शिक्षामा तामाङ भाषा र लिपिको कार्यदिशा

२ श्रावण २०७७, शुक्रबार २१:०० मा प्रकाशित

विषय सन्दर्भ

पृथ्वीनारायण शाह (वि.सं.१८२५) देखि वि.सं. २०७७ सालसम्म करिब २५२ वर्षको अवधिमा राजा, राणा र राजा शासन हुँदै प्रजातन्त्रको स्थापनादेखि वर्तमान लोकतान्त्रिक गणतान्त्रिक शासकीय व्यवस्था स्थापना हुँदासम्म सरकारी कामकाजको भाषाका रूपमा नेपाली भाषाको एकल वर्चस्व रहेको देखिन्छ।बहुभाषिक मुलुक नेपालमा जातीय/भाषिक समानता, न्याय र अधिकार प्राप्तिका लागि विरोध, आन्दोलन र सशस्त्र द्वन्दको मार समेत नेपाली जनताले भोगेको कटु यथार्थ बनेको छ।भाषिक र जातीय विविधताको सम्बोधनका लागि जातीय/भाषिक समुदायको आवाजको राणा र राजाको शासनकालभरि कुनै सुनुवाइ नहुनु अस्वभाविक रहेन।तथापि वि.सं.२०४७ मा प्रजातन्त्रको पुनर्स्थापनापछिको नेपालको संविधान, २०४७ मा नेपालका सबै भाषाहरूले राष्ट्रिय भाषाको दर्जा प्राप्त गर्न पुगेका छन् भने नेपालको अन्तरिम संविधान, २०६३ सम्म आइपुग्दा आधारभूत तहसम्मको शिक्षा मातृभाषामा पाउने प्रावधानको व्यवस्था हुन पुग्यो।नेपालको संविधान २०७२ ले त नेपालको हरेक नागरिकलाई आफ्नो भाषा, लिपि र संस्कृतिको अधिकार संरक्षण गर्ने संवैधानिक हक प्रदान गरेको छ।साथै संविधानको धारा २८७ मा भाषा आयोगको गठन गरी भाषिक व्यवस्थापनको लागि नेपाल सरकारलाई सिफारिस गर्ने संवैधानिक जिम्मेवारी प्रदान गरेको छ।

मातृभाषामा शिक्षाको लागि वि.सं. २०५४ सालबाट मातृभाषा विषयलाई प्राथमिक तहको पाठ्यक्रम, २०४९ मा समावेश गरी पठनपाठनको व्यवस्था गरेअनुसार पाठ्यक्रम विकास केन्द्रबाट मातृभाषाको पाठ्यपुस्तक विकास र प्रकाशन गर्न थालनी गरेको हो। यस २६ वर्षको अवधिमा पाठ्यक्रम विकास केन्द्रबाट वर्षको १ मातृभाषाको पाठ्यपुस्तक विकास र प्रकाशन गर्दै जाँदा पनि २६ मातृभाषाहरूको मात्र पाठ्यपुस्तक तयार भएको अवस्था छ।जबकि नेपालमा जनगणना (२०६८) काअनुसार १२३ भाषा र भाषा आयोगबाट पहिचान गरिएका थप ६ वटा भाषा गरी १२९ भाषाहरू रहेका छन्। यत्तिका सङ्ख्याको भाषालाई यही गतिमा पाठ्यक्रम विकास केन्द्रबाट मातृभाषाको पाठ्यपुस्तक विकास गर्ने हो भने अब २०३ वर्षमा बाँकी मातृभाषाले एक/एक थान मातृभाषाको पाठ्यपुस्तक पाउने अवस्था छ।तथापि हाल संविधानतः माध्यमिक तह (कक्षा १-१२) सम्मको शिक्षा दिने अधिकार र भाषाको संरक्षण विकासका साथै मातृभाषामा शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरिएको हुँदा त्यहाँबाट तीब्र गतिमा मातृभाषामा शिक्षाको कार्यक्रम सञ्चालन हुने आशा गर्ने ठाउँ एकातिर छ भने  अर्कोतर्फ स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, अभिभावक र विद्यालयमा मातृभाषा शिक्षासम्बन्धी अज्ञानता र भ्रमको कारण यसको बदला अङ्ग्रेजी माध्यम र विषय पठपाठनलई अनिवार्य गर्दै जाने प्रवृत्ति देखा परेको मात्र छैन।यस्ता कार्य गर्नमा केही स्थानीय तहहरू अग्रसर भएको तीतो सत्य हाम्रा सामु छन्।

उल्लिखित मातृभाषा विषय शिक्षा भनेको विविध भाषिक पृष्ठभूमिको शिक्षामा भाषिक माध्यमको आवश्यकताअनुसार नभई भाषाको सिकाइ हो।जसरी नेपाली,अङ्ग्रेजी, संस्कृत, जापानिज आदि भाषा विषयको रूपमा पठनपाठन हुन्छ, त्यस्तै हो मातृभाषा विषयको पठनपाठन पनि।यसले भाषाको सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्तो बोध र अभिव्यक्ति सीप र सामर्थ्यको विकासमा जोड दिन्छ।भनूँ यो कुनै भाषा सिकाइ मात्र हो तर मातृभाषामा शिक्षा होइन।मातृभाषामा शिक्षा भनेको विद्यालयमा अध्ययनरत बालबालिकालाई उसैको घरमा बोलिने भाषा बोलेर शिक्षणसिकाइ गर्ने पद्धति हो।तर मातृभाषामा शिक्षा भन्नाले एकल तामाङ, मैथिली भाषामा मात्र पठनपाठन नभई नेपाली र अङ्ग्रेजी भाषाको पनि सँगसँगै प्रयोग गरिने मातृभाषामा आधारित बहुभाषिक शिक्षा हो ।नेपालको सन्दर्भमा अनौपचारिक रूपमा विद्यालयमा शिक्षकले कक्षामा एक भन्दा बढी भाषा बोलेर पढाउने गरिए पनि औपचारिक रूपमा चाहिँ बहुभाषिक शिक्षा परियोजना (सन् २००७-२००९) सम्म नेपालको ६ जिल्लामा ७ वटा मातृभाषाहरूबाट ८ विद्यालयमा पठनपाठन गरिएको देखिन्छ।त्यसपछि भने औपचारिक रूपमा कुनै भाषा र विद्यालयमा मातृभाषामा शिक्षा प्रदान गरिएको अभिलेख सम्बद्ध निकायमा दर्ज हुन सकेको छैन।यसरी मातृभाषामा शिक्षाको यात्रा बहुभाषिक शिक्षा योजनाको प्रयोग र परीक्षण भन्दा अगाडि बढ्न नसक्नु बहुभाषिक नेपालको लागि हास्यास्पद पक्ष हुन पुग्यो भन्दा फरक पर्दैन।

तामाङ भाषामा शिक्षा र लिपि

विद्यालयमा तामाङ भाषा सिकाइको लागि पाठ्यक्रम विकास केन्द्रबाट वि.सं. २०५४ सालबाट थालनी गरेर देवनागरी लिपिमा तामाङ भाषाको पाठ्यपुस्तक कक्षा १-५ सम्मको लागि तयार गरी प्रकाशन भएको पाइन्छ।तथापि उक्त पाठ्यपुस्तक कति विद्यालयमा पठनपाठन भयो भन्ने कुनै आधार र अभिलेख पाइएको छैन।त्यसपछि पाठ्यक्रम विकास केन्द्रबाट वि.सं.२०६७ सालपछि सम्भोटा लिपिमा लिखित तामाङ भाषाको कक्षा १-१० सम्मको पाठ्यपुस्तक विकास गरी प्रकाशन भएको छ।उक्त पाठ्यपुस्तक विभिन्न जिल्लाका केही विद्यालयहरूमा कक्षा १-५ सम्म पठनपाठन भएको पाइन्छ।त्यसैगरी वि.सं.२०६९ सालमा नेपाल तामाङ घेदुङबाट तामयीग लिपिमा पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिमा तयार पारिएको पाठ्यपुस्तक केही विद्यालयमा पठनपाठन भएको भनिए पनि त्यसको अभिलेख कोही कसैले राखेको देखिँदैन।यसरी विद्यालय शिक्षामा तामाङ भाषा विषय कुनै तामाङ भाषिक समुदायको प्रभाव, दबाब र अग्रसरतामा अघि बढेको देखिन्छ।तर भाषा सिकाइजस्तो प्राज्ञिक, शैक्षिक, मनौवैज्ञानिक, सांस्कृतिक/सामाजिक पक्षलाई राज्य र समुदायको तर्फबाट उचित ध्यान, गम्भीरता र योगदान दिन सकेको पाइँदैन।फलतः तामाङ भाषा विषय पठनपाठन मौसमी भई केही वर्ष पठनपाठन हुने विस्तारै शून्यमा पुग्ने अवस्था छ।यसका पछाडि विभिन्न कारणहरू रहेका छन् जसको खोजी गरी निराकरण गर्नुको विकल्प छैन।

तामाङ मातृभाषामा शिक्षा भ्रम र यथार्थ

नेपालको सन्दर्भमा मातृभाषामा शिक्षा त्यस्तो विषय बनेको छ कि यसलाई सतही रूपमा सबैले बुझ्दछन्, तर वास्तवमा गहिराइमा पुगेर यो के हो र कसरी लागू गर्ने  भन्ने चाहिँ अधिकाँश मानिसले बुझ्दैनन्।तसर्थ मातृभाषामा शिक्षा होस् वा तामाङ भाषामा शिक्षा नै किन नहोस् यसको बारेमा माथिल्लो तहदेखि तल्लो तहसम्म अवधारणागत अस्पष्टताको कारण मातृभाषामा शिक्षा कुहिराको कागजस्तै भएको छ भन्न सकिन्छ।अनेक भ्रम र यथार्थ वा मिथककाबीच मातृभाषामा शिक्षा मातृभाषा समुदायको लागि भावनाको कुरामा सीमति हुन पुगेको देखिन्छ भने माथिल्लो वर्गको लागि बुद्धिविलासको साधनजस्तो भएको छ।यससम्बन्धी केही भ्रम र यथार्थ निम्नानुसार प्रस्तुत छन्:

भ्रम र यथार्थ-१

तामाङ मातृभाषमा शिक्षा भन्नाले तामाङ भाषा विषय पठनपाठन गर्नुलाई बुझ्नु।तर मातृभाषामा शिक्षा भनेको सामाजिक, गणित र विज्ञान जस्ता विषयलाई तामाङ भाषासहित नेपाली र अङ्ग्रेजी भाषा समेत बोलेर पढाउने मातृभाषामा आधारित बहुभाषिक शिक्षणसिकाइ पद्धति भन्ने बुझ्न र बुझाउन नसकिनु।तर तामाङ भाषा विषय पढाउनु भनेको तामाङ मातृभाषामा शिक्षा होइन, यो तामाङ भाषाको सुनाइ, बोलाइ, पढाइ र लेखाइसहितको भाषिक क्षमताको विकास गर्नु हो।

भ्रम र यथार्थ-२

तामाङ भाषा विषयको शिक्षणभनेको लिपि शिक्षण भन्ने बुझ्नु।जबकि तामाङ भाषा सिकाइ वा तामाङ भाषा विषय सिकाइ भनेको अङ्ग्रेजी र नेपाली भाषा विषयजस्तै उक्त विषयको सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता भाषिक सीप सिकाउनु हो।लिपि भनेको उक्त भाषिक अभिव्यक्तिको साधन मात्र हो।त्यसलाई देवनागरी, सम्भोटा र तामयीग जुन लिपिमा लेखिए पनि तामाङ भाषाको लागि हो।अहिले प्रचलनमा रहेका ३ वटै लिपि तामाङ भाषालाई व्यक्त गर्ने सङ्केत मात्र हुन्।तथापि लिपिले भाषालाई परिचय तथा मौलिकता दिने काम भने गर्दछ।तर लिपिको कारण न कुनै भाषा बाँच्छ न त मर्छ। भाषा विषय पढ्नु भनेको लिपि सिक्नु मात्र होइन, लिपि त भाषिक ध्वनिलाई सङ्केतमा ढाल्नु मात्र हो।तर तामाङ भाषा विषयको पठनपाठनमा तामाङ भाषाको लेखन अभिव्यक्तिको लागि कुन लिपिसहितको लेखन प्रणाली अपनाउने भन्ने दुविधा छ।तामाङ भाषालाई केन्द्रमा राखेर यस भाषाको संरक्षण, संवर्धनको लागि सरलदेखि जटिलताको क्रममा देवनागरी, तामयीग र सम्भोटा लिपि जसरी प्रयोग हुँदै आएको छ।उक्त तिनवटै लिपि तामाङ समुदायले प्रयोग मात्र गरेको छैन रस्वीकारेको पनि देखिन्छ।फेरि, तामाङ भाषामा लेखनका लागि बहुलिपिको प्रयोग नै तामाङ समुदायमा एकमत नभई आपसी विवादको विषय मात्र हैन, तामाङ भाषाको लागि ऐँजेरू सावित भएको छ।

अहिलेसम्मको अभ्यास हेर्दा तामाङ भाषा विषय शिक्षणका लागि सम्भोटा लिपिमा लिखित तामाङ भाषा विषय र तामयीग लिपिमा लिखित पाठ्यपुस्तकको प्रयोगका साथै पठनपाठनको लागि प्रदत्त तालिम चाहिँ लिपि प्रशिक्षणमा सीमित भएको पाइन्छ।तर भाषा विषय शिक्षणको तालिम भनेको भाषा सिकाइको सिद्धान्तअनुसार सुनाइ, बोलाइ, पढाइ र लेखाइका लागि भाषा साहित्यिक विधा, भाषातत्व (व्याकरण), भाषिक परीक्षण र मूल्याङ्कन लागि तालिम भन्ने कुनै भेउ पाएको देखिँदैन।जसको कारण कक्षा ४ सम्मका एकाध विद्यार्थीले मात्रसम्भोटा लिपिमा लिखित पाठ्यपुस्तक पढेर नामसम्म लेख्न सक्ने  र सम्भोटा लिपिमा लिखित पाठ सार्ने बाहेकको भाषिक दक्षता हासिल गर्न सकेको पाइँदैन।

भ्रम र यथार्थ-३

एकल तामाङ भाषिक भेद र एकल लिपिवादी एकलकाँटे सोच, संस्कार र व्यवहार नै तामाङ भाषाको प्रयोग विस्तारको बाधक हो।तामाङ भाषाको सामाजिक/सांस्कृतिक तथा क्षेत्रीय भेद रहेका छन् जसलाई एउटै बनाउन सकिँदैन त्यसरी नै एउटा मात्र लिपि मात्र प्रयोग हुने सम्भावना कम छ वा व्यवहारतः असम्भव नै देखिन्छ।भाषा र लिपिको प्रयोग भाषिक प्रयोक्ताको सहजताका लागि मात्र नभई बोधगम्यताको लागि पनि हो अनि अर्को कुरा प्रयोक्ताको छनोट स्वतन्त्रता पनि हो।यो कुनै तामाङ समुदायले अर्को तामाङ समुदायलाई लाद्ने (थोपर्ने) विषय होइन।तर सबैको साझा सहमतिमा साझा मानक तामाङ भाषावा लिपिलाई अपनाउन नसकिने होइन।यसका लागि नेपालका तामाङ समुदायको आम सहमति र स्वीकृति आवश्यक पर्दछ।जस्तो बाग्मती प्रदेशमा सरकारी कामकाजको भाषा तामाङ अबलम्बन गरिएको अवस्थामा भने सबैले बुझ्ने तामाङ भाषाको प्रयोग र सबैले स्वीकार्ने लिपिको प्रयोग गर्नुपर्ने हुन्छ।त्यसका लागि नेपाली र अङ्ग्रेजी भाषामा जस्तै लेख्य तामाङ मानक रूपको विकास गरी प्रयोग गर्न सकिन्छ वा भाषा आयोगजस्ता संवैधानिक संस्थाले मूल्याङ्कन गरी कुनै उपयोगी लिपिलाई सिफारिस गर्न सक्छ।

भ्रम र यथार्थ-४

सदियौँको एकल नेपाली भाषिक मानसिकता र विश्वव्यापी अङ्ग्रेजी भाषाको उपनिवेशीकरणले अङ्ग्रेजी भाषाविना त सास फेर्न नै सकिँदैन कि ? संसारै चल्दैन कि ? आफ्नो तामाङ भाषा त घरैमा सिकेको छ।विद्यालयमा त नेपाली र अङ्ग्रेजी सिक्ने हो।त्यसका लागि नेपाली र अङ्ग्रेजी सरमिसले प्रयोग गर्नुपर्ने सोच अभिभावक त के शिक्षकदेखि उच्च तहको नीति निर्मातामा रहेको छ।जबकि मातृभाषी बालबालिकाले विद्यालयको माध्यम भाषा नबुझ्दा पठनपाठन बुझ्ने त कुरै छोडौँ । विद्यालयमा विद्यार्थीलेपानी पिसाब गर्नको लागिसमेत संवाद गर्न नसकेको अवस्था छ।अर्को पक्ष हो निजी विद्यालय र सामुदायिक विद्यालय शिक्षाको माध्यम भाषाले भ्रम सिर्जना गर्नु।निजी विद्यालयको परीक्षा नतिजाको अङ्कमा उच्च देखिनु जसको कारण अङ्ग्रेजी माध्यमले हो भन्ने ठानिनु।अर्कोतिर सामुदायिक विद्यालयको सिकाइ उपलब्धि अङ्कमा कमजोर सावित हुनु, यसको कारण नेपाली माध्यमलाई मानिनु।सामुदायिक विद्यालयको नतिजामा कमी आउनुमा सामुदायिक विद्यालयको कमजोर व्यवस्थापन र कमजोर उत्तरादायित्व निर्वाह गरिनाले हो भने निजी विद्यालयमा नतिजामूलक व्यवस्थापन र सशक्त उत्तरदायित्व निर्वाहले हो।

भ्रम र यथार्थ-५

मातृभाषालाई माध्यम र विषयका रूपमा कक्षागत स्तर, विद्यार्थीको क्षमता, आवश्यकता र औचित्यको आधारमा प्रयोग गर्ने ज्ञान नहुनु।जस्तो भाषा विषय कक्षा १ देखि नै पढाउँदा राम्रो हुने भनी अङ्ग्रेजी विषय अनिवार्य गरिनु।त्यसैगरी मातृभाषा विषय पनि कक्षा १ देखि नै लागू गरिनु।यी कार्यहरू सबै शिक्षामा भाषाको प्रयोगसम्बन्धी अज्ञानता, अनुभवहीनता र मातृभाषामा शिक्षाको सिद्धान्त विपरीतको हचुवा कार्य हो जसको दलदलमा नेपाली शिक्षा पद्धति नराम्ररी फस्दै आएको छ।मातृभाषामा स्थापित विश्वव्यापी सिद्धान्तअनुसार बालबालिकाले कम्तीमा पनि ६ वर्षसम्मको शिक्षा मातृभाषामा पाउनुपर्ने (तामाङ भाषा) त्यसपछि क्रमशः नेपाली भाषा हँदै अङ्ग्रेजी माध्यमबाट शिक्षा दिन सकिन्छ।साथै कम्तीमा पनि कक्षा १-३ सम्म मातृभाषाको माध्यमबाट शिक्षा दिई त्यसभन्दा माथि मातृभाषा विषय पढाउन सकिने स्थापित मान्यता र सिद्धान्त छन्।तर व्यवहारमा यसका विपरीत कक्षा १ देखि नै माध्यमको रूपमा मात्र नभई विषयका रूपमा समेत अङ्ग्रेजी र मातृभाषा विषय पढाउने भूल मात्र नगरी महागल्ती हाम्रो शिक्षा प्रणालीले गर्दै आएको छ जसको प्रभावस्वरूप आमजनमानस नै दिग्भ्रमित छन्, अन्योलमा छन्।परिणामस्वरूप वर्षेनी शैक्षिक क्षति बढ्दै गएको छ।तर मातृभाषा गुमाएका विद्यार्थीका लागि भने कक्षा १ बाटै तामाङ भाषा विषयको थालनी गरी भाषा सिकाइतिर प्रवृत्त गराउँदै भाषाको पुनर्स्थापना गर्दै जानुपर्ने देखिन्छ।

भ्रम र यथार्थ-६

मातृभाषामा शिक्षाको माध्यमबाट सामुदायिक विद्यालय शिक्षाको सुधार गरी उच्च सिकाइ उपलब्धि हासिल गर्नुसित नजोड्नु।नेपाली र अङ्ग्रेजी विषयलाई पहिलो भाषाको रूपमा सिकाउँदा गैरनेपाली मातृभाषी विद्यार्थीको नेपाली भाषामा सुधार नआउँदा अभिभावकमा नेपाली र अङ्ग्रेजी भाषामा कमजोर हुने भय सिर्जना हुनु।यसका लागि विद्यालय शिक्षा कक्षा १ देखि नै नेपाली र अङ्ग्रेजी भाषालाई दोस्रो वा विदेशी भाषा सिकाइका सिद्धान्तअनुसार नसिकाइँदा ठूलो भ्रम सिर्जना भएको छ।फलस्वरूप तामाङ भाषा घरैदेखि मासिँदै आएको छ भने नेपाली राम्रो बनाउने बहानामा वा भ्रममा परी घर परिवारमा तामाङ भाषाको सट्टा नेपाली नै बोल्न थालेपछि तामाङ भाषाको पुस्तान्तरण हुने कुरै भएन। तसर्थ क्रमशः तामाङ घरपरिवारमा तामाङ भाषा त्यागिँदै वा मर्दैछ, नेपाली भाषा राम्रो बनाउने नाउँमाम अनि विद्यालयमा नेपाली माध्यम भएको कारण।तसर्थ विद्यालय शिक्षामाविषयका रूपमा पठनपाठन हुने नेपाली र अङ्ग्रेजी भाषा विषयको शिक्षालाई प्रभावकारी बनाउन अपरिहार्य छ।

शिक्षामा तामाङ भाषा र लिपिको कार्यदिशा

शिक्षामा तामाङ भाषाको इतिहासलाई हेर्दा अनौपचारिक शिक्षाबाट प्रारम्भ भई तामाङ भाषा विषय हुँदै तामाङ भाषाको माध्यमबाट पठनपाठनसम्म आइपुगेको छ।तथापि यसको प्रयोग विस्तार भने अपेक्षित रूपमा हुन सकेको छैन।जसका पछाडि माथिका भ्रम वा अन्योल जिम्मेवार रहेका छन्।मूलतः तामाङ भाषालाई शिक्षाको माध्यम वा विषय भन्नेमा नै अस्पष्टता र अर्को कुन लिपिको प्रयोग गरी तामाङ भाषाको लेखन गर्ने भन्ने विवाद चक्रव्यूहमा तामाङ भाषा गिजोलिरहेको छ।जसको मूल कारण तामाङ भाषामा शिक्षाको बारेमा अनभिज्ञता, अज्ञानता, अल्पज्ञान हो भने अर्कोतर्फ एकल तामाङ भाषिक क्षेत्रीय भाषिक भेद र एकल लिपिको प्रयोग गर्ने एकांकी, कित्ताकाटे र एकल अतिवादी बुद्धिको दुष्परिणति हो।वर्तमान राष्ट्रिय र विश्व परिवेशमा बहुलता, विविधता र बहुसत्यलाई सम्बोधन गरी जान नसके कुनै समुदाय, समाज र राष्ट्रले सफलता र समृद्धि हासिल गर्न सकिने अवस्था छैन।तसर्थ शिक्षामा तामाङ भाषा र लिपिको आगामी कार्यदिशा बहुल सोच, विचार, भाषा, लिपि भावनालाई देहायअनुसार सम्बोधन गर्नु व्यावहारिक ठहरिन्छ भन्ने लाग्छः

कार्यदिशा १: तामाङ भाषा माध्यमका रूपमा

कक्षा १ देखि ३ सम्म तामाङ भाषालाई माध्यमका रूपमा अबलम्बन गर्ने तर अपवादमा तामाङ भाषा नजान्नेका लागि कक्षा १ देखि नै तामाङ भाषा विषय चयन गरी पठनपाठन गर्न सकिन्छ।तर तामाङ भाषा विषयमा सरलताको लागि देवनागरी लिपिलाई कक्षा १-३ सम्म प्रयोग गर्नु बालस्तर, क्षमता र आवश्यकता अनुकूल हुने देखिन्छ।तर बहुलिपिको दृष्टिमा भाषा आयोगले लिम्बू भाषामा कक्षा १ मा देवनागरी लिपि र सिरिजङ्गा दुवै लिपिको एकसाथ प्रयोग गरेजस्तै कक्षा १-३ सम्म देवनागरी लिपिसँगै तामयीग लिपि प्रयोग गरी द्विलिपिको प्रयोग गरी तामयीग लिपितिर प्रवृत गराउनु बढी वस्तुगत र बाल आवश्यकतामा आधारित हुन सक्छ ।

कार्यदिशा -२ तामाङ भाषा विषयका रूपमा

तामाङ भाषालाई कक्षा१-३ सम्म माध्यमका रूपमा अबलम्बन गरी त्यसपछि कक्षा ४ देखि तामाङ भाषालाई विषयका रूपमा कक्षा १० सम्म निरन्तरता दिने।यसो गर्दा तामाङ भाषाले माथिल्लो तहसम्म निरन्तरता पाउनका साथै तामाङ भाषामा अङ्ग्रेजी  र नेपाली भाषामा जस्तै सीप र सामर्थ्य विकास गर्न सकिने देखिन्छ।

कार्यदिशा-३ लिपिको कक्षागत मिलान वा क्रम निर्धारण

तामाङ भाषा विषयअन्तर्गत लिपिको प्रयोग पनि पर्ने हुँदा बहुलिपिको प्रयोग गर्ने। जसका लागि सरलतादेखि जटिलताको शिक्षाको सिद्धान्तअनुसार कक्षा १-३ सम्म देवनागरी लिपिको प्रयोग गर्ने।यसो गर्दा विद्यार्थीलाई तल्लो कक्षामा लिपिगत सङ्केतको भार पर्दैन।विद्यालय शिक्षाको कक्षा ४ देखि कक्षा ८ सम्म तामयीग लिपिको प्रयोग गर्ने र  कक्षा ९देखि १ मा सम्भोटा लिपिको प्रयोग गर्ने।यसो गर्दा तामाङ भाषामा हाल प्रयोग भएको ३ वटै लिपिको बाल स्तर, आवश्यकता र क्षमताअनुसार क्रमशः तल्ला कक्षादेखि माथिल्लो कक्षासम्ममा क्रमिक रूपमा प्रयोग  गर्दै जानुपर्ने हुन्छ।जसको कारण तामयीग र सम्भोटा लिपिको बीचमा पुलेसो तयार भई एकातिर सम्भोटा लिपिको सरलीकृत रूप तामयीग लिपि सिकिसकेको हुन्छ भने त्यसपछि शास्त्रीय सम्भोटा लिपिमा सिक्ने अवसर मिल्छ।फलतः सुरूका कक्षा ४-८ सम्म सरलीकृत तामयीग लिपि प्रयोग भई कक्षा ९ देखि सम्भोटा लिपिको प्रयोग गरेमा सिकारूको यस प्रकारको द्वैध लिपिगत ज्ञान र सीपबाटबौद्ध धर्मसम्बन्धी शास्त्रीय ज्ञान छिचोल्न सम्भव हुन्छ।साथै सिकारूले माथिल्लो कक्षा ९ देखि माथि पनि तामयीग लिपिमा लिखित तामाङ भाषा विषय पढ्न चाहेमा उक्त लिपिमा लिखित तामाङ भाषा विषय पठनपाठनको व्यवस्था गर्नुपर्दछ।तर सिकारूलाई सम्भोटा लिपि र तामयीग लिपिबीचको भिन्नतासम्बन्धी पाठ्यवस्तु र व्याकरण पढाइ दुवै पक्षमा जानकार बनाउनु पर्दछ जसले गर्दा सिकारूले दुवै लिपिमा ज्ञान र सीप हासिल गरी दक्षता प्राप्त गर्न सकोस्।

कार्यदिशा-४ नीतिगत वा संस्थागत सिफारिस र कार्यान्वयन

भाषा आयोग ऐन, २०७४ मा स्थानीय तहका भाषाको नीतिगत वा संस्थागत व्यवस्था सम्बन्धी सिफारिस गर्ने व्यवस्था भएकाले भाषा आयोगको अभ्यास गरेको खाकाको अध्ययन अनुसन्धान कार्य गरी नेपाल सरकार, प्रदेश र स्थानीय सरकारलाई सिफारिस गरेमा शिक्षामा तामाङ भाषा र लिपिले आधिकारिकता र वैधानिकता प्राप्त भई सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने हुन्छ।तर भाषा आयोगको सिफारिस बेगर गईगरिएका कार्यहरू भने कानुनसम्मत र वैधानिक नहुने हुँदा सबै तहका सरकारले भाषा आयोगको सिफारिसमा आधारित भई भाषासम्बन्धी कामगर्नुको विकल्प देखिँदैन।

निष्कर्ष

मानवीय भाव र विचार सम्प्रेषणको सशक्त माध्यममा रूपमा मात्र भाषालाई नलिई यसलाई जातीय पहिचान, संस्कृति र संस्कारका रूपमा लिइन्छ।भाषा जहिले पनि वक्तासँगै बाँच्ने गर्दछ जब कुनै पनि भाषामा वक्ता शून्य हुन्छ तब त्यो भाषा मर्दछ। त्यो भाषा दस्तावेजी वा शास्त्रीय भाषामा कहलिन वा सीमित हुन पुग्छ।तसर्थ तामाङ भाषा होस् वा  अन्य भाषा तथा लिपि जुन सम्बद्ध समुदायको लागि स्वीकार्य, बोधगम्य, सम्प्रेषणयोग्य र सरल हुँदैन,तब त्यसको सार्थकता र औचित्य समाप्त हुन्छ।

बेनेडिक्ट एन्डरसनले मानिसलाई आपसमा जोड्छ भने रगतले होइन भाषाले जोड्छ भनेका छन्।त्यसैगरी तामाङहरूलाई जोड्छ भने रगतले भन्दा पनि तामाङ भाषाले जोड्न सक्छ तर लिपि जस्ता भाषिक साधनले तामाङ समुदायलाई जोड्नेमा भन्दा सम्बन्ध तोड्ने कारक बन्न पुगेको हाम्रो तीतो सत्य हो।किनभने हाम्रो सन्दर्भमा तामाङ समुदायको प्राण वा आत्माको आवाज मानिने तामाङ भाषालाई भन्दा भाषालाई व्यक्त गर्ने लिपिजस्ता सङ्केतलाई पछ्याउनु नै गलत हुन गएको छ, भाषा रहेमा जुन लिपिको प्रयोग गरेर पनि अभिव्यक्त गर्न सकिन्छ तर भाषा नै नरहेमा लिपिको अर्थ नै छैन।यसरी निरर्थकताको पछि लाग्नु बुद्धिमानी नभई शून्यवादी चिन्तन, सीमित व्यक्तिको अभिमान र अहङ्कारको प्रस्तुतिको विषय त बन्ला तर यो समग्र तामाङ जातिको पहिचान, आत्मसम्मान, एकता र सहअस्तित्वको लागि घातक र बाधक हो।त्यसकारण अब तामाङ भाषाको संरक्षण, संवर्धन र विकासको लागि तामाङ भाषामा केन्द्रित हुनु पर्दछ र लिपिलाई सामान्य भाषिक साधनको विषय बनाएर अघि बढ्नु नै व्यावहारिक ठहरिन्छ।

अन्तमा, विद्यालय शिक्षामा प्रयोग गरिने तामाङ भाषा र लिपि स्थानीय तामाङ भाषा हुनाका साथै लिपि पनि बालस्तर, आवश्यक्ता र क्षमताअनुकूल हुनुपर्दछ।अन्यथा उक्त कार्य बाल अधिकारको हनन, शैक्षिक अपराध र भाषिक थोपराइ मात्र हुन पुग्छ।बालअधिकारको बर्खिलापमा त्यस्तो कार्य गर्ने अधिकार कुनै व्यक्ति, संस्था, समुदाय, राज्य, सरकार कसैलाई पनि छैन भन्ने कुराको हेक्का सबैले राख्नै पर्दछ।

(लेखकले विद्यालयमा तामाङ भाषाको शैक्षणिक प्रयोग विषयमा विद्यावारिधि गर्नुभएकोछ)

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार