बाजुरा । जहाँ खाद्य संकट छ तर चामल ढुवानी हुन सकिरहेको छैन, त्यहाँ जहाज चार्टर गरेर मदिरा ढुवानी हुन्छ भन्ने खबर तपाईंलाई पत्यार नलाग्न सक्छ ।
तर, बाजुराको कोल्टी क्षेत्रमा यस्तै भइरहेको छ । उक्त क्षेत्रमा खाद्य संकट भएको २ महिना भईसके पनि चामल ढुवानी हुन सकिरहेको छैन । तर मदिरा भने जहाज चार्टर गरेर ढुवानी भइरहेको छ ।
कोरानाको संकटका समयमा मदिरा जन्य र सुर्ति जन्य प्रदार्थ ढुवानीमा रोक लगाए पनि बाजुराको कोल्टी एरपोटमा भने खुलम खुल्लामदिरा ढुवानी भइरहेको हो । कोल्टी विमानस्थलमा दैनिक सात फलाइटसम्म हुने गरेका छन् । तीन चार फ्लाइटमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उड्डयन कार्यालय बाजुराका निमित्त प्रमुख प्रसाद पौडेलले जानकारी दिए ।
प्रति किलो ७५ देखि १ सय रुपैयाँसम्म जहाजमा व्यापारीहरुको मदिरा लगायत दैनिक उपभोग्य वस्तु चाउचाउ बिस्कुट ढुवानी गरेर बाजुराको कोल्टीमा जहाजमा ल्याउने गरेका समिट एयरका कोल्टी स्टेसन प्रमुख विनोद कुमार सिंहले जानकारी दिए ।
नेपालगञ्ज, सुर्खेतबाट सिता, समिट र तारा एयरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजबाट कोल्टी चार्टर गरेर मदिरा आउने गरेको बताईएको छ । मदिरा बाजुराका चारवटा स्थानीय तह, कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लाका स्थानीय बजारमा जाने गरेको बताएका छन् ।
स्थानीय बजारमा खाद्यन्न अभाव रहेको लामो समय भएपनि समयमा चामल ढुवानी हुन सकिरहेको छैन । बुढिनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेका अनुसार चामल नपाइए पनि मदिरा भने फालाफाला पाइने गरेको छ ।
नागरिक उडयन कार्यलय कोल्टी बाजुराका अनुसार १ महिनामा १ सय ६० उडान कोल्टी बिमान स्थलमा भएका छन् । ६० प्रतिशत भन्दा बढि उडानमा मदिरा नै ढुवानी भएको कार्यलयले जनाएको छ ।
१ सय ६० उडानमा ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको मध्ये धेरै मदिरा मात्र भएको कार्यलयले जनाएको छ । यता बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने मदिरा प्रतिबन्धका लागि बाँके र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने बताए ।