मलाई भारतका प्रधानमन्त्रीज्युले राष्ट्रिय सुरक्षा परिषद्का सदस्य बनाउनुभयो । अस्तिसम्म चौकीदार हो, बहादुर हो भन्थ्यो नेपालीलाई । भारतको उच्चतम संस्थामा पुग्दा मलाई गर्व लाग्थ्यो (एउटा पर्खाल भत्काई दिएँ भनेर । हामी सबैको ठूलो लक्ष्य पर्खाल भत्काउने हुनुपर्छ । पर्खाल नाघ्ने क्षमता छैन, बलबुद्धि हँदैन भनेर बनेका कृत्रिम पर्खाल, बनावटी पर्खाल एकएक गरी तोड्नुपर्छ । अनि निस्कन सक्छ एकजना तामाङ प्रधानमन्त्री । अर्को एकजना निस्किन सक्छ दलित प्रधानन्यायाधीश । (प्रा. डा. महेन्द्र पी लामा, पाँचौं तामाङ ज्ञान महोत्सबको अवसरमा प्रस्तुत मन्तव्यबाट) ।
झन्डै तीन सय वर्षको सामन्तवादी राज्यसत्ता सञ्चालनको क्रममा अभ्यास गरेको जातजातिमा आधारित राज्यव्यवस्था र सामाजिक संरचनाले हामी सबैमा त्यहीअनुसारको सोच, चिन्तन र दृष्टिकोण निर्माण गराइदियो । कुन पेशा र व्यवसाय अपनाउने ? शासन प्रशासन र राज्य सञ्चालन कसले गर्ने ? को शासक र को जनता हुने ? भन्ने विषयहरुको निर्धारण जातजातिको आधारमा हुन्थ्यो । ती व्यवस्थाले जनजाति, दलित, महिलालगायत उत्पीडित समुदायहरुसामु उनीहरू लेखपढ गर्न जान्दैनन्, शासन प्रशासन सञ्चालन गर्न योग्य हुँदैनन् आदि मान्यताहरूको धेरै बनावटी पर्खालहरू निर्माण गरिदियो ।
विभिन्न समयमा भएको आन्दोलन र विद्रोहद्वारा ती राजनीतिक र सामाजिक प्रणालीहरू परिवर्तन गर्ने प्रयास भइरह्यो । पछिल्लो समयमा जनयुद्ध, जन्आन्दोलन, मधेसी, जनजाति, थारुलगायतको आन्दोलन र संविधानसभाबाट संविधान निर्माण पूरा हुने प्रक्रियासम्म आइपुग्दा असमानताका केही संवैधानिक व्यवस्थाहरूको अन्त्य त भयो, तर लामो समयदेखि स्थापित विभेद्का खाडलहरू पुर्ने र, समान व्यवहार र मानसिकता सहितको समतामूलक समाज स्थापित गर्ने प्रक्रिया निकै चूनौतीपूर्ण नै बनिरह्यो ।
कुलमान घिसिङ रामेछाप जिल्लाको विकट गाउँ बेथान डहु स्थित तामाङ परिवारमा जन्मनुभयो । निकै कठिन र संघर्षपूर्ण यात्रालाई पार गर्दै उहाँले इलेक्ट्रिक इन्जिनियरसम्मको अध्ययन पूरा गर्नुभयो र, त्यही विषयसँग सम्बन्धित विद्युत प्राधिकरणबाट सेवा क्षेत्रको जीवन आरम्भ गर्नुभयो । दैनिक १८ घण्टासम्मको लोडसेडिङजस्ता निकै विकराल ऊर्जा सङ्कट झेलिरहेको अवस्थामा चार वर्ष अघि नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हाल्ने अवसर उहाँलाई प्राप्त भयो । उहाँले उक्त जिम्मेवारी सम्हाल्नुभएको केही महिनामै कसैले विश्वासै गर्न नसकिने गरी लोडसेडिङको अन्त्य भयो । उहाँकै कार्यकालमा अरबौ घाटामा रहेको प्राधिकरण नाफामा ल्याउने, विद्युत चुहावट प्रभावकारी नियन्त्रण गर्ने, व्यापक विद्युतीकरणमार्फत् सबै जनतामा विद्युतको पहुच स्थापित गर्नेलगायत निकै राम्रा कामहरू सफलतापूर्कक अगाडि बढाउनुभयो ।
कुशल व्यवस्थापकीय क्षमता र बलियो प्रतिबद्धता, ऊर्जा क्षेत्रको राम्रो जानकार, राजनीतिक नेतृत्वको साथ सहयोग र आम जनताको भरोसायुक्त समर्थनले नै यस्तो चुनौतीपूर्ण कार्यहरूमा सफलता मिलेको भन्न सकिन्छ । तर प्राधिकरण सन्चालनको मुख्य जिम्मेवारीमा रहनुभएको नाताले मुख्यतः उहाँकै कुशल व्यवस्थापकीय क्षमताको कारणले यी सबै कामहरु सम्भव भएको हो भन्ने यथार्थ स्पष्ट छ ।
अहिले कुलमान घिसिङप्रति सबै जनताको साथ, समर्थन र विश्वासलाई हेर्दा उत्पीडित समुदायसामु निर्माण गरिएको एउटा कृत्रिम पर्खाल आम जनताले ढालिदिएका छन् । उनीहरु शासन प्रशासनमा कमजोर हुन्छन्, क्षमता राख्दैनन्, योग्य हुँदैनन भन्ने पुरातनवादी सोचको पर्खालहरु जनताहरुले भत्काउँदैछन् । शासकहरूको तहमा चाहिँ अझै पनि उहाको क्षमतालाई स्विकार्न निकै कठिन भइरहेको देखिन्छ र अरू कुनै वा कसैको कारणले सफलता मिलेको भन्न रुचाउँछन् । तर त्यसो हो भनेर कसैले विश्वास गर्दैनन् र जनताको तहबाट सबै नेपालीहरू खसआर्य, आदिवासी जनजाति, महिला, मधेसी, दलित सबैले उहाँको क्षमताको अनुमोदन गरेकोछ । यही दृस्टिकोणको जग उभिएर हामि बीचको कृतिम पर्खालहरु एक एक गरि ध्वस्त पार्दै समतामूलक सम्रिद्द समाज निर्माणको दिशामा सबै जनता एक भएर अघि बढ्नुपर्दछ । –लेखक अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।