला नेपालका कम्युनिस्टलाई बाहिरबाट भन्दा आफैँभित्रबाट मुख्य खतरा रहेको सच्चाइलाई ठीकसँग बुझ्नु जरुरी छ नत्र कम्युनिष्टहरु र कम्युनिष्ट अन्दोलन नेपालमा रक्षात्मक अवस्था मा पुग्ने निस्चित हुने छ र नेता हरुको अपसी कलह र बिचारको बिचमा नेताहरु भक्षकको रुपमा चिनिने छन अब अरूलाई दोष दिएरभन्दा नेता तथा कार्यकर्ताहरूले आफैँले आफैँलाई रूपान्तरण गरेर यो पार्टीलाई सच्चा लोकतान्त्रिक एवं कम्युनिस्ट पार्टीको रूपमा विकास गर्नुपर्छ । त्यसका लागि पार्टीव्यापी तिखो वैचारिक बहस आवश्यक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *