सपनाको शहरमा भौतारिएको म

२ श्रावण २०७७, शुक्रबार १९:३८ मा प्रकाशित

एउटा सपना थियो, मुलुकको समृद्धि विकास अनि जनताको सत्ता अर्थात जनतासत्ताको स्थापना । हो, यो एउटा साझा सपना थियो । यही सपना बोकेर हजारौँ युवाहरु आन्दोलनमा होमिए, त्यो आन्दोलन थियो, ‘जनयुद्ध’ । जुन १० वर्षसम्म चल्यो ।

हो, त्यही आन्दोलनमा दलित, आदिवासी जनजाति, महिला, थारु, मधेसी लगायत उत्पीडित वर्गको हित र सत्तामा समान पहुँचको नारा लिएर म पनि त्यही सपनाको निम्ति यो आन्दोलनमा सहभागी बने ।

त्यो आन्दोलनमा लाग्नु ठीक थियो वा थिएन ? त्यो बेग्लै समीक्षाको विषय हो । तर, अहिले म त्यो साझा सपना त्यागेर नीजि सपनाको लागि परदेशको एउटा सपनाको शहरमा छु ।

शान्तिकालपछि मैले देखेको सपना हो यो । मेरो सपना यो बन्यो कि परदेश जाने, २/३ वर्ष दुख गर्ने अनि गाउँमा पक्की घर बनाउने । त्यति मात्रै होइन, गाउँमा ठूलो व्यापार गर्ने अनि जिन्दगी सहज बनाउने । त्यसपछि राहदानी बनाएर ५४ केजीको सुकुटे शरीर लिएर गाउँ देखी काठमाडौ हिडे ।

काठमाडौ आएपछि एकजना मेनपावरका एजेण्टसँग भेट भयो । पहिलो भेटमा उसको सल्लाह थियो, ‘भाइ मलेसिया जाउ राम्रो छ, ओभरटाइम पनि गर्न पाउँछ, महिनाको खाएर ३० हजारभन्दा बढी बचत हुन्छ ।’

ती एजेन्टको कुरा सुनेपछि मेरो मनमा उमंग छायो । किनकी उसले ३० हजार त मेरो तलब नै भनेका थिए । अझ ओभरटाइम गर्न पाए त ४० हजार नै बचाउन सकिन्छ होला भन्ने मनमा लागेकै हो ।

मनमनै लाग्यो, यति भएपछि त ठीकै हुन्छ । त्यसपछि मेरो राहदानी उसको हातमा थमाए । मुहारमा मुस्कान लिएर अनि म आफ्नो गाउँ फर्किए । राहदानी बुझाएको ३ महिनापछि मलेसियाको फोम बन्ने कम्पनीको भिजा लागेछ । ती एजेन्टले फोन गरे, ‘भाइ तिम्रो भिजा आयो, सोमबार काठमाडौ आइपुग है, पौसा ल्याउन नबिर्सनु फेरि पैसा पूरा भएन भने त तिम्रो फ्लाइट हुदैन नि ख्याल गर्नु’

यति भनेपछि म ढुक्क भए । म खुसी भए । किनकी मलाई मेरो व्यक्तिगत सपनाको चिन्ता थियो । जुन पूरा हुने खुड्किलो देख्दै थिए म । मेरो भिजा आएको खबर मैले पहिलोपटक बुवालाई सुनाएँ । र भने, ‘बुवा म त बिदेश जाने भए पैसा खोज्दिनुस है, मलाइ एजेन्टले यहि सोमबार काठमाडौ बोलाएको छ ।’ बुवा खुसी हुनुभयो । र भन्नुभयो, ‘ल ल हुन्छ,पैसाको के चिन्ता बरु बिदेश गएर राम्रोसँग धन कमाएर आउनु धन कमाउने उमेर यहि हो, म त अब बुढेसकालले छोइसक्यो !’

बुवाको यो कुराले मलाई झन् जिम्मेवारी बोध भयो । भनेर धेरैकुरा एकछिन बाउछोराको दुख सुखको कुरा हुँदै थियो त्यतिकैमा आमा पनि घाँस काटेर आइपुग्नु भयो । आमा घाँसको भारी बिसाएर हामी भएकै ठाउँमा आइपुग्नुभयो । यतिकैमा बहिनी स्कुल जान तयार भइन् । र, बुवासँग ५ रुपैयाँ माग्न आइन् । बाबा मलाई आज ५ रुपैयाँ दिनुस्, मेरो कपि छैन, कपि र पेन्सिल किन्नुपर्ने छ भनेर बहिनीले बुवासँग भनिन् । जवाफमा बुवाले भन्नुभयो, ‘५ रुपैयाँ छैन, दुई रुपैयाँ लिएर जाउ आज पेन्सिल किन, कपि साथीहरूसँग मागेर केहि दिन काम चलाउ पछि कपि किन्ने पैसा दिउँला ।’

त्यसपछि आमालाई बुवाले भन्नुभयो, ‘हेर बुढी तेरो छोरा त अब बिदेश जादैछ, भिजा आइसक्यो अरे यहि सोमबार काठमाडौ जाने भन्छ ।’ आमाको मन न हो, यति सुनेपछि अमाले आँशु झारिन् । आँशु पुछ्ुदै भन्नुभयो, ‘छोरा तिमी परदेश जाँदैछौँ, राम्रोसँग आफ्नो ख्याल गर्नु, टाइममा खाना खानु, टाइममा सुत्नु, कसैसँग लडाइ झगडा नगर्नु ।’

आमाको आँखामा आँशु देखेर म पनि रोए । असारको महिना थियो । २०६७ सालको कुरा हो यो । सोमबारको दिन थियो । बिहानै घरपरिवारसँग बिदा लिएर काठमाडौ मुभ भए म । काठमाडौं आइपुगेको ३ दिन बितिसक्यो तर पनि मेरो फ्लाइट भएन । जान नपाउने पो हो कि ? कतै मलाई ठगेको पो हो कि ? भन्ने चिन्ताले मलाई सताउन थाल्यो । मैले एजेन्टलाई फोनमा सोधे, ‘ए, दाइ के हो ? ५ दिनभयो, मेरो फ्लाइट कहिले हो ? एजेन्टको जवाफ थियो, ‘पख न भाइ हुन्छ, एकजना भाइ आउदैछ, त्यो आएपछि तिमी दुबैजनाको एकैसाथमा हुन्छ !’

साथि पनि भयो ठिकै छ, भन्ने लागेर मन बुझाए बसे । यस्तैमा त्यो साथी पनि आइपुग्यो । एजेन्टले भेट्नेबित्तिकै पैसा खोइ भनेर सोधे, मैले पैसा थाङ्नोमा पोका पारेर ल्याएको थिए । बुझाएँ । पैसा बुझाएपछि एजेन्टले हामीलाई अर्कै मान्छेको जिम्मा लगाइदिए । उनी आफ्नो जिम्मेवारीबाट मुक्त बने । त्यो मान्छेले हामीलाई सुन्धारा लिएर गयो । त्यहाँ मेनेपावरको अफिस रहेछ, हामिलाइ के थाहा, त्यहाँ भित्र पुगेपछि मात्र थाहा भयो । भित्रबाट एकजना केटि मान्छे आई । उसले सोधी, ‘ए तिमिहरु हो मलेसिया जान लाग्या ?’ जवाफमा मैले डराइ–डराइ हजुर हो हामी दुइजना नै हो ।

ल ठिक छ तिमिहरु भाग्यमानी रहेछौ केटा हो राम्रो कम्पनीमा पर्याछौ ३ बर्षमा दह्रो पैसाकमाउछौ , भनेर ती केटिले भनिन् ,त्यो कुरा सुन्नासाथ झनै मनमा अथाह सपनाहरूले बाशगर्न थाले एकछिन ती केटिलाइ हेरेको हेरै भए, गाउँ बाट आएको केटो म त्यसतो छोटो कपडा लगाएको केटिमान्छे कहिले देख्या थिएन तिघ्रापनि सेता न सेता बाफ्रे बाफ एकछिन त असिनै छुट्यो !

त्यतिकैमा ती केटिले एउटा पेपर लिएर आइन् । यसमा तिमिहरुले हस्ताक्षर गर्नुपर्छ भनेर भनिन् । मलाई त्यो पेपर अर्थात कागजप्रति वास्तै भएन । उनले भन्नेबित्तिकै मैले हस्ताक्षर गरे । त्यसपछि मैले हस्ताक्षर गरेको पेपर उनले राखिन् । हामिलाइ अर्कै पेपर हातमा थमाइदियो !

त्यसपछि उनले भनिन्, ‘यो पेपर कसैलाइ नदेखाउनु मलेसिया पुगेर तिमिहरुको तलब आउने बेलामात्र खल्तीबाट निकालेर हेर्नू ।’

भनेर भनी हामिलाइ त्यतिकुरा के थाहा त्यो कागज एर्पोर्ट्मा देखाउनु पर्दोरहेछ पछिमात्र थाहा भयो, तर हामिलाइ कसैलाइ न देखाउनु भनेको कारण सिधै मलेसिया गएर हेर्ने मनसाय भयो ! त्यसपछि राहदानी र त्यो पेपर लिएर हामी एयर्पोर्ट आयौँ । २ बजेको समय थियो । जिएमजि एयरलायन्सको टिकट रहेछ, बंगलादेशको ट्रान्जिट रहेछ । त्यही पनि कहिले जहाज चढ्ने भन्ने सबै चेकजाँच भयो । जब सम्झौता हामीले चेक गर्यौ । मनमा छुट्टै खालको निरास पैदा भयो, निराश हुँदै हवाईजहाजमा चढ्यौ । हवाईजहाजले क्रमश जमिन छोड्न थाल्यो । मातृभूमिलाई छोडेर परदेशतिर हुइकिरहेको अनुभूति हुन थाल्यो मलाई । त्यसपछि आँखाबाट आँशु झर्न थाल्यो । जहाजभित्रका सबैको आँखामा आँशु थियो, सुक्कसुक्क आवाज सबैतिरबाट आइरहेको थियो ।

आमा बाबा श्रीमती ती स–साना फुलजस्ता छोरी आफ्नो जन्मघर साथीभाइ सबैको एकैपटक याद आयो । रुँदा–रुँदै केही बेरमा बंगलादेश ढाका एयर्पोर्टमा आइपुग्यौँ । ११ घन्टा बंगलादेशको एयर्पोर्टमै बसाइ भयो । ११ घन्टाको लामो बसाइपछि राती १२ बजेतिर मलेसिया एयरलायन्समा मलेसियाको लागि प्लेन छुट्यो ।

रातिको समय मलेसिया आएको पत्तै भएन । बिहान चार बजे मलेसिया ल्यान्ड भयो । मलेसिया ओर्लिएपछि भित्र प्रतीक्षालयमा राख्यौँ, मान्छेको भिड हेर्दा कुनै मेलाभन्दा कम छैन । बिहान १० बजेतिर कम्पनीको मान्छेले रिसिभ गर्न आयो ।

के–के पो हो सोध्दै थिए । भाषा बुझेनौँ । उसले जे भनेपनि जवाफमा एस एस भने । तारे कम्पनी पुग्दा दिउँसोको ३ बजिसकेको थियो । पेटमा मुसा दौडिरहेको थियो । खान खाउ पनि भन्दैन । अफिसमा २ घन्टा जति राखेर होस्टेलमा लिएर गयो । होस्टलमा जाँदा सबै साथिहरु डिउटीमा रहेछन् । केहिबेरपछि नेपाली साथीहरू डिउटीबाट आइपुगे । सबैसँग चिनजान भयो ।

हामी जम्मा तिनजना थियौँ । तिनैजनाको झोलामा चाउचाउ बिस्कुट छ, तर पकाउने साधन पानी खाने भाडो केहि पनि थिएन । हामीसँग त्यतिकैमा कम्पनीकै एकजना बंगलादेशी नागरिक आएर सोध्यो, ‘तिमिहरुले खाना पकाएर खान्छौँ की होटेलमा खान्छौ भनेर सोध्यो ? मैले जवाफमा भने हामी पकाएर खान्छौँ, हामीलाई ग्यास चुला केही भाँडाकुडा भए हुन्छ ।

बल्लतल्ल भाडाकुडाको बन्दोबस्ती भएपछि एउटा राहत मिल्यो । मनमा लाग्यो, कमसेकम पकाएर खान त पाइयो । तर भाँडाकुडा पाए पनि खानेकुरा अर्थात् पकाउने कुराको जोहो गर्नतिर ध्यान गयो ।

महिना दिन पुग्यो तलब पनि आयो तर सोचेजस्तो तलब आएन, वा भनौ सम्झौता अनुसारको तलब आएन, तै पनि मन बुझाउने मेलो बाहेक विकल्प पनि थिएन । जब पहिलो तलब बुझेपछि मेरा सारा सपनाहरु तुहिएझै भयो ।

त्यसपछिका दिनका आजसम्मका कयौँ पीडाका किस्साहरु छन् । जति सुनाए पनि सम्भव छैन । जेहोस्, विदेशमा जतिसुकै पीडा भए पनि हामी बस्न छौँ । नेपाल फर्किएर पनि के गर्ने ? हाम्रो देशको राजनीति मैँ खाउँ, मैँ लाउ अनि सुखमोज गरौँ भन्ने प्रवृत्ति छ । आफ्नै देशमा केही गरेर पेट पाल्ने सबैलाइ रहर हुन्छ तर त्यो वातावरण राजनीतिले कहिल्यै तयार गर्न सकेन । हामी नेपाली युवाहरु बाध्य र बिरक्त हुनुबाहेक अझै केही दशकसम्म अर्को विकल्प नै छैन ।

  • दिपक संघर्ष, सामाजिक अभियन्ता । रोल्पा, हाल : मलेसिया
अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार