| Monday 5 October, 2020

अनलाइन शिक्षाको दक्षिण एसियामा प्रभावकारी कम

काठमाडौं । कोरोना भाइरस प्रभावित युरोपका अधिकांश देशका विद्यालयहरूमा पठनपाठन पुनः सुरु भइसकेको छ । तर दक्षिण एसियाली देशमा जारी प्रतिबन्धहरूका कारण विद्यालयहरू बन्द छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार यस क्षेत्रका करिब ६० लाख विद्यार्थी हाल विद्यालय जानबाट वञ्चित छन् । कोरोना भाइरसको संक्रमण बढेसँगै दक्षिण एसियाका अधिकांश देशमा मार्च तथा अप्रिल महिनाबाट लकडाउन सुरु गरिएको थियो । उक्त समय यस क्षेत्रका अधिकांश विद्यालयहरूमा नयाँ शैक्षिक सत्र भर्खर सुरु भएको थियो ।

भारतका अधिकांश राज्यहरूका विद्यालयमा पढाइ बन्द छ । केही शैक्षिक संस्थाहरूले अनलाइन तथा टेलिभिजन कार्यक्रमका माध्यमबाट पठनपाठन गर्दै आएका छन् । सरकारले कक्षा ९ देखि १२ सम्मका विद्यार्थी आफ्ना अभिभावकको स्वीकृतिमा विद्यालय जान सक्ने जनाएको छ । नेपाल र बंगलादेशले शैक्षिक संस्थाहरू बन्द राख्दै अनलाइन तथा सञ्चारमाध्यममार्फत पठनपाठनलाई निरन्तरता दिँदै आएका छन् । त्यस्तै श्रीलंकामा बन्द विद्यालयहरू गत अगस्टमा खोलिएका भए पनि भाइरसको संक्रमण थप फैलिएपछि पुनः बन्द भएका छन् । पाकिस्तानले भने गत सातादेखि विभिन्न चरणमा विद्यालयहरूमा पठनपाठन सुरु गरेको छ ।

के सबैसँग इन्टरनेटको पहुँच छ ?
यी सबैजसो देशका अधिकांश शैक्षिक संस्थाहरूले अनलाइनमार्फत कक्षाहरू सञ्चालन गर्दै आएका छन् । कतिपयले टेलिभिजन माध्यममार्फत पनि कक्षा चलाएका छन् । तर दक्षिण एसियाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको समस्या छ भने इन्टरनेट सेवा त्यति भरपर्दो छैन ।

संयुक्त राष्ट्रसंघका अनुसार कम्तीमा १४ करोड ७० लाख विद्यार्थी अनलाइन शिक्षाको पहुँचबाहिर छन् । सन् २०१९ को एक सरकारी सर्वेक्षणअनुसार भारतका करिब २४ प्रतिशत परिवारसँग मात्र इन्टरनेटको सुविधा छ । ग्रामीण क्षेत्रको अवस्था झन् नाजुक छ । सरकारी तथ्यांकअनुसार भारतका ग्रामीण भेगमा जम्मा ४ प्रतिशत मानिससँग मात्र इन्टरनेटको पहुँच छ । बंगलादेशमा भने इन्टरनेट सञ्जाल केही राम्रो रहेको छ । बंगलादेशका करिब ६० प्रतिशत विद्यार्थीले अनलाइनमार्फत अध्ययन गर्न सक्ने जनाइएको छ । तर इन्टरनेटको गुणस्तर भने त्यति भरपर्दो छैन । हालैको आर्थिक सर्वेक्षणका अनुसार नेपालका ३० हजारभन्दा बढी सरकारी विद्यालयमध्ये ३० प्रतिशतभन्दा पनि कममा कम्प्युटरको सुविधा छ । करिब १२ प्रतिशत विद्यालयले मात्र अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका जनाइएको छ ।

भरपर्दो इन्टरनेट सेवाको अभावमा कतिपय देशले टेलिभिजन तथा रेडियोका माध्यमबाट पनि अध्ययन–अध्यापन गराइरहेका छन् । भारतको सरकारी टेलिभिजन दूरदर्शनले दैनिक शैक्षिक कार्यक्रम प्रसारण गर्ने गर्छ । त्यस्तै बंगलादेशको सरकारी प्रसारण संगसद टेलिभिजनले पनि विद्यालय शिक्षासँग सम्बन्धित विभिन्न पाठ्यसामग्री प्रसारण गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफका दक्षिण एसिया निर्देशक जँ गफले यस क्षेत्रमा पठनपाठनका लागि यो नै सबैभन्दा सफल तरिका भएको बताएकी छन् । नेपालमा पनि रेडियो तथा टेलिभिजनमार्फत पढाउन थालिएको छ तर आधाभन्दा बढी परिवार केबल टेलिभिजनको पहुँचबाहिर छन् । यी विभिन्न आधारमा हेर्ने हो भने अनलाइन तथा विभिन्न सञ्चारमाध्यममार्फत हुने पढाइ प्रभावकारी देखिएको छैन ।

विद्यालय खोले संक्रमणको खतरा
श्रीलंकामा विद्यार्थीहरू विद्यालय जान थालिसकेका छन् । तर यसका कारण भाइरस संक्रमणको जोखिम थप बढेको बताइएको छ । ‘यहाँ सामाजिक दूरीको पालना भएको छैन । केही विद्यालयमा मात्र मास्क अनिवार्य गरिएको छ,’ सिलोन शिक्षक युनियनका महासचिव जोसेफ स्टालिनले भने । बजेट अभावका कारण अन्य सुरक्षाका उपायहरू अवलम्बन गर्न नसकिएको स्टालिनको भनाइ छ । पाकिस्तानको निजी विद्यालय महांसघले सेप्टेम्बरदेखि विद्यालय खोल्ने सरकारी निर्णयको कडा विरोध जनाएको छ । महासंघले कोरोना भाइरसको परीक्षण र अन्य सुरक्षा निर्देशिका कार्यान्वयन गर्नका लागि सरकारले आर्थिक सहयोग गर्नुपर्ने जनाएको छ । भारतमा पनि विद्यालयमै पठनपाठन गर्ने विषयमा गहिरो चिन्ता व्यक्त गरिएको छ । ‘विद्यालय खुलेसँगै आमाबाबु, गाडी, शिक्षक तथा अन्य सेवा क्षेत्रका मानिसको गतिविधि ह्वात्तै बढ्छ,’ चाइल्ड राइट्स एन्ड यु’ की प्रीति महाराले भनिन् ।

लामो समयदेखि बन्द रहेका कारण अधिकांश निजी विद्यालयहरू आर्थिक रूपमा संकटको अवस्थामा पुगेका छन् । बंगलादेशमा सयभन्दा बढी विद्यालय बिक्री भइसकेका छन् । ‘मैले तलब र घरभाडा दिनका लागि ऋण लिएको छ,’ एक विद्यालय सञ्चालक तकवीर अहमदले भने ।

कतिपय परोपकारी संस्थाले आर्थिक रूपमा संकटपूर्ण अवस्थामा पुगेका विद्यालयलाई सहयोगसमेत गरिरहेका छन् । भारतको प्रथम एजुकेसन फाउन्डेसनकी रुक्मिणी बनर्जीले भनिन्, ‘आफ्नो परिवारका कोही न कोहीसँग मोबाइल भएका बच्चाहरूको सम्पर्कमा पुग्न राज्य सरकारहरूले कोसिस गरिरहेका छन् ।’ विद्यालयले आफूलाई सम्पर्क नगरोस् भनेर केही कतिपय विद्यार्थीले आफ्नो नामसमेत कटाएका जनाइएको छ ।

युनिसेफ दक्षिण एसिया निर्देशक गफले यस्तो अवस्थामा विद्यालय छाड्ने विद्यार्थीको दर निकै बढ्ने बताउँछिन् । इबोला भाइरसको प्रकोप तथा अन्य जोखिमपूर्ण अवस्थासँग तुलना गर्दा पछिल्लो अवस्था अझ भयावह देखिने उनको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।