नुवाकोट। कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि नुवाकोटमा निषेशधाज्ञा लगाउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठकले तिहार केन्द्रीत गरी निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको हो ।
कोरोना संक्रमणको जोखिम भएकाले धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रममा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ ।
यो आदेशसँगै यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको हो ।
निषेधाज्ञाको समयमा स्वास्थ्य मापदण्ड अपनाई बजार क्षेत्र खुला राख्ने, सवारीहरु चल्न पाउने आदेशमा भनिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको बारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।