सिन्धुपाल्चोक लिदी पहिरोले जन्माएको सवालहरु

मिन बहादुर सुनुवार ‘सुमन’ ३ भाद्र २०७७, बुधबार

एउटा एसएमएस प्राप्त भयो । र, त्यसले मेरो मनलाई आकर्षित गर्यो । सन्देश थियो, ‘सिन्धुपाल्चोकमा पहिरोले धेरै मानवीय क्षती भयो भन्छन् , तपाइँहरु आराम नै हुनुहुन्छ ? आफ्नो ख्याल गर्नुहोला ।’ जुन सन्देश बाहक अमेरिकाको न्यु योर्कका बासिन्दा ‘लोेगेन हुनिचोट’ थिए । उनी ब्रुकलिन फ्रेन्डस स्कूलका कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् ।

उनी समता फाउन्डेशनको सहकार्यमा सिपापोखरे, सिन्धुपाल्चोकमा आफ्नो स्कूल ग्रयाजुएशन पूरा गर्न सांस्कृतिक अध्ययनका लागि आएका थिए । यहाँ रहँदा उनीले सिपापोखरेमा अवस्थित बालकल्याण आधारभुत विद्यालयमा केही दिन काम गरेका थिए । र, यस समाजको सांस्कृतिक अध्ययनको विषयमा मसँग पनि छलफल गरेका थिए । यहाँको बसाईमा नेपालीको माया, सम्बन्ध र व्यवहार अति नै राम्रो छ भनेर मुक्तकंठले प्रसंशा गर्दै उनी आफ्नो देश अमेरिका फर्किए । त्यसैले होला आफ्नो देश कोरोनाको कहरसँग जुझिरहेको अवस्थामा पनि उनीले सिन्धुपाल्चोकलाई सम्झिए । अनि सिपापोखरेबासीलाई सम्झिए ।

वास्तवमा सिन्धुपाल्चोक अहिले प्राकृतिक प्रकोपसँग जुधिरहेको छ । भूकम्प, बाढी पहिरो, जुरेको पहिरो लगायतका विध्वंसले सिन्धुवासीलाई बिछिप्त पारेको छ । यसकारण, एकपछि अर्को प्रकोपको सामनाले जिल्लावासी निकै स्तब्ध र दुःखी छन् । दुःख र प्रकोपको दुश्चक्रमा गत शुक्रबार बिहान ६ बजे तिर जुगल गाउँपालिका वडा नं २, लिदीमा भिषण पहिरो गयो । लामाचौउरमा २९ घर पहिरोले पुरिएर २२ जनाको मृत्यु भयो भने १७ जना हराइ रहेका छन् । मानिसहरु अझै त्यहाँ भयभित छन् । पहिरोमा परेकाहरुलाई र जोखिममा भएकाहरुलाई उद्दार गर्न स्थानिय प्रसाशन लगायत राजनीतिक नेतृत्वहरु झरी वर्षा नभनी अहोरात्र रुपमा खटिनै रहेकाछन् । मा

न्छेका जिउधन बचाउँनका लागि उहाँहरु धेरै नै सकृय छन् । तरपनि यस पहिरोमा परेर मानवीय, आर्थिक तथा सांस्कृतिक क्षती अपूरणीय मात्रमा भएको स्पष्ट छ । पाँच वर्ष पहिलेको भूकम्पले जमिन थिङथलो बनाएको थियो भने अविरल वर्षाको कारणले झन जमिनको संरचना कमजोर भयो । जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठका अनुसार, यही विषयलाई मध्ये नजर गरेर नै गाउँपालिकाले त्यहाँका बासिन्दालाई बसोबासको लागि असार महिनामा नै अर्को ठाउँमा व्यवस्था गरेको थियो । तरपनि विविध कारणले यो दुःखद घटना जुगलवासीले भोग्नु परेको छ ।

पहिरो गएको ठाउँ लिदी लामाचौर जुन तामाङ जातीको दोङ थरको थाकथलो हो । भौगोलिक बिकटता र जटिलता भए पनि निकै उर्वर जमिन भएको हुँदा उनीहरु त्यहाँ वर्षौ देखि बसोबास गर्दै आएको छन् । पुस्तौपुस्ता देखि बस्दै आएको र भोगचलन गर्दै आएको ठाउँमा अहिले १ सय ७२ घर परिवार छन् । तर, त्यहाँ बाटो तथा सडकको निकै असुविधा छ । भलै बिकट ठाउँ भए पनि त्यहाँ बस्दै गर्दा उनीहरुले आफ्नो रहनसहन, जनजिवन र सांस्कृतिक धरोहर निर्माण गरेका छन् । सामाजिक मूल्य मान्यताहरुको विकास गरेका छन् । र, गाउँमा विद्यालयको पनि स्थापना गरेका छन् । तर, उक्त बस्ती गाउँ पहिरोको जोखिममा छ । स्थानिय मानिसहरु भयभित छन् । त्यसकारण, अबको विकल्प भनेको तत्कालीन रुपमा सकेसम्म सम्पूर्ण बस्ती र गाउँको सुरक्षित ठाउँमा स्थानान्तरण र दीर्घकालीन रुपमा एकीकृत बस्तीको निर्माण गर्नु नै हो ।

तर, एकीकृत बस्ती र गाउँ स्थानान्तरणको अनुभव हामीसँग धेरै कम छ । भूकम्प पश्चात एकीकृत बस्ती र गाउँ स्थानान्तरण गर्दै नमूना बस्तीको जुन गफ थियो, त्यो केवल गुलियो गफ मात्र भयो । समाजमा कुनै पनि एउटा उदाहरणको रुपमा देखाउने नमुना बस्ती अथवा गाउँ बनेन् । किनकी मान्छेले जहाँ आफ्नो जमिन छ , त्यहाँ नै घर बनाए । अनि घरघरमा पुग्ने बाटो खन्न थाले । तसर्थ, सडकमा घर नभएर घरघरमा पुग्ने बाटो अथवा सडक खन्न थाले । फेरीपनि बस्तीहरु छरपस्ट भए —एकीकृत भएन् , नमुना बस्ती पनि बनेन् । र, जहाँ एकीकृत बस्ती बनेका छन् , त्यहाँ मान्छेहरु सजिलोगरी बस्न सकेका छैनन् । उनीहरुका जनजिवन अनुकुलका छैनन् । झन उकुसमुकुसपूर्ण भयो । केवल रातमा बास बस्नका लागि मात्र बनाइएको जस्तो घरहरु बनाइएको छन् । त्यहाँ सडक, रोजगार, शुद्घ खानेपानी, शिक्षा र स्वास्थ्यको लगायतका नमुना र एकीकृत गाउँका लागि आवश्यक न्युनतम पूर्वधारहरुको अभाव छ ।

भनिन्छ, धेरै जिल्लाहरु मध्ये सिन्धुपाल्चोक प्राकृतिक प्रकोपको अति उच्च जोखिममा छ । जुन बाजा बजाएर कहिल्यै आउँदैन । यो जहिले पनि र जुनसुकै बेलामा पनि आउँन सक्छ । र, यसले मानवीय लगायत अन्य धेरै विध्वंसहरु अवश्य निम्ताउनेछ । जुन प्रकोपलाई मानव र उसका विज्ञानले पूर्ण रुपमा रोक्न अहिलेसम्म सकिरहेको छैन । त्यसैले, यसको दुःखद र अपूरणीय नोक्सान र क्षतीबाट भने बच्न र कम गर्न सकिन्छ । यसबाट बच्नका लागि तत्कालिन, मध्यम र दीर्घाकालीन योजनाहरको कार्यनवयन गर्नुपर्छ । जनचेतनाको विस्तार गर्दै वातावरण अनुकुलका घर निर्माण, थाकथलोको विकास, उधोग र पूर्वधारको अनि सांस्कृतिक सम्पदाको विकास गर्नु अपरिहार्य छ । त्यसतै प्राकृतिक प्रकोप सम्बन्धी सामग्रीहरु पाठ्यपुस्तकमा समावेस गर्नुपर्छ । किनकी ‘लिदी पहिरो’ जस्ता प्रकोपहरु अझै आउँन सक्छन् । अझैपनि जोखिममा भएका धेरै बस्तीहरु नभएको सायदै नहोलान् । बेलैमा तीन नै तहका सरकारको ध्यान पुगोस् । र, सिन्धुपाल्चोक भरीका प्राकृतिक प्रकोपको अति जोखिममा भएका बस्तीहरुलाई वास्तविक रुपमा नै एकीकृत र नमुना बस्ती बनाउन सक्नुपर्छ । तसर्थ, मानिसहरुले विभिन्न रुपमा सुरक्षित महसुस गर्नेछन् । साथै सिन्धुपाल्चोक जिल्ला विश्वमा नै सांस्कृतिक, भौगोलिक र प्राकृतिक लगायतका क्षेत्रहरुको भ्रमण र अध्ययनको एउटा गन्तव्य निश्चित रुपमा बन्ने आधारहरु प्रशस्त छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *