गण्डकीमा थप ५० जनामा कोरोना संक्रमण पुष्‍टि, संक्रमितको संख्या ३१६६ पुग्यो

३१ भाद्र २०७७, बुधबार १०:०६ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विहान गराएको जानकारी अनुसार नयाँ संक्रमण पुष्‍टि हुनेमा कास्कीका २९ जना छन् भने गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जना छन् ।

योसँगै गण्डकीमा कुल संक्रमितको संख्या ३१६६ पुगेको छ ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २८ र रुपा गाउँपालिकाका १ गरी २९ जनामा संक्रमण पुष्‍टि भएको छ । पोखरा-४ का नेपाल प्रहरीमा कार्यरत ८ जना पुरुषलाई संक्रमण पुष्‍टि भएको छ । त्यसैगरी पोखरा-११ का ४ महिला र १ पुरुषमा पनि संक्रमण देखिएको छ भने पोखरा-८ का २ पुरुष र १ महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

पोखरा-२७ का ४ जना पुरुष, पोखरा-१५ का दुईजना पुरुष, पोखरा-५, ६ र ९ का एक-एकजना पुरुष तथा पोखरा-१० का एक पुरुष र एक महिलामा पनि संक्रमण पुष्‍टि भएको छ । पोखरा-१ की एकजना महिलालाई पनि संक्रमण देखिएको छ । उनीहरुमध्ये पोखरा-१५ का दुईजना पुरुष पोखरा-६ र २७ का एकएकजना पुरुष गरी चारजना क्‍वारेन्टाइनका हुन् भने पोखरा-१ की महिला पश्चिमाञ्‍चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

कास्कीको रुपा गाउँपालिका-१ का २७ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । उनी इलामबाट आएर क्‍वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।

यता गोरखाको बारपाक सुलीकोट गाउँपालिकाका ८ जना पुरुष तथा भीमसेनथापा गा.पा र गोरखा न.पाका २-२ जना पुरुषमा संक्रमण पुष्‍टि हुँदा शहिदलखनकी एकजना महिलामा संक्रमण देखिएको छ ।

तनहुँको व्यास र घिरिङका गरी ५ जना पुरुषमा संक्रमण देखिएको छ भने बाग्लुङको गल्कोट, बडिगाड र बाग्लुङ न.पामा एक ६ वर्षीय बालकसहित तीन पुरुषमा कोरोना पुष्‍टि भएको छ ।

गण्डकी प्रदेशमा हालसम्म निको हुनेको संख्या १९०२ छ भने सक्रिय संक्रमितको संख्या ११९० पुगेको छ । संक्रमणबाट हालसम्म ३१ जनाको ज्यान गएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार