एसईई नतिजा प्रकाशित भएसँगै बालबालिकाको मुहारमा खूसी देखिनुको साटो कोरोना कहर हटेपछि साथीभाई अनि आफन्तहरुसँग कसरी सामना गर्ने भन्ने डरले गर्दा उदास देखिन्छन् ।
नतिजा सार्वजनिक भएलगत्तै कति विद्यार्थील कती जिपिए प्राप्त गरे भनेर मात्र थाहा पाउँदछन् । ग्रेडिङ्ग सुरु भएको बर्ष २०७२ को एसईईमा ४ जिपिए ल्याउने २ मात्र थिए । २०७३ मा बढेर ४ अनि २०७४ मा प्रयोगात्मक (२५ अंक) थपेको कारणले संख्या बढेर ७४ पुगेको थियो । त्यसैगरी २०७५ मा १०६ जनाले ४ जिपिए भने यसबर्ष ९ हजार ३ सय १९ जनाले ४ जिपिए लिएर आएका छन् । यो संख्या नियमिततर्फ ४ लाख ७२ हजार ७८ जनाको १ दशमलब ९७ हो ।
माथीको तुलना नै गर्ने हो भने यसबाट प्रष्ट के देखिन्छ भने विद्यालयले आफूखूसी दिएको अंकले गर्दा संख्या बढेको छ, तर यो संख्या बढ़नुमा विद्यार्थीको दोष चाहिँ पटक्कै देख्दिन म । विद्यालयको विद्यालयको टीआरपी दर बढ़ाउन गरेको चलाखीलाई ती अबोधपना बालबालिकाको भविष्यसँग गरेको खेलाचीसँग आपत्ति छ मलाई । म मानव अधिकारकर्मी होइन तर पनि ती सामाजिक सञ्जालभरि लेखिएका नकारात्मक सन्देश प्रवाहप्रति मलाई आपत्ति छ । यसमा सरकार वा परिक्षा बोर्डसँग मेरो कुनै प्रश्न छैन किनकी नम्बर दिने सूत्र नै बनाएर कार्यविधि बनाइएको जानकारीमा थियो र यस्तो सूत्र दिँदा–दिँदै पनि विद्यालय र शिक्षकले बढ़ाएर पठाउँदा इकाईले सिफारिस गर्छ भने दोष त्यो विद्यालय र इकाईलाई दिनपर्छ न कि विद्यार्थीलाई । एसईई बोर्डले सिफारिस भएर आएको नतिजा कुन आधारमा नकार्न मिल्छ । त्यसका लागि आधार हुनपर्यो होइन भने विश्वास र जिम्मेवारीको हकमा नतिजा सार्वजनिक गर्नुपर्यो ।
कोरोना संक्रमण बढ्दै जाँदा गत चैत ६ गते हुने भनिएको परीक्षा हुन सकेको थिएन । यसले गर्दा विद्यार्थी अन्योलमा हुनुको साथै मानसिक तनावमा पनि परिसकेका थिए त्यसमाथि झन् यो बढ्दै गरेको परिस्थितिले गर्दा जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले बोर्डले संचालन गर्दै आइराखेको एसईई रद्द गर्नुका साथै आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो र त्यसैमा आधारित कार्यविधि स्वीकृत गरिएको थियो । उक्त कार्यविधि अनुसार प्राप्त अंकलाई नतिजाको रूपमा प्रकाशित गरियो । सायद धेरै नै ढिला भएको हुनाले पनि होला क्रस चेक गर्नुपर्छ भनेर सोचिएन अथवा भनौं विश्लेषण गर्न जÞरूरी ठानिएन र त्यसैको मारमा परेका छन्, अहिलेका विद्यार्थी । उनीहरूलाई विद्यालयले दिएको अंकले सबैकोसामु गौरब हुने बाटो त देखायो तर यो गौरब कसरी सधैभरी कायम राख्न सकिन्छ भन्ने प्रश्नले पनि सोच्न बाध्य बनायो । कमजोर विद्यार्थीले पनि ‘ए’ प्लस नै ल्याएको भए पनि आगामी दिनमा उसलाई हौसला दिएर फेरि पनि ‘ए’ प्लस ल्याउने हाम्रो दायित्व हो कि ट्रोल बनाएर होच्याउने ? हामीले सोच्न जरुरी छ ।
उनीहरूले गरेको मिहिनेत र सिकेका पद्दतिलाई गलत वा कमजोरको उपाधि दिने हाम्रा समाजमा विद्यमान हस्तीहरूलाई एकपटक फेरी सोचिदिन आग्रह गर्दछु । विद्यालय (अभिभावक ( इकाई अनि बोर्ड सम्म पुगेको नतिजामा केही पनि कमजोरी छैन भन्ने धारणा मेरो पनि होइन तर त्यसमा होमिएका विद्यार्थीको के छ दोष ? के उनीहरूले मलाई यति नम्बर दिनुपर्छ भनेर आन्दोलन वा दबाब दिएका थिए र ? हामी सबैलाई थाहा भएको कुरा हो कि संबिधानले तोकेको नीतीलाई राज्यले अबिलम्बन गरेको हो र यो पनि जानकारी छ कि अब को फलामे ढोका एसईई नभएर १२ कक्षा हो र यसैबीच परिक्षा प्रणालीमा बिषयमा पनि छलफल हुँदै थियो र त्यसैअनुरुप यो कोरोनाको समय यसको लागि उचित बन्न पुग्यो ।
तर १२ कक्षा र स्नातकको परीक्षालाई अहिलेको अवस्थामा हामीले आन्तरिक मुल्याङ्कनलाई आधार मानेर विद्यार्थीहरुलाई उतीर्ण गरायौ भने बाहिर उच्च शिक्षा अध्यन गर्नको लागि जाने वा संवैधानिक अङ्ग लोकसेवा आयोगले लिने परीक्षामा पछि भविष्यमा गएर आन्तरिक मुल्याङ्कनलाई मान्यता दिन्छ कि दिदैन भन्ने पनि ठुलो चुनौतीको बिषय छ । यस बिषयमा राज्य गम्भीर हुन आवश्यक छ । तसर्थ अहिलेको अवस्थामा जसरी एसईईको आन्तरिक मुल्याङ्कनबाट नतिजा प्रकाशित गरियो तर १२ र स्नातक तहको परिक्षालाई अहिलेकै अवस्थामा हतार नगर्दा राम्रो हुन्छ । पछि यो महामारी अझ भयावह भयो भने नेपाल सरकारका महत्वपूर्ण अङ्गहरु र बाहिरको शिक्षासँग परामर्श गरेर मात्र त्यो कार्यविधी लागु गर्दा सम्पूर्ण विद्यार्थीलाई न्याय होला ।
अन्ततः ग्रेड लाई त्यति धेरै मान्यता नदिएर उनीहरूले सिकेको ज्ञान अनि सीपलाई तिखार्दै अगाडि बढ्नु चाहिँ अबको आवश्यकता हो । यसलाई अब हामीले कक्षा १० पार गरेका हौ र यस्ता खुड्किला अझ धेरै छन् भनेर भाई बहिनिलाई हौसला दिनको साटो सामाजिक सञ्जालभरी ट्रोल गर्नु आफू भित्रको मपाईत्व हो । सकिन्छ भने सम्मान गरौँ, होइन भने तिरस्कार गर्ने अधिकार सायदै संविधानले पनि दिएको छैन ।
- लेखक हिमालय कलेज अफ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी (हिकाष्ट) का उप-प्राध्यापक हुनुहुन्छ ।