राजनीतिक आत्महत्याको बाटो रोज्दै प्रधानमन्त्री ओली

मिन बहादुर सुनुवार ‘सुमन’ २४ कार्तिक २०७७, सोमबार

आज विश्व पूर्ण रुपमा अमेरिकाको राष्ट्रपतीय निर्वाचनले तरंगित छ । विश्वका सबै अखबारमा अमेरिकन चुनाव छाएको छ । र, ३३ करोड अमेरिकन जनताले जो वाइडेनलाई राष्ट्रको ४६ औं राष्ट्रपतिको रुपमा चुनेका छन् । उनी हाल ७८ वर्षका भए । नेपालको हकमा भए वृद्धा भत्ता प्राप्त गर्ने उमेरका हुन्थे । तर, विश्वकै शक्तिलशाली मुलुकको शक्तिशाली र लोभलाग्दो जिम्मेवारीमा उनी निर्वाचित भए । मुखाले, अहंकारी, दम्भी र खरबपती डोनाल्ड ट्रम्पलाई भद्र, नम्र र स्पष्ट भिजन भएका निकै पाका बुढाले मज्जाले पछार्न सक्षम भए । त्यसकारण, यो जीत उमेरको जीत होइन् । यो जीत स्पष्ट विचारको हो । र, त्यत्रो विशाल राष्ट्रमा वाइडेन रहरले होइन, आवश्यक्ताले जन्माएको नेतृत्व हो । स्पष्ट विचार अनि सही व्यवहार छ भने कुनैपनि काम गर्न उमेरले छेक्दैन भन्ने प्रमाण अमेरिकन चुनावे छर्लङग पारेको छ । तर, व्यक्तिको स्वास्थ्य र विचार भने ठीक हुनुपर्छ ।

अब यही परिवेशमा नेपालको राजनीतिलाई हेरौं । अहिले सत्तारुढ दल नेकपाभित्रको विवाद पार्टी विभाजनसम्मको विन्दुमा छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर छन् भने प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीसँगै महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा बादल अर्कातिर छन् ।

आजभोली पाँच भाई अर्का एक भाईसँग भिडिरहेका छन् । कतै प्रधानमन्त्री ओली सुध्रिन्छन र बिगिँदै गरेको पार्टीको छवीमा सुधार होला कि ? भन्ने आशयले सचिवालय बैठक बोलाउन पाँच भाईले निकै नम्र र भद्र तरिकाले लिखित माग गरेका छन् । तर ओलीले वास्ता गरेका छैनन् । र, पार्टी विधि–पद्धतिमा चल्नुपर्छ भन्ने कुरा यी पाँच नेताले विगतदेखि नै उठाउँदै आएका छन् ।

तर, हामीलाई थाहै छ, ती एकभाई अथवा प्रधानमन्त्री ओली निकै मुखाले छन् । उनको अहंकार र दम्भ पनि ट्रम्पको जस्तै देखिन्दैछ । ट्रम्पले भन्थे म डोनाल्ड ट्रम्प, अमेरिकन फस्र्ट । यता प्रधानमन्त्री ओली भन्छन् म केपी ओली, म फस्र्ट । मेरो सरकार फस्र्ट । तर, के काममा फस्र्ट ? यसरी बुझ्न खोज्दा पनि ट्रम्प भन्दा एक कदम अगाडि बढेर आफ्नै सहयात्रीलाई सरकार गिराउँने दुश्मनको पगरी भिराउन समेत पछि परेनन् ।

सरकार पार्टीले बनाएको हो । र, ओली पार्टी भित्रको एउटा नेतृत्व मात्र हो । तसर्थ, सरकारको केही महत्वपूर्ण निर्णयहरु पर्टीको सहमतिमा हुनु पर्दैन ? प्रधानमन्त्रीले आफ्नो कार्य विना हस्तक्षेप गर्न पाउँछ । तर, सारथीहरुसँग सल्लाह लिनुपर्दैन र ? सरकार सञ्चालनमा प्रधानमन्त्री ओली मनोमानी तरिकाले अगाडि बढिरहेको छ । आफ्नो खल्तिका मान्छेलाई लोभलाग्दो जिम्मेवारी बाड्दै छन् । जसले हिजो एउटा सिन्को भाँचेका थिएनन् । कहिले पार्टी फुटाउन विध्येक पास गरेको छ । अर्को कुरा रअका प्रमुखलाई रहस्यमय तरिकाले भेट गरे । जुन निकै विवादस्पद बन्न गयो । तर, पार्टीका अन्य नेतृत्वलाई सरकार गिराउने भारतीय दलाल भन्दै बद्नाम गरेका होइनन् र ? आफुलाई असली राष्ट्रवादी भन्ने आफै रअलाई लुकेर भेट्ने ? के रअले कहिल्यै नेपाल राष्ट्रको अखण्डता, सम्वृद्धि र हीत सोच्न सक्छ ? जुन भेट रहस्यमय छ । त्यसैले, यो भेट दालमा कुछ काला हे ।

त्यसरकारण, यी अनेकन मनोमानी प्रदुषि खेलहरुले प्रधानमन्त्री ओलीको सरकार आज बद्नाम छ । यो सरकारले षड्यन्त्रको जालो मात्र बुन्ने काम ग¥यो । यसले नेकपा र नेपाली जनताले सोचेको प्रगति किमार्थ गर्न सकेन । सरकारले हावा गफ र षडयन्त्रमा नै आफ्नो आयु छोट्याउँदै छ — बहुमुल्य समय बर्बाद ग¥यो । तसर्थ, प्रधानमन्त्री ओलीका अनेकन गलत हर्कतलाई सच्याएर अगाडि बढ्न पार्टी सचिवालयका पाँच भाई प्रधानमन्त्रीलाई भेट्न गए । तर, अहंकारले भरिएको मान्छे पो त । खबरदार ! म विना पार्टीको वैठक बसौला । वैठक बसेमा त्यो नै पार्टी विभाजनको कारण बन्ने छ । त्यहाँ बहुमत होस वा अल्पमत । केही फरक पर्दैन । त्यहाँ केपी ओली हुनुपर्छ । किनकि म केपी ओली । म सरकारप्रमुख । म नै शक्तिशाली पार्टी अध्यक्ष, अरु नाम मात्रको अध्यक्ष । म नै पार्टी, म नै विधि–पद्धति । म दुई तिहाई मतको प्रमुख शक्ति , अरु भुराभारी । हेरौंला, तिमीहरु सबै एकातिर म एक्लै अर्कोतिर । तरपनि जीत मेरो हुनेछ । कथमकदाचित म अल्पमतमा भए पार्टी फुटाइ दिन्छु । ल त हेरौं कसको बाउको तागत छ ?

प्रधानमन्त्री ओलीका यी अनेकन जाल झेल छन् । कहिले प्रचण्ड नजिक त कहिलो माधव नेपाल नजिक । प्रचण्ड र ओलीलाई नै कहिले पार्टी अध्यक्ष त कहिले भावी प्रधानमन्त्रीको आश्वासन बाढ्दै छन् । तर, ओलीको आश्वासनमा विश्वास छैन । यो कुरा यी दुबै पात्रले नबुझेको भने होइनन् । प्रधानमन्त्री ओली आफुलाई शक्तिको मुल केन्द्र ठान्छन् । र, अरु सबैलाई जसरी सूर्यको वरिपरि अन्य ग्रहहरु घुम्छन् , त्यसरी नै बाँकी सबैलाई आफ्नो वरिपरि घुमाउँछु र सक्छु भन्ने ठान्छन् । त्यो भ्रम मात्र हो । किनकि ओलीको आफ्नो गती छैन । त्यो देखिएन । आफ्नो विचार पनि छैन । जुन विचारमा गुरुत्वकर्षण शक्ति देखिएन । त्यसकारण, वैचारिक रुपमा गुरुत्वकर्षण शक्ति छैन भने अरुलाई आफ्नो वरिपरि घुमाउँन असम्भव छ । यो विज्ञानले प्रिमाणित गरेको विषय हो ।

हुदाँ-हुदाँ प्रधानमन्त्री ओलीको अर्को हासउठ्दो तर्क छ । आफु नभए नयाँ र युवालाई नेतृत्व । आफु भएसम्म ‘म’ नै अनि ‘म’ मात्र । आफु नभए युवा । नेतृत्व भन्ने कुरा आवश्यक्ताले जन्माउँछ । नेतृत्व कसैको रहर र कसैको सदसयता अथवा कृपाले हुन्न । जुन कुराको प्रमाण भुमण्डलीकृत साम्राज्यवादी शक्तिशाली मुलुक अमेरिकाको राष्ट्रपति जो वाइडेन भए । जो ७८ वर्षीय व्यक्ति हुन् । उनी उमेरले युवा होइनन् । त्यसकारण, उमेरले नेतृत्व चुन्ने र बन्ने होइन । ऊसँग सही विचार छ वा छैन । विचार र व्यवहारको तादम्यता छ वा छैन । तसर्थ , असल नेतृत्व सही विचारले हुने हो । यदि सही विचार र व्यवहार छैन भने धेरै युवाहरु पनि प्रमुख नेतृत्वबाट गुमनाम भएका छन् ।

तसर्थ, प्रधानमन्त्री ओलीमा वैचारिक संकट देखिएको छ । वैचारिक रुपमा नै नेतृत्व संकटग्रस्त भएमा पार्टी र जनताको लागि काम गर्न सक्दैन । त्यसता व्यक्तिले झन एकता र सामुहिक भन्दा गुट र फुटको राजनीतिको विकास गर्न सक्छ । वैचारि रुपमा नै पतनउन्मुख र स्वास्थ्यले पनि साथ नदिरहेको अवस्थामा मुलुकलाई सम्वृद्धिको यात्रामा अगाडि बढाउँन सक्दैन । त्यसकारण, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष भुमिकाबाट बिदा लिनु पर्छ । यस विषयलाई निष्कर्षमा पु¥याउँन नेकपाले अब बेर गर्न हुन्न । अब पार्टीले बोल्ड निर्णय गर्न सक्नुपर्छ । यदि पार्टीको निर्णय मान्दिन । र, पार्टी फुटाउन प्रधानमन्त्री ओलीले दुस्साहस गरेमा त्यो उनको लागि राजनीतिक आत्माहत्या हुनेछ । किनकि फुट र विघटनको राजनीतिले पार्टी सिधिएका छन् — पार्टी, जनता र राष्ट्रको भलो भएको प्रमाण अनि इतिहास हामीसँग छैन । त्यसकारण, प्रधानमन्त्री अ‍ेलीले पार्टी फुटाएमा जनताले भन्ने छन् , “भिरबाट लडेको भैंसीलाई रामराम भन्न सकिन्छ तर काँध हाल्न सकिन्न ।”

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *