रोगले जनता आक्रान्त स्वास्थ्य संस्थामा औषधि छैन

३१ भाद्र २०७७, बुधबार ०८:४६ मा प्रकाशित

काठमाडौं। हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको संख्या बढ्दै गएको छ ।

विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको संख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिए ।

गाउँमा हरेक दिन बिरामीको संख्या बढ्दै गएपछि अहिले १५ देखि २० जनामा त्यस्ता रोगाको लक्षणका बिरामी परेको छ । बिरामीको संख्या बढ्दै गएपछि उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको पनि अभाव भएपछि बिरामीलाई थप समस्या भएको कार्कीले गुनासो गरे ।

गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नगएपछि बिरामीलाई थप समस्या भएको हो । थप उपचारका लागि १ बिरामीलाई गत हप्ता जिल्ला अस्पताल सिमकोट ल्याइएको भए पनि उनको ज्यान गएपछि त्रसित भएका स्थानीयले स्वास्थ्यकर्मीको टोली खटाइदिन आग्रह गरेका छन् ।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले समन्वय नगरेका कारण औषधि भए/नभएको थाहा नहुने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । उनापनीका बिरामी र स्वास्थ्य इकाइमा औषधिको अवस्था बुझेर जानकारी गराउने बताए ।

सर्केगाड गाउँपालिका स्वास्थ्य शाखामा औषधि अभाव भएका कारण स्वास्थ्य संस्थामा समेत अभाव देखिएको संयोजक सन्तोष धामीले बताए । केही दिनअघि गाउँपालिकामा पुगेको औषधि दाखिला गरिनसकेको उनले बताए । औषधिको मुचुल्का भएको र दाखिला गरी सबै वडाका स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको धामीले बताए ।रासस

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार