नेकपा जेट विमान किन दुर्घट्ना नजिक पुग्दैछ ?

मिन बहादुर सुनुवार ‘सुमन’ २६ श्रावण २०७७, सोमबार

परारको साल बंगलादेशबाट नेपाल उडेको ‘युएस बंगला २११’ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भिर रुपमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ठूलो क्षती भयो । पाइलटले हरेक कोसिस गर्दा पनि विमानलाई कहालीलाग्दो दुर्घटनाबाट बचाउन भने सकेनन् । अन्तमा, उक्त दुर्घटनामा पाइलट र केही यात्रीहरु सहित ५१ जना व्याक्तिले अकालमा नै ज्यान गुमाए । दुःखद घटनाले सबैलाई स्तब्ध बनायो । यो थियो, आकाशमा उडान भर्ने विमानको कुरा । ठ्याक्कै यस्तै नभएपनि अर्को एउटा विमानको नाम चियापसल, चौतारी, चोक लगायत हरेक ठाउँमा यसको खुब चर्चा छ ।

त्यो विमान हो नेकपा विमान अथवा राजनीतिक जेट विमान । जसले स्थापना कालको छोटो समयमा नै जनताको अपार साथ र विश्वास पाउन सफल यथार्थता छ । किनभने नेकपा जेटमा निकै अनुभवी र विश्वासिलो पाइलटद्धय छन् । जसले उक्त विमानलाई समाजवादको गन्तव्यमा पुग्नका लागि उडान भरेका छन् । जसलाई जनताको गन्तव्य पनि भनिन्छ । विलकुल रुपमा समाजवाद आज राज्यको गन्तव्य बनेको छ । त्यो विमान अथवा नेपाल कम्युनिस्ट पार्टीको(नेकपा) लक्ष्य भनौं अथवा गन्तव्य स्थल पनि समाजवाद नै हो ।

तर, समाजवादको यात्रामा उडान गरेको त्यो विमान पूँजीवादको तारे भिरमा ठोक्किएर गम्भिर दुर्घटनाग्रस्त हुने खतरा बढेर गएको छ । उक्त विमान नेकपाको ‘टावर र रेइडर’ भन्दा बाहिर गएको संकेत आएको छ । यसमानेमा सम्पूर्ण यात्री अथवा जनताहरु धेरै नै चिन्तित छन् र प्रश्न गर्दैछन् , ‘के नेकपाको विमान राजनीतिक आकाशमा दुर्घटनाग्रस्त हुने संभावना छ त?’

नेपाल कम्युनिस्ट पार्टी जनताको बीचमा आवश्यक्ताले जन्माएको पार्टी हो । जनताको चाहना र विश्वासले गर्दा प्रतिनिधी सभा र प्रदेश सभामा नेकपाले अत्याधिक बहुमत प्राप्त गर्न सफल भयो । जसले केन्द्र र ६ वटै प्रदेशमा बलियो र प्रगतिशील आफ्नो सरकार निर्माण गर्न सक्षम भएको छ । र, धेरै स्थानिय तहमा बलियो सरकार बनाउन सफल भएको छ । त्यसैले, निश्चित रुपमा यस पार्टी र सरकारको काँधमा जनतासँग गरिएको वाचाहरुलाई पूरा गर्ने एउटा ऐतिहासिक जिम्मेवारी आएको छ । तर, उक्त जिम्मेवारी र स्वर्णीम अवसरलाई ‘मौकामा चौका’ हान्ने बेलामा सरकार र पार्टी कहाँ चुकिरहेको छ ? जनतालाई साथमा राखेर समाजवादको यात्रामा उडेको यो विमानको वेग किन यसरी दिनप्रतिदिन घट्दैछ ? अनि विमानले ‘टेक अफ’ गरेको केही समय नपुग्दै डरलाग्दो दुर्घटनाको संभावनामा पार्टी किन पुग्यो ? के पाइलटद्धयको लापारवाहीले हो ? के नेकपा विमानले बिधि, पद्धति र नियमसंगत रुपमा उडान् नगरेको हो ? के उक्त विमानको रुट अस्पस्ट भएर हो ? आजको दिनमा यी तमाम सवालको जवाफ जनताले माग्दैछन् ।

भनिन्छ, उक्त विमानको रुट र भिजन स्पस्ट छ । त्यसमा नेपालमा बनेको डबल शक्तिशाली इन्जिन छ । प्रविधिक रुपमा पनि विमान ठिक छ भने समस्या कहाँ छ त ? मान्छेहरुले मुख खोल्न थालेका छन् । सिधा रुपमा भन्न थाले, समस्या नेकपाको विमानमा होइन्, गम्भिर समस्या पाइलटद्धय ः ओली र प्रचण्डमा छ । विशेषगरी, एउटाले विमानलाई विधिसंगत रुपमा उडान गरौं भन्छन् भने अर्काले चाहिँ बिधि नै यही हो भन्दैछन् । जुनकारणले गर्दा यहाँ पाइलटदयमा टकरावको सिर्जना भएको छ । पाइलट ओलीले प्रविधिक पक्षलाई वेवास्ता गरेका हुन् कि भन्ने जनगुनासो बढेको छ । किनभने विमान जतिसुकै नयाँ अनि पाइलट जतिसुकै अनुभवी भएपनि ‘टावर’ले दिएको निर्देशन मानेन भने त्यो विमान स्वभाविक रुपमले दुर्घटनाको पथमा अगाडि बढ्न सक्छ । तसर्थ, टावरले विमानको गन्तव्यलाई निर्धारण गर्छ , विमानले टावरलाई होइन् । यस विषयलाई एउटा इगोको रुपमा पाइलटद्धयले अवश्य पनि लिनु हुन्न ।

नेपालमा राजनीतिक नामका विमानहरु दुर्घटना भएका इतिहासहरु प्रशस्त रुपमा छन् । जब यी राजनीतिक पार्टीहरु सरकारमा पुग्छन् , तब आन्तरिक किचलोले मज्जाले फुटेका छन् । तहसनहस भएका छन् । नेपालमा काङग्रेसबाट देउवा(२०५९), एमालेबाट बामदेव(२०५७) र माओवादी केन्द्रबाट बाबुराम(२०७२) नराम्रोगरी फुटेको इतिहास छ । अनि माओवादीबाट मोहन वैद्य किरण (२०६९) मा फुटेकै हुन् । जुन कारणले गर्दा सरकार स्थायित्व हुनसकेन् । जनताको तमाम सरोकारहरु—गरिबी, विरोजगार, सडक पुर्वधार, गुणस्तर शिक्षा र स्वास्थ्य लगायतका यावत विषयहरु संवोधन पटक्कै भएन् । त्यसैले, जनता निरास भए । देशले सामाजिक, आर्थिक र राजनीतिक विषयमा स्थाई रुपले कहिले पनि प्रगति र संवृद्धि किमार्थ गर्न सकेन । देश नराम्रोगरी राजनीतिक र आर्थिक दुसचक्रमा फस्यो ।

यसरी सबैभन्दा ठूला राजनीतिक दलको विभाजन र फुटसँगै देशका सम्पूर्ण जनताको सपना र आकांक्षाहरु पनि फुट्छन् भन्ने प्रमाण कतै खोज्न जानु पदैन, हामीसँगै प्रशस्त छन् । किनभने राजनीतिक दलको फुटले जनताको जायज मुद्दाहरु पनि स्थाइत्व हुन नपाउँदै फुट्छन् । समाजमा त्यो बलियो र संगठित हुनसक्दैन् । तर, यहाँ मनन गर्नुपर्ने के छ भने राजनीतिक दलको फुट र विभाजनका मुख्य कारण विधि, पद्धति र सैद्धान्तिक पक्ष भने पक्कै होइन , त्यसको मुख्य जड भनेको ‘व्याक्तिगत टकराव’ र ‘निहित निजी स्वार्थ’ नै हुन् । जुन नेपाली राजनीतिको क्यान्सर रोग जस्तै हो । तसर्थ, हाल नेकपामा देखिएको पार्टी फुटको संघार पनि इतिहासकै एउटा अमिलो र अध्यारो पुनरावृत्ति मात्र हो भन्दा सायद गल्ति नहोला ।

तसर्थ, वर्तमान समयमा पाइलटको व्याक्तिगत टकरावले नेकपाको विमान निश्चित गन्तव्यमा नपुग्दै दुर्घटनाको मुखमा पुगेको छ । यदी दुर्घटना भएमा, पाइलटद्धय मात्र होइन सर्वसाधरण जनताको भविष्य र र मुद्दाहरु पनि ओझेलमा पर्न सक्छन् । जुन विचार र मुद्दाको खातिर जनताले आफ्नो अभिमत नेकपालाई दिएको थियो । आज ती मुद्दाहरु तुहाउँने छुट भने नेतृत्वलाई यो र त्योको वहानामा कदापी छैन् । त्यसकारण, नेकपाको विमानलाई गन्तव्य स्थानसम्म उडान गर्न पाइलटदयले विधिलाई मान्नुपर्छ । जनताको भावनालाई आत्मासाथ गर्दै ठूलो त्याग गर्न सक्नुपर्छ । व्याक्तिगत टकरावलाई निस्तेज पार्दै राष्ट्र र जनताको संवृद्धिमा मरिमेटेर लाग्न सकिएमा मात्र देशको विकास सम्भव छ । नत्र नेकपा विमान भयंकर दुर्घटनाको संघारमा छ ।

निकै दुःखको कुरा ‘युएस बंगलादेश २११’ विमानलाई दुर्घटनाबाट बचाउन पाइलटले हरेक प्रयत्न गरेकै थिए, तर उनी विफल भए । अन्ततह, कहालीलाग्दो र दुःखद दुर्घटना जनताले भोग्नु पर्यो । त्यसैले, यहाँ बुझ्नुपर्ने कुरा के हो भने ‘युएस बंगलादेश २११’ विमानलाई विभत्स दुर्घटनाबाट बचाउँन त कति गर्दा पनि सकिएन । तर, नेकपाको समाजवादी विमानलाई अकल्पनीय र अनिच्छा गरिएको दुर्घटनाबाट भने बचाउँन सकिन्छ । किनभने त्यसको लागि प्रशस्त समय छ, उपायहरु धेरै छन् । तर, ‘रामको जन्मभूमी’ कहाँ र कहिले भन्दै विमान चालकले बेतुकको काममा समय खर्चिएमा राजनीतिक आकाशमा उक्त विमान भने ‘कुहिरोको काग’ झैं बन्ने निश्चित छ । किनभने नेकपा विमानको गन्तव्य भने ‘अयोध्या नगरी’ होइन, संविधानमा प्रावधान गरिएको जनताको ‘समाजवाद’ हो । त्यसकारण, धैर्य गरौं एउटा विमान चालकको रुपमा महत्वपूर्ण जिम्मेवारी बहन गरेका कमरेड ओलीले ढिलै भएपनि त्यो खतरनाक दुर्घटनाबाट बच्नका लागि नेकपाको केन्द्रीय ‘टावरमा’ पक्कै सम्पर्क गर्नेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *