४ मंसिर २०७७, बिहीबार

धम्काएको होइन, परिस्थिति गम्भीर देखेको छु [सचिवालयमा ओलीले राखेको धारणाको पूर्णपाठ]

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ४ मंसिर २०७७, बिहीबार
3.5kViews
1896 Shares

अध्यक्ष ओलीले बैठकमा राखेको मन्तब्यको पूर्ण पाठ यस्तो छ –

पार्टी सचिवालय बैठकको अध्यक्षताका क्रममा सम्बोधन
३ मंसिर २०७७

कमरेडहरु !
आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौं ।

म एक दुईवटा कुरा राखौं । अस्तिको बैठकमा केही कुराहरु जस्तोकि बैठकको एजेण्डाको रुपमा होइन, पत्राचारका रुपमा, जस्तोकि पाँच जना साथीहरुले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो । त्यसमा गम्भीर आरोपहरुसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ । तर, ती आरोपहरु अनुत्तरित हुन पनि सक्दैनथे । मैले त्यसको जवाफ किन दिनुप¥यो ? वास्तवमा ती आरोपहरु सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण थिए, तिनको बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो ।

त्यसकारण मैले व्यक्तिगत तवरमा नै अगुवाई उहाँको भएको हुनाले अर्का अध्यक्षलाई पत्र लेखें । र, त्यस पत्रको जानकारी बोधार्थका रुपमा पत्र बुझाउन आउने साथीहरुलाई त दिएँ नै, अरु साथीहरुलाई पनि जानकारीका लागि दिएँ । त्यसको प्रत्युत्तरमा चाहिँ अर्को ७ पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो । त्यसको जवाफ मैले दिएको छैन । स्वभाविक रुपमा त्यसको पनि उचित जवाफ दिनुपर्ने छ ।

त्यसबाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरु सदस्यहरुलाई पनि बाड््नु भयो । त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ । एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन । त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला, तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो ।

अरु साथीहरुलाई पनि वितरण गर्नुभयो । तर, त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । त्यसलाई विधिसम्वत प्रस्ताव भन्न मिल्दैन । तर, त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ । त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखवारबाजी गरियो । यसो गर्नु उचित भयो कि भएन ? केही मतलबको कुरा भएन । अखवारबाजी गर्नका लागि समेत त्यसो गरिएको थियो र त्यसमा केही साथीहरुको संलग्नता र सहमति भएको पनि जानकारी भयो । त्यसो भएर यो विषय धेरै गम्भीर छ ।

यो पनि पढ्नुहोस् ...  कस्मिर घट्नाबारे मेरो धारणा

मैले अस्ति दुई जना कमरेडहरुलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँग कुराकानी गरेँ र भनेँ कि यसको छिनोफानो नभइकन, यी आरोपहरुसहित, यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन । यी आरोपहरु या त त्यसबाट बदर हुनुप¥यो, तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ । त्यसो होइन भने सदर हुनुप¥यो र ती पदहरु र ती जिम्मेवारीबाट हट्नु प¥यो ।

यो हटाउने माग त पहिलेदेखि आएकै थियो । तर, यसपटक हट्ने आधारहरु यी हुन्, यसकारण हट्नु पर्छ भन्ने कुरा पनि आएको छ । पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन । तर त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ । त्याग भन्ने शब्द त्यहाँ राखिएको छ । यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ । यो आरोप या त सदर ठहरिनु प¥यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नु प¥यो । यो आरोप सही ठहरिंदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनु प¥यो, यसको जवाफदेही लिनुप¥यो ।

अब बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्ममत छ, के छ, कसको कस्तो छ भन्ने कुराहरु खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन । अब यसमा जानुपर्ने हुन्छ । यसको मैले एउटा जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्नका लागि मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।

यो पनि पढ्नुहोस् ...  प्रधानमन्त्रीको सम्बोधन, ‘नेपाल कहिल्यै हारेन, हार्दैन’

अर्को कुरा मैले एउटा भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ । त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? विधि पद्धतिका कुरा के हुन्छन् ? संगठनात्मक सिद्धान्तका कुरा के हुन्छन् ? त्यसमा एकपटक विचार गर्ने हो कि ? किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ ।

अर्को कुरा के हो भने, अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, सम्झदारीहरुको त त्यसैले अन्त्यको घोषणा ग¥यो । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन । अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ । म चाहन्छु मिलेर जाऔं, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई एकताबद्ध राख्न सकियोस् ।

म के भन्न चाहन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ । लडेर पार्टी बच्दैन, जालझेल र तिकड्म गरेर पार्टी बच्दैन । गुटबन्दी गरेर पार्टी बच्दैन । सबै कुराहरुमा पछि छलफल गरौंँला । आजचाहिँ म त्यो लाञ्छनापत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोपहरु, अभियोगहरु, लाञ्छनाहरु, तिरस्कारहरु, अपमानहरु सबैलाई खारेज गर्छु । र, यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई म पूर्ण रुपमा अस्वीकार गर्छु । त्यसको यथोचित जवाफ म लिखित रुपमा नै प्रस्तुत गर्नेछु ।

मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पु¥यायो भनेर माधब कमरेडलाई भनेँ । उहाँले अँ धम्काउने ? धम्काएर कोही डराउँदैन भन्नु भयो । अब डराउने खालको त यहाँ कोही छजस्तो लाग्दैन । माधब कमरेड मात्रै नडराउने होइन, अरु पनि कोही डराउलानजस्तो लाग्दैन । कोही पनि डराउदैनन् । यस्तै राजनीति गरेर आएका मान्छेहरु कोही डराउलानजस्तो लाग्दैन । तर सबै सुरैसुरा हुँदाखेरि सुरैचाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ र कति हुँदैन ? फेरि पनि विचार गर्न मेरो आग्रह छ । अहिलेचाहिँ अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले र निष्कर्ष निस्किनु पर्छ त्यसो नगरिकन अगाडि जान सकिदैँन । यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफपत्र पनि तयार भइसकेको छैन ।

यो पनि पढ्नुहोस् ...  लगानी सम्मेलनमा बाबुरामको आग्रह, ‘शितयुद्धकालीन धङधङी त्यागौं, भिक्षा माग्न पनि छाडौं’

मैले त्यो पत्र मसिनोगरी हेर्नुपर्ने आवश्यकता छ । र, यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु । मैले पहिलेदेखि भन्ने गरेको छु, यो धम्काएको होइन । तर यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरु जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, शायद अरु कसैको थिएन । कहिल्यै कसैले यस्ता आरोपहरु लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ । त्यो पत्र जुन मैले देखेको छु, त्यसमा जुन भाषा प्रयोग भएको छ, त्यसमा जुन आरोपहरु लगाइएका छन् र जुन लाञ्छनाहरु लगाइएका छन्, ती हल्काढंगले लगाइएको रुपमा मैले लिएको छैन । यो अवश्य नै अत्यन्त गम्भीरतापूर्वक लगाइएको छ । राजनीतिमा जुनसुकै कुरा आइपरे पनि सहन हुनुपर्ने नै हुन्छ ? म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु । लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु । ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन । त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीहरुले कुन बाटोबाट जाने च्वाइस गर्नुस् ।

अँ, त्यस्ता झुठा र निकृष्ट लाञ्छनाहरु मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ । तसर्थः आज बैठक अगाडि बढ्न सक्ने देख्दिनँ । म त्यसमा बहस गर्न अहिले तयार छैन, किनभने मेरो तयारी नै पुगेको छैन, बुँदाहरु पुगेका छैनन् भन्ने कुराहरु त भनिसकेको छु । त्यसमा फेरि थप के भन्नु छ र ? त्यसमा अरुको पानी चित्र त देखेको छु नि ! त्यसमा त यसो हेर्दाखेरी पानी चित्र त आउँछ नि ! मैले कुरा गरेको छु र सबै सुनेको छु नि ! अहिलेलाई यत्ति नै ।

धन्यवाद ।