| Tuesday 6 October, 2020

प्रदेशसभाबाट नाम र राजधानी प्रस्ताव पारित भए नेकपानिकट २ हजार बढी उद्योगीले राजीनामा दिने घोषणा

काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रस्ताव प्रदेशसभाबाट पारित भएर २२ सय ४९ नेकपानिकट उद्योगी, व्यवसायीले सामूहिक राजिनामा दिने घोषणा गरेका छन् । मंगलबार बुटवलमा एक कार्यक्रम आयोजना गर्दै उनीहरुले राजीनामा घोषणा गरेका हुन् ।

राजधानी दाङको भालुवाङ राख्ने निर्णय भएसँगै चौतर्फी विवाद बढेको छ ।

सोही प्रस्ताव जबरजस्ती संसदीय मर्यादा उलंघन गरेर ल्याइएको भन्दै विपक्षी दल कांग्रेसले सदनमा कुर्सी, टेबुल र माइक तोडफोड समेत गरेको छ ।

‘दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानी’ र ‘शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीका रूपमा प्रदेशको नाम लुम्बिनी प्रदेश’ राख्ने प्रस्ताव छलफलका लागि अगाडि बढ्दैगर्दा विवाद उत्पन्न भएको हो । आज दाङ र बुटवलका लागि प्रदेशसभामा मतदान हुँदै छ । नेकपा र कांग्रेसका सांसदहरुलाई पार्टीले ह्विप समेत जारी गरिसकेको छ । नेकपा संसदीय दलले भालुवाङको पक्षमा मतदान गर्न भनेको छ भने कांग्रेसले तयसको विपक्षमा मतदान गर्नका लागि आह्वान गरेको छ ।

तर, कांग्रेसका केही सांसद भने दाङकै पक्षमा मतदान गर्ने घोषणा समेत गरिसकेको छन् ।