२९ कार्तिक २०७७, शनिबार

‘कमरेडहरु रोइलो नगरौँ, अध्यक्ष कमरेडको प्रस्ताव पार्टी एकताको पक्षमा छ’

सुर्यमान दोङ ‘लालध्वज’ सुर्यमान दोङ ‘लालध्वज’ २९ कार्तिक २०७७, शनिबार
4.4kViews
1279 Shares

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावको विषयमा अहिले बहस भइरहेको छ । म यही विषयको वरिपरी रहेर आफ्ना धारणाहरु राख्न चाहन्छु ।

कमरेडहरु, हामीले भन्दै आएका छौँ, तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले फरक राजनीतिक सँस्कार र प्रक्रियाबाट शान्तिपूर्ण राजनीतिमा स्थापित बनेको पार्टी हो । दुवै पार्टी र त्यसका नेतृत्व र कार्यकर्ताबीच फरक विशेषता र भिन्न अभ्यास हुन सक्दछ । तर, पार्टी एकताको क्रममा अझ संयुक्त पार्टी निर्माणपछि दुवै पार्टीका नेता र कार्यकर्ताहरुबीच भावनात्मक र संगठनात्मक एकता हुनेमा हामी विश्वस्त थियौँ ।

समयक्रम वित्दै जाँदा घट्नाक्रमलाई हेर्दै जाँदा हामीले जुन स्पिरिटका साथ पार्टी एकताको काम सम्पन्न हुन्छ भन्ने सोचेका थियौँ, त्यो पूरा हुन नसकेको कुरा यथार्थ हो । त्यसमा कसको दोष कति छ ? समीक्षा हुने नै छ । त्यति मात्रै होइन, झण्डै दुई तिहाई नजिक मत प्राप्त हाम्रो पार्टी नेतृत्वको सरकारले पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेकै हो । सरकारी नियुक्तिको कुरा होस्, मन्त्रिपरिषद् हेरफेरको कुरा होस्, या सरकारका मन्त्रिहरुबाट भएको भ्रष्टचारकै कुरा किन नहोस्, यी सबै विषयमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष कमरेड केपी ओली स्वेच्छाचारी देखिनुभएको विषय साँचो हो, यो कसैले लुकाएर लुक्ने विषय होइन÷थिएन ।

यो पनि पढ्नुहोस् ...  ‘नेकपालाई दुईतिहाई बहुमत हिजोका राजा–महाराजा र कांग्रेसीहरुले दया गरेर दिएको होइन’

पछिल्लो केही समयदेखि नेकपामा देखिएको विवाद अध्यक्ष कमरेड ओलीको स्वेच्छाचारीका कारण उत्पन्न भएको कुरा घामजतिकै छर्लङ्ग छ । सकेसम्म पार्टी बैठकबाट भाग्ने, बैठक सहमतिका साथ सम्पन्न भए पनि निर्णय कार्यान्वयन नगर्ने, सार्वजनिक रुपमै पार्टीका नेताविरुद्ध धावा बोल्ने स्वेच्छिक रुपमा जे मन लाग्यो त्यही गर्न थालेपछि नेकपाको आन्तरिक जीवनमा गम्भिर संकट उत्पन्न भएकै हो । गत साउनमै देखिएको गम्भिर संकट कसोकसो समाधान भएको थियो । त्यतिबेला भएको स्थायी कमिटि बैठकको निर्णय समेत लतार्ने ओली कमरेडको शैलीले पछिल्लो शुक्रबारको सचिवालय बैठकसम्म आइपुगेका छौँ ।

सचिवालय बैठकमा अध्यक्ष कमरेड प्रचण्डले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । यो राजनीतिक प्रतिवेदनको आधार के हो ? अध्यक्ष कमरेड प्रचण्ड यो राजनीतिक प्रतिवेदन पेश गर्नुपर्ने ठाउँमा कसरी आइपुग्नुभयो ? यसको लागि झण्डै २ वर्ष यताको नेकपाभित्रको आन्तरिक जीवनलाई हेरे पुग्छ ।

प्रतिवेदनमा अध्यक्ष कमरेडले लगाएको लाञ्छना, यो त्यो, यस्तो उस्तो भनेर जसरी प्रचार भइरहेको छ, म कमरेडहरुलाई सम्झाउन चाहन्छु, उहाँको प्रतिवेदन कमरेड ओलीको बोली र पत्रजस्तो अशिष्ट र अराजनीतिक छैन । तथ्यहीन र भ्रामक छैन । हामीले समेत देखिरहेको घट्नाक्रमलाई गम्भिर छलफल र समीक्षाका लागि उहाँले उतार्नुभएको छ, यसमाथि अन्यथा कोलाहल मच्चाउनु निरर्थक छ ।

यो पनि पढ्नुहोस् ...  कसरी फसे महरा ?

प्रतिवेदनमा अध्यक्ष कमरेडले लेख्नुभएकैै छ, ‘साँचो अर्थमा माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त मान्ने, समाजवाद उन्मुख जनताको जनवाद हुँदै समाजवादी रणनीति तर्फ अगाडि बढ्ने संगठनात्मक सिद्धान्त र विधि–पद्धति अनुसार चल्ने दलाल नोकरशाही पूँजीवादका विरुद्ध राष्ट्रिय पूँजीको विकास गर्ने, सामाजिक न्यायसहित समाजवादी अर्थतन्त्रको बीउ रोप्ने, नेपाली समाजको ऐतिहासिक विकासक्रम, नेपाली कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको नयाँ वैचारिक संश्लेषण गर्ने स्पिरिटमा पार्टी र देश निर्माणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक छ । म आशा गर्दछु कि कमरेड के. पी. ओलीले प्रमुख रुपमा गम्भीर आत्मसमिक्षा र आत्माआलोचना गर्दै पार्टी एकता र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्याग सहित पहल लिई समुचित योगदान गर्नुहुनेछ ।’

यो निचोडको गाम्भिर्यतालाई समेत नबुझिकन अध्यक्ष कमरेडको राजनीतिक प्रतिवेदन फिर्ता हुनुपर्छ भनेको के हो ? पार्टी बैठकमा प्रवेश गरेको विषयलाई गम्भिर रुपमा बैठकमा समीक्षा गरेर निष्कर्षमा पुग्नुको साटो नेतृत्वमाथि तथानाम गाली गर्नुको कारण के हो ? यो अनुत्तरित प्रश्नबाट कमरेडहरु कति दिन भाग्नुहुन्छ ?

यो पनि पढ्नुहोस् ...  चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणको तरङ्ग

कमरेडहरु,
विषय बैठकमा छ । पार्टीभित्रको समस्या कहाँ छ ? समाधान कसरी हुन्छ ? पार्टीको आन्तरिक जीवन र सरकारमा समेत समस्या किन भइरहेको छ ? अध्यक्ष कमरेड प्रचण्डको प्रस्तावले छर्लङ्ग गरेको छ । म स्पष्ट भन्न सक्छु, अध्यक्ष कमरेडको प्रस्ताव पार्टी एकताको पक्षमा छ, आम नेकपाका देशभरका कार्यकर्ता अनि आम जनताको चाहनाअनुसार छ ।

अब यो प्रस्तावमाथि सचिवालयमा र मातहतका निकायमा गम्भिरतापूर्वक छलफल हुनुपर्छ । जिम्मेवार कमरेडहरुले यसकै लागि आवश्यक दबाब दिनुपर्छ । पार्टीमा कुनै प्रस्ताव आउनेवित्तिकै केके भइयो, या मेरो फलानाको पद नै जाने भयो या अरु ठूलै घट्ना हुने भयो भन्नेजसरी रोइलो गर्न आवश्यक छैन । एउटा जीवन्त पार्टीभित्र बहस हुन सक्दछ, विषय उठन् सक्दछ, यति हुनेबित्तिकै तनाव लिएर बस्ने होइन, तथानाम आरोप लगाउने होइन, त्यही विषयमाथिको बहसमा सहभागी हुने हो । नेतृत्वमाथि धम्की दिने, चेतावनी दिने र तल्लोस्तरको गाली गर्ने शैलीले तपाई हामीलाई कहीँ पुर्याउँदैन, हामी कहीँ पुग्नेवाला पनि छैनौँ ।

म सबै कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔँ, पार्टीमा विधि स्थापना गर्नका लागि आआफ्नो ठाउँबाट योगदान गरौँ ।