| Tuesday 6 October, 2020

दशैंको आशिर्वाद, युवराज खतिवडा भएस् !!!

एकातर्फ कोरोनाको महामारी । अर्कोतर्फ दशैंले छपक्क छोप्न लाग्यो । के गर्ने के नगर्ने मान्छेहरु रणझुल्लमा छन् । तरपनि दशै भनेको दशैं नै हो । हिन्दुहरुको सबैभन्दा ठूलो पर्व, जुन गैर हिन्दुहरुले पनि आ–आफ्नो विधी अनुसार मनाउँछन् । र, दशैं बहुसङख्यक नेपालीले मान्ने खानपानको पर्व भनौं । भेटघाटको पर्व भनौं । अनि विजयको पर्व पनि । त्यति मात्र कहाँ हो र, दशैं भनेको आशिर्वाद थाप्ने र दिनेको पनि पर्व हो । पहिला पहिला आफुभन्दा ठूला बडाकोमा टीका अनि आशिर्वाद थाप्दा ज्ञानी बनेस् । ठूला मान्छे बनेस् भन्ने चलन थियो । हिजोआज आशिर्वाद दिने त्यो परम्परा, त्यो थालनी विलकुल रुपमा उलटपुलट हुँदैछ । बदलिन्दै छ । त्यो विरासत तोडिन्दै छ ।

यसरी आशिर्वाद थापेर विरासत तोड्ने कृतिमा महान मान्छेको प्रसङग जताततै छापिएका छन् । पोखिएका छन् । अनि अनेकन स्थानहरुमा पनि रङगिएका छन् । उहाँ हुनुहुन्छ युवराज खतिवडा । जसले पञ्चायत, राजतन्त्र अनि गणतन्त्रसम्मका स्वाद र लाभ लिएका छन् । राजाको शासन अनि कम्युनिष्टको सरकार हुँदा पनि फाइदा लिन सफल व्यक्ति । अनेकन व्यवस्थामा पनि घुलित हुन सक्ने अनि निश्ति मान्छेलाई खुशी पार्न सक्ने कलाको धनी व्यक्तित्व । हो , उनको यही जबरजस्त विशेषता भएको हुँदा एकसाएक नेतृत्वलाई किनारामा धकेल्दै उनी अर्थमन्त्री भए । एक्कासी बैशाख १२ को भुकम्पको जस्तै ठूलो धक्का बनेर अर्थ मन्त्रालयमा एपिसेन्टर बनाउँन सफल भए । सबै जिल्लाराम भए । माक्र्सवादी अर्थतन्त्र अथवा समाजवादी अर्थतन्त्रका रटान लगाएका, असिमित ज्ञान थुपारेका साथै धेरै प्रवचनका खानी भएका ती अर्थशास्त्रीहरु अनि अर्थविदहरु नै ट्वाँ भए । राजनीतिमा नाम नै नसुनेका एउटा जावो कर्मचारी रातारात अर्थमन्त्री भए ।
तर, पार्टीको संगठन निर्माणमा आफ्नो जवानी, क्षमता र परिश्रम अटुट रुपमा लगानी गरेका व्यक्तिहरुलाई पाखा लगाइयो ।

समाजलाई सामाजिक, राजनीतिक र आर्थिक रुपमा रुपान्तरण गर्न पार्टीमा अहोरात्र खट्ने त्यो ज्ञान र शक्तिको बेवास्ता गरियो । आफ्नो पार्टीको मुद्दालाई स्थापित गर्न संघर्ष, आन्दोलन अनि क्रान्तिमा होमिएका समाजशास्त्री, अर्थशास्त्री अथवा अर्थविदहरु कोही पनि अर्थमन्त्री बन्न लायकका रहेन्छन् । मानौं क्षमतावान थिएनन् । कोही फेला परेन – केवल युवराज खतिवडा मात्र विज्ञ अनि योग्य । तर, विज्ञ अनि योग्य खतिवडाले कम्युनिष्ट सरकारको समाजवादको यात्रालाई बुझेनन् । वैज्ञानिक समाजवादलाई जानेनन् । त्यसकारण, उनले शिक्षालाई नीजिकरण गर्न उक्साए । नेपालको शिक्षा प्रणाली सारमा व्यापारीको हातमा थमाइदिए । पूँजीवादीहरुको हातमा सर्वहारा अनि श्रमजीवी वर्गको शिक्षित र दिक्षित हुने अधिकार सुम्पिदिए ।

यसरी पूँजीपति वर्गको भलो चिताउँने खतिवडाको उदय के कारणले भयो ? उनको पार्टीप्रतिको लगाव र जिम्मेवारी के थियो ? अँह, विचराले एउटा सिन्को समेत भाचेका भिएनन् । तर किन यस्तो आकाशीदो उपलब्धी ? यस घटनाक्रमको पार्दुभाव भनेको व्यक्तिवादी सोच हो । पार्टी विधी, पद्धति र नीति भन्दा माथि व्यक्ति अनि उसको स्वार्थ बलियो भएर नै हो । यही कारणले गर्दा पार्टीमा नयाँ वर्गको जन्म हुन्छ , जसको पार्टी प्रति केही भुमिका हुन्न, तर राजनीतिमा टुप्लुक्क आउँछ । सबैलाई पनछाउँन अनि धपाउँन सक्छ । पार्टीको मूल्य मान्यतालाई ध्वस्त बनाउँछ । पैसाले सबैको मुख बन्द गर्न सक्छ । जसले बिस्तारै क्रान्तिलाई निल्छ ।

त्यसो भए यो वर्ग कसको छत्रछायाँमा हुर्कन्छ त ? अवश्य पार्टीको अध्यक्ष अनि कम्युनिष्ट सरकारको प्रधानमन्त्री यसको जवाफदेही हुन् । जसले युवराज खतिवडा अनि कोमल वलीलाई यो र त्यो बाहानामा मन्त्री र सभासद बनाए । यसता धेरै पात्रहरु छन् । जसले जनताको लागि समाजवाद उन्मुख अर्थतन्त्रको प्रणाली बसालेनन् । जसले हिजो जनताका समाचारहरु कहिल्यै पनि वाचन गरेनन् । नेपाली समाजको सामाजिक, आर्थिक अनि राजनीतिक रुपान्तरणमा योगदान गर्ने बामदेव र कुलमन जस्ता व्यक्तित्वहरु पछाडि पार्छन् । अनि जसको हिजो शाही परिवारसँग साँठगाँठ थियो । आज उनीहरु नै सबैभन्दा बढी सर्वहारावादी अनि क्रान्तिकारी । हो , यो नै हो नयाँ वर्ग ।

त्यसकारण, यही नयाँ वर्ग वा अवशरवादीहरुले अनेकन तिक्कडम रच्दै कम्युनिष्ट नेतृत्वबाट अवसर कुम्लाउँछन् । यो घटना देखेर एउटा सच्चा कम्युनिष्ट कार्यकर्ताको मन कस्तो होला ? युवराज खतिवडा एउटा नयाँ वर्गका उद्दाहरण हुन् । जसले हिजोका दिनमा कम्युनिष्ट पार्टी भित्र रहेर संघर्ष र क्रान्ति विलकुल गरेनन् । तर आज उसैले अर्थमन्त्रीबाट हट्न साथ चौबिस घण्टा नबित्दै प्रधानमन्त्रीको सल्लाहाकारमा राजनीतिक नियुक्ति पाए । त्यतिमात्र कहाँ हो र प्रधानमन्त्रीको सल्लाहकार भएको केही दिन नबित्दै अमेरिकाको राजदुत बन्न सफल भए । त्यो पनि खतिवडाको लागि राजनीतिक नियुक्ति नै हो । आखिर उनीमा खास त्यसतो के छ , जुन अरुसँग छैन् ? के युवराज खतिवडा प्रधानमन्त्री ओलीका प्रिय पात्र भएर होइन त ? आज जताततै युवराज खतिवडाको हालीमुहाली छ । मन्त्रालय देखि अमेरिकाको राजदुतसम्म । कुन नियुक्ति खानु अनि कुन छोड्नु । जताततै भयाई नभ्याई । खतिवडालाई निकै मुस्किल छ ।

आज युवराज खतिवडाले नेपालको राजनीतिमा एउटा जबरजस्त बर्चसो स्थापना गरेको जनताले देखेका छन् । अनि निकै आकार्षक र लोभलाग्दो पदमा खतिवडाको हालीमुहाली र भ्याय नभ्याइको स्थिति देखेर सर्वसाधरण जनता युवराज खतिवडाप्रति लोभिएका छन् । उनको पद र नियुक्तिमा आँखा लगाएका छन् । त्यसकारण, यसपालीको दशैमा नेपाली नागरिकले आफ्नो सन्तानलाई ‘कर्णसुते ….भनेर होइन युवराज खतिवडा भएस्’ भन्दै आशिर्वाद दिन सक्छन् । त्यो पक्का छ । यसपालीको दशैको आशिर्वाद नयाँ हुनेछ । तर, सच्चा कम्युनिष्ट कार्यकर्ता अथवा शुभचिन्तकले यस्ता खालको गलत हर्कतको जमेर भण्डाफोर अनि खण्डन गर्न आँट गर्न सक्नुपर्छ । यदी गरिएन भने, पार्टी पूरै वुर्जुवाको चरणमा जाने खतरा छ । क्रान्ति भुत्ते हुनेछ ।