स्थायी कमिटि बैठकमा प्रचण्ड–ओलीबीच घम्साघम्सी

१० असार २०७७, बुधबार २०:४९ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक सुरु भएको छ ।   पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी बैठकमा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले मन्तव्यमार्फत सम्बोधन गरेका छन् । 

बैठकमा अध्यक्षद्धयको तर्फबाट महासचिव विष्णु पौडेलले बैठकको कार्यसुची पेश गरेका छन् । स्थायी कमिटि सदस्यहरुको समेत सुझावको आधारमा ७ वटा कार्यसुची पास भएको छ । 

कार्यसुची अनुसार नै अध्यक्षद्धयले सम्बोधन गरेका हुन् । ‘त्यससँगै कोरोना भाइरस, सीमा समस्या, सरकारको समीक्षा, पार्टी कामको समीक्षा र पार्टीको सांगठनिक एकीकरणको बाँकी कामको पूर्णताको बारेमा, मिलिनियम च्यालेन्स कर्पोरेशन र विविध गरी सातवटा कार्यसूची तय भएको छ ।’ प्रवक्ता श्रेष्ठले भने, ‘रुकुम चौरजहारी घट्नाको सम्बन्धमा पनि छलफल माग भएको छ, नागरिकता विधेयकको बारेमा पनि छलफलको माग भएको छ, र अर्को कोभिड १९ को संकटको सन्दर्भमा सरकारले सबै कर्मचारीहरुको बैठक भत्ता, प्रोत्साहन भत्ता यो वर्षको लागि नदिने सम्बन्धमा संघीय सांसद र प्रदेश सांसदहरुले पनि नलिने भन्ने एजेण्डा पनि परेको छ ।’

‘एजेण्डाहरुको निर्णयपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष कमरेड ओलीले अहिलेको समग्र परिस्थितिमा सकारात्मक र कमजोर पाटाहरु, पार्टी, सरकार र समग्र देशको बारेमा समीक्षा गरौँ, यो बैठकले अत्यन्त सकारात्मक सन्देश दिने गरी बैठकमा जिम्मेवारीपूर्व छलफल अगाडि बढाऔँ भनेर अपिल गर्नुभएको छ ।’ ओलीको भनाई उदृत गर्दै बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘त्यसैगरी अध्यक्ष कमरेड प्रचण्डले पार्टी, कम्युनिष्ट आन्दोलन, देशको अहिलेको परिस्थिति र हाम्रो आदर्शलाई केन्द्रविन्दुमा राखेर हामीले निर्वाह गर्नुपर्ने जिम्मेवारीको बारेमा गम्भिर छलफल गरौँ र सकारात्मक निष्कर्ष निकालौँ, त्यसको लागि सबैले आआफ्नो कमजोरी स्वीकार गरौँ भनेर विषयवस्तु राख्नुभएको छ ।’

सम्बोधनमा प्रचण्ड–ओलीबीच घम्साघम्सी

बैठकलाई सम्बोधन गर्दैगर्दा अध्यक्षद्धय प्रचण्ड र ओली घम्सा–घम्सीमा उत्रिएका छन् । एकजना स्थायी कमिटि सदस्य भन्छन्, ‘यो पटक दुवै अध्यक्ष एक अर्काको आलोचनामा उत्रिनुभएको छ, पार्टी बैठकमा एकअर्का आलोचनामा उत्रिनुभएको यो पहिलोपटक हो ।’

ती स्थायी कमिटि सदस्यका अनुसार प्रचण्डले सरकारको आलोचना गरेका छन् । जनताको चाहना र पार्टी घोषणा अनुसार सरकारले काम गर्न नसकेको प्रचण्डको ठहर छ । सरकार समयमै नसच्चिए जनताले नेकपाको विकल्प खोज्ने प्रचण्डको चेतावनी छ । 

‘हामी बेलैमा नसच्चिने हो भने, अझै पनि हामीले हाम्रो कार्यशैलीमा सुधार नल्याउने हो भने जनताले हाम्रो विकल्प खोज्ने निश्चित छ’ प्रचण्डको भनाई उदृत गर्दै ती सदस्यले उज्यालो नेटवर्कसँग भने, ‘सरकारले गर्न सक्ने काम पनि गरेको देख्दिन ।’

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई थप मजबदुत बनाउनका लागि आफूले गरेको त्यागको कुनै मूल्यांकन नभएको समेत गुनासो गरेका छन् । उनले आफूलाई आलोपालो प्रधानमन्त्री हुने पूर्व सहमतिबाट पछाडि हटेकोमा पछुतो लागेको सुनाए । आफू पूर्व सहमतिबाट पछाडि हट्नुले पनि ओलीमा अहंकार बढेको सुनाए । 

त्यसैगरी प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रैबाट घेराबन्दी भएको गुनासो गरेका छन् । बाहिरी रुपमा घेराबन्दी भए पनि आफूलाई पार्टीबाटै भएको उनको गुनासो थियो । ‘मलाई पार्टीभित्रै घेराबन्दी गर्ने काम भएको छ, सरकारले राम्रो काम नगरेको होइन, असफल बनाउन नराम्रो काम मात्रै गर्यो भनेर भन्ने आफ्नै पार्टीभित्र निस्किए,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै एकजना स्थायी कमिटि सदस्यले भने, ‘पार्टीभित्र गुटबन्दी गर्ने, बहुमतको खेल खेलेर पार्टी फुटको संघारमा लैजाने तपाईहरु नै हो, यसरी कसरी चल्छ ?’

प्रधानमन्त्रीले आफूले समाजवाद उन्मुख कार्यक्रमहरु अगाडि सारेको भन्दै सम्बोधनको लामो समय सरकारको बचाउमा खर्चिए । प्रचण्डतिर संकेत गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘गुटबन्दी गरेर बहुमतको खेल अगाडि सारेर महाधिवेशनसम्म सहमतिमै अगाडि बढ्ने कुराको उल्लंघन गर्ने तपाईहरु नै हो ।’

स्थायी कमिटि बैठक पेचिलो बन्ने पक्का

प्रचण्ड–ओलीको घम्साघम्सी सहितको सम्बोधन सँगै पार्टी बैठक पेचिलो बन्ने पक्का भएको छ । 

बैठकमा अब स्थायी कमिटि सदस्यहरुले बोल्नेछन् । पार्टी अध्यक्ष प्रचण्डले पार्टी बैठकमा ओलीको यति धेरै आलोचना गरेको पहिलोपटक हो । 

यसले पनि यो बैठक अझ पेचिलो बन्ने निश्चित छ । एकजना स्थायी कमिटि सदस्य भन्छन्, ‘पार्टीलाई ठीक ढंगबाट चलाउन र सरकारको मनपरी रोक्न यो बैठक कोसेढुंगा सावित हुने निश्चित छ ।’

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार