आविष्कार केन्द्र गएर महावीरलाई सघाउँदै दावा

१८ भाद्र २०७७, बिहीबार १०:३६ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण देश लकडाउनमा रहेको बेला जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष दावा तामाङ राष्ट्रिय आविष्कार केन्द्र धाइरहेका छन् ।

महावीर पुनको नेतृत्वमा आविष्कार केन्द्रमा अहिले कोभिडका बिरामीको गम्भीर उपचार र हेरचाहका लागि आवश्यक भेन्टिलेटर र नर्सिङ रोबोटहरू बनिरहेका छन् । निषेधाज्ञाकै बीच पनि युवा वैज्ञानिकहरू पिपिई, भेन्टिलेटर, मास्क, कोरोना टेस्टिङ बुथ, रोबोटलगायत सुरक्षा उपकरण बनाउन सक्रिय छन् ।

हो, यही आविष्कार केन्द्रमा एक सातादेखि युवा व्यवसायी तथा समाजसेवी समेत रहेका तामाङ सघाउन गइरहेका छन् । तामाङले यसअघि पनि समाजसेवाका विभिन्न काम गरिसकेका छन् ।

‘खाली समय खेर फाल्नुभन्दा राष्ट्रको लागि केही गरौँ भनेर लागिरहनुभएका महावीर सरको आविष्कार केन्द्रमा आएर सघाइरहेको छु’ तामाङले भने, ‘अन्य सहयोगी मन भएका व्यक्तिहरुलाई पनि आविष्कार केन्द्रमा आएर सघाउनुहुन अपिल गर्न चाहन्छु ।’

अग्रपंक्तिमा खटिएर कोभिड संक्रमितको उपचारमा गर्नुपर्ने स्वास्थ्यकर्मीले पनि पिपिई र मास्क पाउन नसकेपछि पुनले राष्ट्रिय आविष्कार केन्द्रबाट उत्पादन गरी वितरण गरेका थिए । उनले अहिलेसम्म १२ हजारभन्दा बढी पिपिई गाउन ५८ जिल्लाका तीन सयभन्दा बढी हस्पिटल, प्राथमिक स्वास्थ्यचौकी, कोरोना आइसोलेसन सेन्टरलगायतलाई वितरण गरिसकेका छन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार