| Tuesday 6 October, 2020

रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई आर्थिक तथा पर्यटकिय राजधानी बनाउने निर्णय

काठमाडौं । प्रदेश ५ सरकारले बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको छ । त्यस्तै, रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक तथा पर्यटकीय राजधानी बनाउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेश सभामा मतदान हुँदै छ। काँग्रेसलगायत रुपन्देही संघसंस्थाले विरोध गरेपछि रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई समेट्ने गरी सरकारले आर्थिक तथा पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो ।

बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग जोडिएका क्षेत्र तिलौराकोट, देवदह, रामग्रामलगायत क्षेत्रलाई समेटेर विकास गर्ने उद्देश्यले प्रदेश सरकारले यी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने निर्णय गरेको मन्त्री चौधरीले बताए ।

आज बस्ने प्रदेश सभा बैठकमा अवरोध नभए मुख्यमन्त्री पोखरेलले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने विषयबारेको प्रस्ताव संसदमा पेस गर्नेछन्।