योगमायादेखि टर्केली न्यायिक योद्धा इब्रु टिमटिकलाई सलाम

१६ भाद्र २०७७, मंगलवार २१:१६ मा प्रकाशित

कवि तथा साहित्यकार मित्र डा.  सिर्जना शर्माजीले सामाजिक सञ्जालमा सत्ताको अत्याचारविरूद्ध २३८ दिनदेखि आमरण अनशनमा बसेकी टर्केली वकिलको मृत्यु अनि हार्दिक श्रद्धान्जली गरिएको पोस्टसँगै अरूको न्यायका निम्ति लड्ने वकिल तथा मानव अधिकारकर्मी स्वयमको मृत्युको खबर पढेँ । जो आफ्नै न्यायको निम्ति आमरण अनशन बस्दाबस्दै ज्यान गएको वा सहिद भएको घटनाले जसरी हरेक मानवलाई स्वभावतः छुन्छ मलाई पनि छोयो। जसरी एउटा सहिदको जीवन उत्सर्गप्रति मानवजगतका हरेक मानिसको अन्तरमन द्रवित हुन्छ, त्यसैगरी पनि मलाई सत्तासँग न्याय माग्दामाग्दै एक टर्केली वकिलको मृत्युको खबर पीडाजनक नहुने कुरै रहेन।करौडौँ मानिसले श्रद्धा सुमन व्यक्त गरे न्यायिक सहिद तिमीप्रति।

म पनि कानुनको विद्यार्थी हुनाका साथै राजनीति र साहित्यिक विषय पढेको हुँदा झन त्यसले अझ बढी अन्तरमनमा पीडाबोध हुने नै भयो।सत्तासीन शासकरूपी जल्लादको कोपभाजनमा परेर मात्र नभई न्यायिक निकाय अदालतबाट समेत न्याय नपाई एउटा न्यायकर्मीको मृत्यु हुनु नै सबैभन्दा कारूणिकता र हृदयविदारक हुन पुग्यो।यसले विश्व मानवजगतकै लागि अत्यन्त कठोर बज्रपात भयो किनकि मानव अधिकार र न्यायिक संसार कहलिने वर्तमान विश्वकै एउटा भूगोल वा कुनै देशमा अन्यायमा परी न्यायकर्मी नै २३८ दिनसम्म भोकभोकै सुकेर प्राण त्याग गर्न बाध्य भइरहेछन् भनूँ सत्ताअन्धताको ग्रहण लागेर न्याय र मानव अधिकार ओझेलमा परिरहेछ आज यो धर्तीमा।जसरी हिटलरको नाजीवादी/ फाँसीवादी ग्याँस चेम्बरमा लाखौँ यहुदी निस्साएर मर्न बाध्य भए, त्यसको प्रेत अझै नयाँ संस्करणमा आएको त होइन ? भन्ने प्रश्न गरिरहेछ मेरो मन र मतिष्कले ? चाहे त्यो कुनै पूँजीवादी नामक राजनीतिक व्यवस्था वा साम्यवादी नामक राजनीतिक व्यवस्था नै किन नहोस् ।

हुनतः आजको विश्वका सत्तासीनहरू मानव अधिकार र कानुनको दुहाइ दिएर थाक्दैनन् तर त्यसको असली रूप यत्रतत्र देखिएकै छन् अमेरिकामा कथित गोरा प्रहरीले गरेको काला जातिका जर्ज फ्लोइडको निर्मम हत्या नै किन नहोस्।त्यसैगरी कोरोना बन्दाबन्दीकै बीचमा नेपालको चौरहजारीमा कथित उच्च जातको नाममा बर्बर र क्रुरतापूर्वक मच्चाइको निशंश दलित युवा नवराज विकसहितको ६ जना युवाको हत्याकाण्ड। अनि केही घण्टा अघि २३८ दिनको आमरण अनशनपछि मानवजगतमा न्याय र मानव अधिकारको लागि इब्रु टिमटिक रोजेको कठोर न्यायिक सङ्घर्षको भद्र बाटो भनूँ गान्धीवादी भद्र आन्दोलन र अन्ततः उनको न्यायिक साहदत ।

इब्रु टिमटिक, तानाशाही, सर्वसत्तावादी र फाँसीवादी सत्ताले तिमीले न्यायका निमित्त उठाइका आवाजहरू सुन्दै सुनेनन् र अन्तिम निकाय  न्यायिक निकाय अदालतले  समेत सत्ताको छायाँमा पर्दा न्याय नगरी अन्याय गर्‍यो । र त हुन पुग्यो तिम्रो यो कारूणिक र हृदयविदारक अकल्पनीय मृत्यु, विश्व मानव जगतलाई पीडादायी मृत्यु । अर्को अर्थमा यो भौतिक संसारमा तिमीले रोजेको न्याय र मुक्तिको बाटो र मृत्युसम्मको यात्राबाट दुनियाँको सलामी  प्राप्त छ तिमीलाई त्यसैले तिमी अब विश्वकै एक न्यायिक सुन्दरी/सहिद अनि योद्धा। यो गर्विलो र दर्विलो मृत्युवरण गरी अजर अमर सहिदमा रूपान्तरित महान नारी।त्यसैले टर्केली वकिल इब्रु टिमटिक तिमीलाई, यही मेरो श्रद्धा सुमन के छ भने तिमी कहाँ मरिमरेकी छ्यौ र ? बरू यो विश्व इतिहास वा मानवजगतको मानसपटलमा सदासदा छाइरहनेछ्यौ अनि तिमी महान न्यायिक सहिद त्यसैले अजर छ्यौ, अमर बन्यौ। तर सत्तासीन जल्लादहरू बाँचेर पनि मरिरहेछन्, संरक्षकबाट राक्षसी स्वरूपमा परिवर्तित भइरहेछन्।उनीहरू बाँचेर वा जितेर पनि मरिरहेछन् अत्याचारीका रूपमा। तर तिमी बाँचिरहेछ्यौँ महान न्यायिक सहिद वा मानव अधिकारकर्मीका रूपमा।तसर्थ मेरो शब्द सलामी तिमी अजर छ्यौ यो धर्तीमा अनि तिमी महान भयौ यो दुनिँयामा। यही सुरूवाती शब्द सलामी तिमीलाई मेरो।

नेपालका इतिहासकारकाअनुसार योगमायाको जन्म वि.सं.१९२० तिर भएको देखिन्छ जुन बेला बाल विवाहको प्रचलन रहेको हुँदा उनी आफैँ त्यसको शिकार मात्र भइनन् कि उनी आफैँ बालविधवा बन्न अभिशप्त रहिन्।तत्पश्चात उनी जोसमनि सन्त परम्पराको संस्कारबाट अनुगृहीत भइन्।उनलाई जनकलाल शर्माले जोसमणि सन्त परम्पराकीशक्तिमाईका रूपमा चर्चा गरेको पाइन्छ।योगमायाकै नेतृत्वमा वि.सं.१९९५ सालमा भोजपुरको अरूण र इखुवाको दोभानको किनारमा अग्निकुण्ड तयार गरी अधर्मी राज्यमा बसेर मुलुकमा मोक्ष वा मुक्ति प्राप्ति हुँदैन भन्ने नाराका सामूहिक अग्निदाहको प्रयत्न गरेको देखिन्छ तथापि राणा शासकले उक्त प्रयासलाई रोकेर विफल बनाएको बारेमा इतिहास बोल्छ।त्यसअघि सामाजिक सुधारको माग लिएर बिन्ती चढाउन वि.सं.१९८४ तिरै उनका अनुयायीहरू चन्द्रशेमशरसमक्ष डेलिगेसन आएको देखिन्छ। तथापि  तात्कालीन तानाशाही जङगी राणा सरकारबाट तात्कालीन समाजमा रहेको महिलामाथिको चरम विभेदको पीडालाई सहन नसकी सत्ताविरूद्धको विद्रोहस्वरूप २४० जना अनुयायीमध्ये ६८ जना अनुयायीसहित योगमायाले सन् १९९८ मा जल समाधि लिइन्।योगमायाको साहसिकता र विद्रोहको विषयमा  निलम कार्की निहारिकाकृत मदन पुरस्कारप्राप्त कृति योगमाया उपन्यासले साहित्यिक पाठकमाझ उनको योगदानलाई उद्दिप्त बनाइएको मात्र छैन । तात्कालीन नेपाली राज्यसत्ता र सामाजिक व्यवस्थामा रहेको शोषण, विभेद, अन्याय र अत्यचारको विद्रुपात्मक पक्षको उजागर गर्दै पर्दाफास नै गरिदिएको छ।  

कोरोना कालमै विश्व परिदृश्य र नेपाली भूगोलमा घटित उल्लिखित केही घटनाले  यस अवधिमा आफ्नै दैनिकीको याद गरायो।यस अवधिमै मेरो भेटको सुअवसर नेपाली साहित्यका मूर्धन्य स्रष्टा प्रा.डा. गोविन्दराज भट्टराईसँग जुर्‍यो।सन्दर्भ थियो आज भन्दा करिब २० वर्षअघि त्यस्तै शोषण अत्याचार र दमनविरूद्ध पुतलीको लास शीषकीय स्वलिखित नाटक जुन आफ्नै गाउँमा मञ्चन गरिएको थियो।उक्त नाटकको प्रकाशन प्रयोजनका लागि उहाँको भूमिका लेखन।उक्त नाटक मेरो २८ वर्षे युवावस्थामा लिखित दलित विषयक कथावस्तुसँग सम्बन्धित छ, जसमा निर्दोष पुतलीहरू कोपाभाजनमा पर्छन् र मारिन्छन्।हुनतः प्रकाशोन्मुख उक्त नाटकको शीर्षक अहिले दोर्जे सरको पदचाप राखिएको छ । यस नाटकमा सत्ता र शासनविरूद्धको गरीब तथा निमुखा वर्गको लडाइको लागि युवा वयमा तात्कालीन राजनीतिक परिवेशको प्रभावको कारण मार्क्सवादी दर्शनको नजानिदोँ किसिमले प्रभाव परेजस्तो लाग्छ।त्यसैगरी शिक्षाविद् विद्यानाथ कोइरालाको यस नाटकका लागि लेख्नुभएको टिप्पणीले मलाई सिर्जनात्मक लेखनमा उत्साह भरेकै छ।त्यसैबीच गोविन्द भट्टराई सरको मुग्लान उपन्यास पढ्न पुगेँ, जसले मलाई समग्र गरीब दुखी नेपाली सुखको खोजीमा परदेशमा जानुपर्ने बाध्यता तर बिडम्बना दैनिक ३ जना कफनमा लास भई आउने वर्तमान नियतिलाई स्मरण गरायो।भट्टराई लिखित मुग्लान उपन्यासको एक पात्र सुतार कान्छाको पीडाले समानूभूतिक पीडाबोध नगर्ने कुरै भएन।यस उपन्यासले वर्तमान नेपाली डायस्पोराहरूको कथाव्यथालाई प्रतिबिम्बन गरेको छ। यसरी आजको दिनमा पनि समाज, राष्ट्र र विश्वस्तरमा शासन सत्ताबाट मात्र नभई सत्ताका विभिन्न संरचनाबाट समेत मानिसहरू सर्वत्र शोषित, पीडित र दमित पाएको विश्वजनीन सत्य हाम्रा सामु छन्।

त्यसैगरी छापामार युवती तारा राई लिखित एउटी छापामार युवतीको डायरीमा एउटी १६ वर्षे मुटु रोगी युवती जसरी माओवादी राजनीतिक दर्शनबाट प्रभावित भई समस्त दुखी, पीडित गरीब र निमुखाको सपना प्राप्तिको लागि सशस्त्र माओवादी जनयुक्तमा होम्मिन्छिन्।उनी जनयुद्धमा लागेको ३/४ महिनामै सेनाबाट पक्राउ पर्छिन् तर उनी भने सानो उमेरको हुँदा मारिन्नन् तर उनकै अगाडि केही बेरअघि गफिँदै गरेको कमरेडले आफ्नै अगाडि साहदत प्राप्त गर्न पुग्छन्।आर्मीबाट पक्राउपछि उनलाई अनेकन मानसिक यातना दिइन्छ जसको कारण उनी जेलमा पनि पटकपटक मानसिक रूपमा विक्षिप्त हुन पुग्छिन्।उनले जेलमा अनेक हन्डर कष्ट व्यहोर्छिन र पटकपटक जेल पनि सारिन्छन्।अन्ततः माओवादी सशस्त्र आन्दोलन पनि १२ बुँदे सम्झौतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था स्थापना गर्ने सहमतिकासाथ मूलधारको राजनीतिमा समाहित हुन्छ तर उनी भने जेल मुक्त भएर आफ्नै गाउँ फर्कन्छिन् । डायरीको अन्ततिर उनले भनेकी छन् आफैँ मुक्तिको यात्रामा हिँडेकी तर आज आफैँ घर न घटकी भएकी छु।लाग्छ, यी छापामार युवती जीवित त छिन् तर उनी कताकति विगतको नोस्टाल्जिक दुःखको गर्तमा भासिएकी छिन्।यति फरक छ कि टर्केली न्यायिक योद्धा इब्रु टिमटिक सशरीर यस धर्तीमा रहिनन् तर छापामार युवती तारा राईको आस्था, विश्वास्, स्वाभिमान, सपना र सङ्घर्षका लागि बेहोरेका यावत् कष्टकर दिनहरू अनि हजारौँ सहकर्मीले बगाएका रगतको प्रतिफल आंशिक रूपमा सार्थक देखिए पनि उनकै लागि भने फगत साबित भएका छन् उनकै शब्दमा।यसरी विश्वभरि नै राज्यसत्ता र शासकीय व्यवस्था जनताप्रति उत्तरदायी भएको देखिँदैन भन्ने कटु यथार्थको दृष्टान्त हो यो।अनि त्यसको एउटा जिउँदो इतिहास रहेछ तारा राई लिखित एउटी छापामार युवतीको डायरी।

इतिहासकार तथा सेपियन्स कृतिका लेखक युभल नोहा हरारीकाअनुसार विपत्तिहरूमा राज्यसत्ता बढी निरंकुशततातिर ढल्किन सक्दछ भन्ने विचार लेखमार्फत् सार्वजनिक गर्न पुगे।त्यसैगरी भारतीय लेखिका अरून्धती रोयकाअनुसार भारतीय राज्यसत्ताबाट गरीबनिमुखाहरूको बाँच्ने अधिकारलाई कोरोना कहरमा सही सम्बोधन नगरिरहेको उल्लेख गरेकी छन् आफ्ना लेखहरूमा।त्यसैगरी अमेरिकी भाषाविद् एवम् राजनीतिक विश्लेषक नोम चम्स्कीले वर्तमान विश्वको पूँजीवादी व्यवस्थामा कोरोनाका लागि चाहिने सामान्य मास्क र सेनेटाइजार समेत उपलब्ध हुन नसकेको उल्लेख गर्दै राज्यहरू सीमित दलाल वा माफियाँको चङगुलमा फस्दै गएको चर्चा गरेका छन् । नेपालमा  पनि कोरोना अवधिको राज्य सरकारको शासकीय व्यवस्थापन पनि जनतासम्म प्रभावकारी सेवा प्रवाह हुन नसकेको भनी आलोचना भइरहेको मात्र छैन  कक काठमाडौँको मुटु कीर्तिपुरमै भोकले सूर्यबहादुर तामाङहरूजस्ता भुईँमान्छेहरू मर्न बाध्य भए । त्यसैगरी तराईका गरीब मलर सदाजस्ता भुईँमान्छेहरू परिवारका लागि सातुसामल लिन जाँदा बाटैमा भोकले परमधाम भए।यसरी विश्वभरिकै भुईँमान्छेहरू राज्य र सरकारबाट कर्तव्य र दायित्व निर्वाह नगरिँदा भोकभोकै मृत्युवरण गर्न बाध्य देखिन्छन् ।

विश्व राजनीति तथा शासकीय रङ्गमन्चमा ज्याक डेरिडाको उत्तरआधुनिकतावादसँगै बहुकेन्द्र वा बहुसत्यलाई मान्न थालिएको हो । त्यसपछि विचार फ्रान्सिस फुकुयामाको महाआख्यानको अन्त्यको घोषणापछि विश्व कुनै प्रकारको एकल दर्शन त्यो समाजवादी र पूँजीवादी नै किन नहोस् ती अन्तिम सत्य होइन भन्न पुष्टि भई प्रयोग समेत हुन थाल्यो । उक्त दर्शनकै सापेक्षतामा हेर्दा टर्कीमा कम्युनिष्ट पार्टी (एकेपी) कै सत्ता रहेको देखिन्छ  तथापि त्यहाँको सत्तासीन कम्युनिष्ट पार्टीका शासनसत्ता यति फाँसीवादी देखिन्छ कि आफ्नो सत्ताको विरोध गर्न पार्टीलाई आतङ्ककारी घोषणा गरी प्रतिबन्ध लगाइएको छ भने त्यसको समर्थकको नाममा वकिल र सङ्गीतकर्मीहरूलाई जेल हालिएको छ । यस अघि नै दुई जना सङ्गीत कर्मीहरूले न्यायको लागि भोक हड्ताल गर्दा भोकै जीवन गुमाइसकेका छन् । यसरी फाँसीवादी टर्केली सरकारको  अत्यचार वा निरंकुशताको विरोधमा ज्यान गुमाई सहिद घोषित हुनेमा २३८ दिनको आमरण अनसनपछि न्यायकर्मी नै न्यायका लागि भोकै साहदत प्राप्त गरेको अत्यन्तै मर्माहत दुखद घटना हो । यसले नेपालमै पनि सशस्त्र द्वन्दको समयमा गोरखा भुजेल निवासी नन्द प्रसाद अधिकारी र गंगा अधिकारीका छोरा रामप्रसाद अधिकारीको खोजीका लागि सरकारविरूद्ध गरिएको अनशनको मात्र स्मरण मात्र गराउँदैन आमरण अनशनकै क्रम मृत्युवरण गरेका नन्दप्रसाद अधिकारी र देशको मानव अधिकार र न्यायिक अवस्थाको पूर्वस्मृति वा फ्लाशब्याक गराउँछ ।

भुईँमान्छे वा सबाल्टर्नहरू आफैँ बोल्न सक्छन् वा सक्दैनन् यसमा सीमान्तीकृतवादीहरूको दुई धार छ । खासगरी ओमी भाभा कित्ताका विचारकहरू आफैँ बोल्नुपर्छ र बोल्न सक्छन् भन्ने मान्यता राख्दछन् भने गायत्री स्पीभाक कित्ताका सीमान्तीकृतवादीहरू उनीहरू आफैँ बोल्न सक्दैनन् त्यसैले अरूले नै उनीहरूको आवाजको प्रतिनिधित्व गरिदिनु पर्छ भन्ने मान्यता राख्दछन्।यही सैद्धान्तिक धरातलमा राखेर हेर्दा दुवै सिद्धान्तलाई सत्ताइतरकाले आत्मसातीकरण गरी अघि बढेको पुस्टि हुन्छ । जस्तो नेपाली नारी योगमाया आफैँ सीमान्तीकृत लिङ्ग/वर्गमा पर्ने हुँदा आफ्नै विषयका साथै  समग्र तात्कालनी नेपाली महिला जातिको मुक्तिका लागि जल समाधि लिन पुगेको हुँदा अरूका लागि पनि मुक्तिको आवाज उठाएर विद्रोह गर्न पुगेको देखिन्छ। एउटी छापामार युवतीको डायरीमा भने लेखिका तारा राईले मार्क्सवादी/ माओवादी दर्शनबाट प्रभावित भई वर्गविहीन समाज र गरीब दुखीको मुक्तिका लागि युद्धमा होमिएको चर्चा गरेकी छिन् ।यस आधारमा उनी शोषित, पीडित, गरीबदुःखी तथा आवाजविहीनहरूको आवाज वा भुईँमान्छेको मुक्तिका लागि लागेको देखिन्छ ।

त्यसैगरी टर्केली वकिल इब्रु टिमटिक जसले केही घण्टा अघि आफ्नै र समग्र टर्केली जनताको लागि न्यायिक आवाज उठाउनुका साथै दुनियाँमा न्याय प्राप्तिका लागि आफ्नो अमूल्य जीवन समर्पण गरिन्।उक्त घटना टर्केली राजनीतिक इतिहासमा मात्र नभई विश्व मानवताको इतिहासमा भद्र तर कठोरतम विद्रोह साबित हुन पुगेको छ ।यसरी मानव मुक्तिका लागि शाहदत प्राप्त गरेका नेपाली योद्धा योगमायादेखि नेपालका सम्पूर्ण सहिदकाप्रति साल्युट भन्न चाहन्छु म यतिबेला । अनि अनि नोबेल पुरस्कार बिजेता मलाला जो नारी शिक्षा क्षेत्रका अभियन्ता हुन् । साथै कोही नारी शिक्षाबाट बन्चित नहोस् भन्ने  अभियानकाका जीवित सहिद हुन्, उनलाई हार्दिक नमन ।अनि आफैँ न्यायकर्मी वा मानवअधिकारकर्मी आफ्नै न्यायको लागि फाँसीवादी टर्केली एकेपी सरकारको विरूद्ध लड्दालड्दै सत्तासँगन नझुकी अदम्य साहसकासाथ २३८ दिन भोक खपी दुनियाँकै न्यायिक सुन्दरी/सहिद बन्न सफल महान योद्धा इब्रु टिमटिक तिमीलाई, फेरि पनि मेरो शब्द सुमन । तिमी भौतिक रूपमा यो धर्तीबाट बिदा लियौ त के भो ? यो धरती आकाशमा न्यायिक चम्किला तारा भई तिमी सदासदा छाइरहेनेछ्यौ अनि विश्व मानव मस्तिष्कमा न्यायिक सहिदका रूपमा सदासदा आइरहेछ्यौ। म त भन्छु, साँच्चै तिमीले जितेकी छ्यौ मरेर पनि जल्लादहरूसँग। तर सत्तासीन जल्लादहरू तिमीसँग हारेका छन् किनकि उनीहरू बाँचेरमरिरहेछन्।अनि तिम्रो आहुतिमय न्यायिक प्राप्तिको अविराम यात्रामा लाखौँ लाखौँ मानिसको मुक्तिका पदचापहरू पक्कै अघि बढ्नेछन् र फाँसीवादी शासकहरू टर्कीबाट मात्र होइन यो धर्तीबाटै  बढारिँदै जानेछन्।अन्तमा, अजर अमर सहिद इब्रु टिमटिक तिमीलाई, लाख लाख सलाम मेरो । अल विदा । हार्दिक श्रद्धान्जली।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार