उच्च अदालत जनकपुरधामका न्यायाधीशमा कोरोना संक्रमण

१७ श्रावण २०७७, शनिबार १७:१९ मा प्रकाशित

धनुषा । उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुईजना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पचास वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामा एक जनाको पोजिटिभ देखिएको हो ।

न्यायाधीशमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ देखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एसोसिएशनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ ।

प्रदेश २ मा न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको यो दोस्रो केस हो । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । रासस

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार