कमरेड ओली हिम्मत गर्नुहोस्, तर दुर्योधन किमार्थ नबन्नुहोस्

मिन बहादुर सुनुवार ‘सुमन’ ८ मंसिर २०७७, सोमबार

पृथ्वीले आफ्नो गती बिर्सियो भने के होला ? के यो पृथ्वीको अस्तित्व रहला ? पक्कै रहँदैन । किनकि पृथ्वीले आफ्नो गती बिर्सिएमा कतै ठक्कर खान्छ । र, त्यसको विनास हुन्छ । अनि हावा चल्न रोकिए के हुन्छ ? के सम्पूर्ण प्राणीको अस्तित्व सम्भव छ ? अहँ विल्कुल सम्भव छैन् । त्यो कल्पना समेत गर्न सकिन्न । किनभने पृथ्वीको गती र हावाको अस्तित्व प्राकृतिको आफ्नो नियममा छन् । तिनीहरु कुनै विधि, पद्धति र नियममा छन् । र, तिनीहरु त्यो नियमले बाँधिएका छन् । पृथ्वी र हावा जस्तै अन्य प्रकृति पनि निश्चित नियमको अधिनस्थ छन् । यदि कुनै वस्तु अथवा घटना नियम र विधि भन्दा बाहिर गए त्यसको विनाश हुन्छ । त्यहाँ एकता, सघंर्ष र रुपान्तरण हुँदैन । र, अस्तित्वमा नै संकट आउँछ । तसर्थ, नियम अथवा विधि हरेक घटनामा पाउँन सकिन्छ ।

त्यसैले, कम्युनिष्टले आफ्नो सिद्धान्त बिर्सिएमा के हुन्छ ? माक्र्सवाद–लेनीनवाद–माओवादका मुख्य मर्म छाडेमा के हुन्छ ? के त्यो कम्युनिष्ट हुन सक्छ ? अवश्य पनि त्यो कम्युनिष्ट हुन सक्दैन । के कम्युनिष्टको आफ्नो सिद्धान्त छैन ? यदि आफ्नै विचार, विधि र पद्धति छ भने के कम्युनिष्ट पार्टी, नेतृत्व र कार्यकर्ताले कम्युनिष्ट विचारलाई आत्मासाथ गर्नु पर्दैन ? के नेतृत्वले कुनै बिधि, पद्धति र नियमलाई मान्नु पर्दैन ? त्यो नमान्दा पनि हुन्छ ? यदि त्यो भएमा कम्युनिष्टले जनताबाट विश्वास गुमाउँछ । पार्टी बदनाम हुनेछ । र, पार्टी अनि नेतृत्वको पतन यहीबाट सुरु हुनेछ । त्यसैले, आफ्नो खुशीले जे गर्दा पनि उचित हुन्छ भन्ने तर्क सही होइन ।

किनभने जतिसुकै महान नेतृत्व भए पनि त्यो बिधि र पद्धति भन्दा माथि पक्कै छैन् र हुन सक्दैन् । त्यसकारण, जसले कम्युनिष्ट सिद्धान्त र पार्टीको विधि अनि पद्धति भन्दा माथि आफुलाई राख्छ , त्यो तानाशाह बन्न सक्छ । त्यो निरंकुश, जाली र फटाह शासक बन्न सक्छ । जसले विचारलाई मान्दैन । कुनै नियम र पद्धतिलाई मान्दैन । आफुले जे ग¥र्यो, त्यो नै विधि ठान्दछ । त्यो नै मनासिव हो भन्छ भने त्यो अराजक हुनेछ । त्यो कम्युनिष्ट हुन सक्दैन । त्यो अवसारवादी हुनेछ ।

त्यसकारण, अहिले नेकपामा त्यही विधि र पद्धतिको बहस छ । पार्टी र सरकार विधि र पद्धति अनुसार चलेन । सरकार पार्टीले लिएको सिद्धान्त, नियम, विधि अनि पद्धतिबाट नचली प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी ओलीको मनोमानीमा चल्यो । जसले पार्टीको सल्लाह र निर्देशनलाई खेलाची ठान्यो । र, सरकारले पार्टीको सहमतीबीना नै अनेकन निर्णयहरु एकपछि अर्को गर्दै हिड्छ भने त्यहाँ व्यक्तिवाद हावी भयो । आज कमरेड ओलीको यस्तै दादागिरी र घमण्डीपनले सरकार र पार्टी बदनाम भएको छ ।

कतिलाई लाग्न सक्छ प्रधानमन्त्री ओलीले सबै काम ठिकठाक तरिकाले गरिरहेको नै छ । बेकाममा प्रचण्ड–माधव गुटले ओली सरकारको खुट्टा तान्दैछ । कम्युनिष्टको सरकारलाई काम गर्न दिने भएनन् । धेरैलाई यस्तै भावना मनमा आउँन सक्छ । यो स्वभाविक पनि छ । किनकि एउटा साधरण व्याक्तिले यसरी नै भन्ने र बुझ्ने गर्दछन् । तर, ओली सरकारले गरेका धेरै निर्णय र कार्यहरुलाई संश्लेषण गरेर हेर्ने हो भने कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त र पद्धति भन्दा बाहिर छ । वुर्जुवा र अवसरवादीलाई अध्यक्ष ओलीले सरकारमा संलग्न गराए । प्रटोकलको वेवास्ता गर्दै भारतका गुप्तचर प्रमुखसँग सुटुक्क भेट गरे । कमसेकम शिक्षा र आर्थिक क्षेत्रमा कुनै एउटा समाजवाद उन्मुख कार्य गर्नु पथ्र्यो, तर विलकुल गरिएन ।

वास्तवमा आजका दिनसम्म पार्टी र जनताले गौरवका साथ सरकारले यो काम ग¥यो भन्ने स्थिति बनेन । खै कुन काम छ त्यस्तो ? बरु सरकारले मनोमानी रुपमा ओली भक्तहरुलाई राजनीतिक नियुक्ति दिने काम भैइ नै रहयो । पार्टी भित्र गुट बनाउँदै जबजको वकालत गराउँन गोकुल बास्कोटा र नविना लामा जस्ता आलाकाँचालाई लगाइयो, जुन कुरा सरकारको दायित्वमा पर्दैन थियो । त्यसैले, ओलीको अनेकन व्यक्तिवादी सोच, जालझेल, विधि र पद्धति मिचाईबाट वाक्क अनि दिक्क भएर कमरेड प्रचण्डले पार्टी सचिवालयमा १९ पृष्ठको प्रतिवेदन पेश गरेका छन् । जुन बदलाको भावले पक्कै होइन ।

प्रधानमन्त्री ओलीलाई लाग्न सक्छ मैले राजनीतिमा सब कुरा भोगे । जेलमा १४ वर्ष जीवन बिताए । लाठी–बुट, यातना सबै भोगे । र, म अहिले सरकार प्रमुख छु । म जे गर्दैछु , जनता, राष्ट्र र पार्टीको लागि गर्दैछु । र, मैले गरेका सबै निर्णय र कार्यहरु ठिक छन् । त्यहाँ खोट छैन । यस्तो सोच अवश्य गलत होइन पनि । किनकि हरेक व्यक्तिमा आत्मरती हुँदैन भन्न सकिन्न । प्रधानमन्त्री पनि आखिरमा एउटा व्यक्ति त हुन् ।

तर, सरकारको मूल्याङकन त जनताले गर्छन होला । पार्टीले पनि गर्न पाउँछ होला । अनि त्यो मूल्याङकन मान्दिन भन्न मिल्छ ? फेरी कम्युनिष्टको सरकार, जहाँ वर्गसंघर्षको भट्टीबाट खारिएका नेतृत्वले सरकारको नेतृत्व गर्दछन् । र, सर्वहारा वर्गको पक्षमा विस्तारै माहोल निर्माण गर्दै जान्छन् । किनकि सरकार पनि क्रान्तिको एउटा अंग हो । संक्रमणकालीन समाजवादलाई नेतृत्व गर्ने मोर्चा हो । तर, त्यसो भएको र गरिएको देखिएन । मानैं त्यो समय आएको छैन । समय पुगेको छैन । तर, पार्टीको सैद्धान्तिक लक्ष्यमा पुग्न पार्टीको विधि र पद्धति मान्न अनि कार्यन्वयन गर्न के ले रोकेको छ ? त्यसकारण, सरकारको कार्यशैली गलत छ । मुख्यतहः प्रधानमन्त्री ओली सम्पूर्ण व्यथितिका जिम्मेवार हुन् । जुन व्यथितिलाई रोक्नका लागि प्रधानमन्त्रीबाट कमरेड ओलीले राजिनामा दिन हिम्मत गर्नुपर्छ । प्रधानमन्त्रीले राजिनामा दिन अस्वीकार गरेमा पार्टीले कमरेड ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउँन आँट गर्नुपर्छ ।
हिम्मत कसले गर्ने हो ? त्यो दृश्य पक्कै आउँछ । तरपनि प्रधानमन्त्री एवम पार्टी अध्यक्ष कमरेड ओलीले त्यो बोल्ड निर्णय गर्न हिम्मत गर्नुपर्छ । ‘जो अगुवा ऊ नै बाटो ……’ भन्ने प्रचलनलाई गलत साबित गर्न सक्नुपर्छ । के प्रधानमन्त्रीले त्यो हिम्मत गर्लान त ? नत्रभने कमरेड ओलीको राजनीतिक जीवन पनि महाभारतका प्रसिद्ध पात्र ‘दुर्योधन’को जस्तै हुनेमा कुनै शंका छैन । किनभने दुर्योधन कौरवका सन्तान हुन् । ऊ पनि राजकुमार हुन् । दुर्योधन युधिष्ठीर, अर्जुन र भिम जतिकै पढेलेखेका र वीर योद्धा थिए ।

पाण्डवसँग युद्ध गर्न तयार भए । तर दुर्योधनलाई त्यो युद्धमा मेरो हार हुन्छ भन्ने कुरा थाहा नभएर होइन, थाहा भएर नै युद्ध गरे । किनभने वास्तविकतालाई स्वीकार गर्ने अनि विधि र विधानलाई मान्ने विशेषता दुर्योधनमा थिएन । अन्ततः पौराणिक कथामा एउटा महावली अथवा वीर योद्धाको दुःखद अन्त्य भएर नै छाड्यो । यस्तै कथा राजनीतिमा दोहोरिन सक्दैन भन्न सकिन्न कि ? तसर्थ, कमरेड ओलीले मेरो राजनीतिक भविष्य नै सिध्याउँने गरी प्रतिवेदन ल्याए भनेर आँखा चिम्लेर बस्नु भनेको दुर्योधनको मार्गमा हिड्नु हो । त्यसकारण, अग्रिम सुझाव छ । कमरेड ओली, दोस्रो दुर्योधन किमार्थ नबन्नुहोस् । सत्यलाई नबुझे झैं र नपत्याए झैं गर्नेको हालत दुर्योधनको भन्दा दुःखद हुन सक्दैन भन्न सकिन्न ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *