कोरोना प्रयोगशालाको अवलोकन गर्न धुलिखेल अस्पताल पुगे मन्त्री दुलाल

१२ भाद्र २०७७, शुक्रबार १८:३९ मा प्रकाशित

काभ्रे । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले धुलिखेल अस्पतालमा रहेको कोरोना प्रयोगशालाको अवलोकन गरेका छन् ।
सङ्कलित स्वाबहरुको रिपोर्ट ढिला हुँदा केस इन्भेष्टिगेसन र कन्ट्रयाक ट्रेसिङ ढिला हुन गई कोरोना नियन्त्रण र उपचारमा चुनौति थपिएको भन्दै त्यसको कार्यसम्पादको अवस्था र चुनौतीबारे छलफल र अवलोकन गर्न मन्त्री दुलाल अस्पताल पुगेका हुन् । मन्त्री दुलालले अस्पतालमा माइक्रोबायोलोजी टिमसँग छलफल समेत गरे ।

‘प्रदेश सरकार सङ्कलित स्वाबको २४ घण्टाभित्र कसरी रिपोर्ट दिन सकिन्छ भनेर अध्ययन गरिरहको छ ।’ मन्त्री दुलालले अवलोकनपछि भने, ‘प्रयोगशालाहरुको अवस्था बुझ्ने र अवश्यकता अनुसार पिसिआर परिक्षण ल्याब थप सञ्चालन गर्दै लैजाने योजना रहेको छ ।’

मन्त्री दुलालको अुनसार शुक्रबार (आज)बाट धुलिखेल अस्पतालमा अटोमेटिक आरएनए एक्सट्राक्सन मेसिन सञ्चालनमा आउने भएको छ । त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा दुई र प्रदेश प्रयोगशालामा एक गरी तीनवटा पिसिआर ल्याबबाट दैनिक एक हजार पाँच सयदेखी एक हजार आठ सयसम्म स्वाबको परिक्षण हुनेछन् ।

मन्त्री दुलालले धुलिखेल प्रयोगशालासहित बागमती प्रदेशमा हालसम्म २२ वटा पिसिआर ल्याबबाट कोभिड–१९ को परिक्षण भइरहेको उज्यालो नेटवर्कलाई जानकारी दिए । उनले केही दिनभित्र भक्तपुर, सिन्धुली, नुवाकोट र हेटौँडामा थप पिसिआर ल्याब सञ्चालनमा आउने जनाएको छ ।

कोभिड–१९ को परिक्षण र रोकथाममा सुरुदेखि नै प्रदेश सरकार र धुलिखेल अस्पतालबीच आवश्यक समन्वय र सहकार्य हुदै आएको छ । प्रयोगशालाको अवलोकन लागि धुलिखेल आईपुगेको मन्त्री दुलालले अब परिक्षण र उपचारको क्षमता बढाएर जाने समेत बताए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार