रौतहटको गरुडामा प्रदर्शनकारी र प्रहरी विच झड्प, २ महिलासहित एक दर्जन घाईते

१८ भाद्र २०७७, बिहीबार २०:३४ मा प्रकाशित

रौतहट । रौतहट प्रहरी हिरासतमा मारिएका विजय रामलाई न्याय दिलाउन इलाका प्रहरी कार्यालय गरुडा अगाडी जारी रहेको धर्ना र प्रदर्शनको क्रममा एक्कासी ढुंगामुद्धा हुन थाले पछि प्रहरीले बल प्रयोग गर्दा दुई जना प्रदर्शनकारी महिला र प्रहरी सहित एक दर्जन व्यक्ति घाईते भएका छन् ।

निरञ्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका सात जना मध्ये २१ बर्षिय विजय रामलाई प्रहरीले चरम यातना दिएपछि मृत्युवरण गर्नु परेको घटनाको विरोधमा भदौं ११ गते देखि चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका निरञ्जन राम र विजय राम संयुक्त जिल्ला संघर्ष समितिका कार्यकर्ताहरु विहिवार साँझ ५.३० बजेको समयमा इप्रका गरुडा माथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले आत्मरक्षार्थ लाठी चार्ज तथा अश्रुग्यास प्रहार गरेका थिए ।

प्रहरीको लाठी चार्जबाट अनसनमा बसेकी २ जना महिला गम्भीर घाईते भएपछि युवाहरु उग्र हुँदै प्रहरीमाथि ढुंगामुढा गर्न थाल्दा प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेका छन् । अश्रुग्यास प्रहारबाट प्रदर्शनकारीहरु तितरवितर भएका थिए । लाठी चार्जबाट घाईते भएकी महिलाको स्थानीय अनामिका अस्पतालमा उपचार भईरहेको संघर्ष समितिका सदस्य रबि रामले बताए ।

उता प्रदर्शनकारीको ढुंगामुढाबाट सुरक्षामा खटिएका करिब १० जना जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ । उनीहरुको स्थानीय हेल्थ ल्याण्ड अस्पतालमा उपचार भईरहेको जिल्ला सुरक्षा समिति श्रोतले बताएको छ ।

शान्तिपूर्ण रुपमा धर्ना प्रदर्शन गरिरहदा एकाएक आएर ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मी नै घाइते हुन थाल्दा आत्मारक्षार्थ लाठी चार्ज र अश्रु ग्यास प्रहार गरिएको रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी भरतबहादुर श्रोष्ठले जानकारी दिएका छन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार