| Wednesday 16 September, 2020

भूकम्पको धक्कालेभन्दा कुलमानको बिदाईले जनता दुःखी अनि त्रसित छन्

आज बिहानै भूकम्पले ठूलो धक्का दियो । नेपाली जनताले २०७२ को भूकम्पलाई बिस्तारै भुलिसकेका थिए । किनकी भूकम्पको डर, त्रास अनि दुःखलाई जनताको अनेकन पीडाहरुको मलमपटिले ठिक गरिसकेको थियो । तर, एकपटक फेरी विहानीको अकल्पनीय र शक्तिशाली धक्काले सिन्धुपालचोक लगायत अन्य जिल्लाहरुमा मानिसलाई त्रसित बनायो, डरले मानिसहरु कराउँदै घर बाहिर हतासमा निस्किए ।

तर, भूकम्पको आयतन भने नेपालको केही जिल्लामा मात्र सिमित थियो । यसरी भूकम्पको धक्का अनि संत्रास सँगसँगै नेपाली जनताले अर्को एउटा धक्का साँझमा नै नराम्रोगरी खाइसकेका थिए । जुन धक्का भने भूकम्पको नभई कुलमान घिसिङको बिदाई थियो । जसको कम्पनको आयतन नेपाल सहित नेपाल बहिरसम्म फैलिएको थियो — जहाँ नेपाली बसेका र पुगेका छन्, त्यहाँसम्म कुलमानको बिदाईको पराकम्पन पुगिसकेको थियो ।

कुलमानको बिदाइले सिर्जित पराकम्पन सिङ्गो नेपाली समाज लगायत नेपाली डायसपोराहरुसम्म प्रकाशको गति भन्दा वेगले झैलियो । जुन घटनाले मानिस अचम्ममा परे र दुःखि भए । अनि त्यही घटनाले मानिसको मस्तिकमा विभिन्न विचार र प्रश्नहरु जन्मायो । किन कुलमान घिसिङ विधुत प्राधिकरणको निर्देशकबाट बिदाई गरियो ? किन उसलाई दोस्रो पटक पनि उक्त जिम्मेवारी वहन गर्न दिइएन् ? यसका पछाडि केके कारण र घटनाहरु छन् ? के कुलमानले राम्रो काम गर्न नसकेको हो ? के उज्यालो नेपाल राष्ट्र र जनताको लागि घाँडो भएको हो ? के कुलमानले पैसाको चाङग थुपार्दै अरुलाई नदिएको हो? के कुलमानले गाडी र घर कसैलाई नबाडेर हो ? यी प्रश्नहरु अनुउत्तरीत छन् —उत्तरबिनाको प्रश्नहरु यत्रतत्र छरिएका छन् ।

त्यसकारण, आज सम्पूर्ण नेपाली कुलमान उक्त जिम्मेवारीमा पुर्ननियुक्त होस् भन्न चाहान्छन् । जनताले विलकुल कुलमानलाई चाहेकै होइन् । जनताले कुलमानको निर्दोष अनुहार, खैरो निलो अनि चम्किलो छाला अनि उसको बुच्चे नाँक मनपराएर कुलमान घिसिङ मनपराएको होइन् । जनताले कुलमानको इमानदारीता, योगदान अनि कामप्रतिको सम्र्पणलाई मनपराएका हुन् । र उनलाई भुमिकामा पुर्नचाहेका छन् । किनभने मुलुकमा राष्ट्रभक्त र जनसेवक कर्मचारीको ठूलो खडेरी छ । करोडौं र अरबौं घोटालाले मन्त्रालय वषौंदेखि दुर्घन्दित छन् । एकएकगरी दुर्घन्दित सरकारी कार्यलय तथा मन्त्रालयहरु सफा गर्नु छ । सर्वविदितै छ, भ्रष्ट्र कर्मचारीको संजाल नेपाल राष्ट्रको सामाजिक, आर्थिक र राजनीतिक रुपानतरण र सम्वृद्धिका लागि ठूलो घाँडो भएको छ । सरकारको नीति, कार्यक्रम र समाजवादको उद्देश्य अनुसार तिनीहरु वेगले अगाडि बढ्न सकेको छैन् । त्यसैले, चाहेर पनि सम्वृद्धिले छलाङग मार्न नसकेको अवस्थामा कुलमानको वहिर्गमनले भ्रष्ट कर्मचारीको आत्मवल ह्वात्तै बढ्ेको छ । तसर्थ, सरकारले जनताको आवाजलाई सुन्नुपर्छ ।

के कुलमानको ख्याती र प्रसिद्धिबाट खोपीका महावलीहरु डराएका हुन् त? के कुलमानले मन्त्री अथवा प्रधानमन्त्रीलाई चुनौती दिएका हुन् ? के कुलमानले सरकारको विरुद्धमा विपक्षीसँग साँठगाँठ गरेका छन् ? के कुलमानले सरकारको निर्णयलाई लात हानेका हुन् ? पक्कै पनि होइन् । यसको अन्तर्य पौराणीक मिथ मानव र देवता इन्द्रबीचको द्वन्द्व जस्तै छ । मानवले आफ्नो कठिन तपस्याको वलमा देवत्व ग्रहण गर्न चाहन्छ , जुन इन्द्रलाई मन पर्दैन । किनकि एउटा सामान्य मान्छे देवता बन्न खोजेको उसलाई मन पर्दैन् । नाथे एउटा साधारण मनुवा देवता बन्ने ? त्यो कतै सुहाउछ ? देवका राजा इन्द्रलाई त्यो कुरा मनपर्दैन् । ठीक त्यस्तै, कुलमानको प्रसिद्घिदेखी महावलीहरु डराएका हुन् त? यदी त्यसो होइन भने र कुलमान सही छन् भने सरकारले उसलाई लात होइन् , विश्वासिलो हात र साथ दिनुपर्छ । के सरकारले आँट गर्नसक्छ ?

वास्तवमा कुलमान केही होइनन् । पक्ष र विपक्ष पनि होइनन् । देवता र राक्षस पनि होइनन् । उनका पक्ष र विरुद्घमा राजनीति गर्नु पनि हुन्न र विपक्षीले एउटा जल्दोवल्दो राजनीतिक नारा बनाएर सरकारको विरुद्घमा सडकमा जनतालाई उचाल्ने र पछार्ने कार्य पनि मनासिव होइन् । उनी एक सच्चा अनि राष्ट्रभक्त कर्मचारी हुन् । त्यसकारण, नेपाल भित्र र वाहिरबाट सबैले कुलमान भन्दैछन् । किनकि देशभक्त कर्मचारीको मरुभूमिमा कुलमान एउटा हरियो विरुवा हो । जसलाई फेदैंमा काटेर ढाल्नु उचित हुँदैहुन्न —जसलाई पानी छर्केर भएपनि बचाउँनुपर्छ । त्यसैले, यदी कुनै राजनीतिक स्वार्थविना जनता कुलमानको पक्षमा आफ्नो आवाजलाई बुलन्द गर्छन भने अनि नारा जुलुस गर्छन् भने । यदी त्यो निस्वार्थ अनि निस्पक्ष छ । त्यो जनपक्षीय अनि राष्ट्र हितमा छ भने यसलाई जसरी बुझे पनि हुन्छ , त्यो राजनीति नै हो भनेर बुझ्दा पनि केही फरक हुन्न् । त्यो दलाल पुँजीवादी सत्ताको विरुद्घमा हो । जसलाई तोडेर वर्तमान सरकार समाजवादमा पुग्न चाहन्छ । जहाँ एउटा यस्तो राजनीतिक व्यवस्था हुन्छ , एउटा सिस्टम हुनेछ । जुन सिस्टममा नेतृत्वको खासै भुमिका हुन्न । किनकि त्यसले आफै जनताको पक्षमा वकालत गर्दछ । जनताको पक्षमा इमान्दारीका साथ काम गर्दछ । तर, आज समाजमा यस्ता स्वचालीत सिस्टम बनाउन अहोरात्र खटेका कुलमानलाई हाम्रो व्यवस्थाले साथ दिइदैछैन ।

हो, त्यसैले आज जनता त्रसित छन् । भूकम्पको डरलाग्दो धक्का अथवा पराकम्पनले होइन् । सरकारले जनताको मनलाई बुझन नसकेर हो । एउटा इमान्दार ,कर्मठ अनि राष्ट्रसेवक कुलमान घिसिङलाई लत्याएर सरकार कदापी बलियो हुँदैन —अजेय हुन सक्दैन् । अनि सरकार निम्छरो भएमा, भुत्ते भएमा हामी काँही पनि पुग्न सक्दैनौं । केही गर्न पनि सक्दैनौं । हामी नेपाली जनताले देखेको सम्वृद्घिको सपना कतै ‘मनको लड्डु’ मात्र हुने त होइन् । जनता यही संत्रासको पर्छाइबाट भयभीत छन् ।

तसर्थ , सरकारले राष्ट्रसेवक कर्मचारीको रक्षा, मर्यदा गर्दै उनीहरुलाई बढी नै जिम्मेवारी दिन सक्नुपर्छ । भ्रष्ट र दलाल कर्मचारीलाई हिजो जंगेले पिठ्युमा टिन झुण्डमएर ठोके झैं गरी नेटो कटाउँन हिम्मत गर्न सकोस् । र, कुलमान घिसिङलाई फेरी काम गर्ने वातावरण मिलोस् । किनभने सम्वृद्घिको यो लामो र संघर्षशील यात्रामा कुलमान जस्ता धेरै अरु कुलमानहरु चाहिन्छ । अहिले कुलमानलाई दुई थुङगा फुल दिएर विदा गर्नु भन्दा उसको काँधमा अझ बढी दायित्व बोकाउन सरकार सफल होस् । त्यसकारण, जनता खुशी हुनेछन् अनि सरकारले पनि सफलताको अर्को पाइलाले दर्होगरी टेक्नेछ ।