कोरोना : प्रदेश नं ५ का स्थानीय तहका प्राथमिकता फेरिए

१० असार २०७७, बुधबार १७:३९ मा प्रकाशित

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण प्रदेश नं ५ का स्थानीय तहका प्राथमिकता फेरिएका छन् । प्रदेश नं ५ का अधिकांश स्थानीय तहले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट बनाएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रित गरेको छ ।

सातौंँ नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले आज कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिन् । रु एक अर्ब ८९ करोड २६ लाखको प्रस्तावित बजेटमा सामाजिक सुरक्षाको रु २५ करोडबाहेक चालूतर्फ ५२ करोड एक लाख अर्थात् ३१ दशमलव ६७ प्रतिशत र पूँजीगततर्फ रु एक अर्ब १२ करोड २५ लाख अर्थात् ६८ दशमलव ३३ प्रतिशत प्रस्ताव गरिएको छ । चालू आर्थिक वर्षको तुलनामा तिलोत्तमाले आगामी आर्थिक वर्षको बजेटको आकार रु ३५ करोडले बढाएको हो ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने तथा कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाई नगरवासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको बताइन् । बजेटमाथि नगरसभाको अर्को बैठकमा दफाबार छलफल हुने प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले बताए ।

खुशी जनता, समृद्ध तुलसीपुर
तुलसीपुर –दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि करीब रु दुई अर्बको बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले आज रु दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट प्रस्तुत गरिन् ।

पूँजीगततर्फ नगर, वडास्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि रु एक अर्ब ६८ करोड ४७ लाख र चालूतर्फ ६६ करोड २० लाख ६४ हजार विनियोजन गरेकी छिन् । पूँजीगतर्फ ७२ प्रतिशत र चालुतर्फ २८ प्रतिशत विनियोजन गरिएको हो ।

उपप्रमुख आचार्यका अनुसार स्वास्थ्य, कृषि, रोजगारी र शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ । ‘खुशी जनताः समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुरः राम्रो तुलसीपुर’ बनाउने लक्ष्यका साथ बजेट विनियोजन गरिएको उपप्रमुख आचार्यले बताइन् ।

शिवराजः कृषि र स्वास्थ्यलाई प्राथमिकता
चन्द्रौटा –कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि र स्वास्थ्यलाई प्राथमिकता दिने भएको छ । भएको सातौँ नगरसभामा आज नगरप्रमुख नेत्रराज अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा युवालाई कृषि मार्फत रोजगारीको सिर्जना गरिने बताए ।

नगरको अधिकांश जमीन उत्पादनमूलक रहेको र धान खेतीको प्रचूर सम्भावना भएकाले धान उत्पादन प्रवद्र्धन कार्यक्रम लागू गरिने भएको छ ।

त्यस्तै स्वास्थ्यतर्फ नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिई ८० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य जाँच, मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि दुई स्थानमा मनोपरामर्श एकाइ , महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच लाखको दुर्घटना बीमा, ‘बच्चा जन्माउने कहाँ वर्थिङ सेन्टर जहाँ’ अभियान सञ्चालन गर्ने, वीरपुर स्वास्थ्यचौकीमा वर्थिङ सेन्टर सञ्चालनमा ल्याउने कार्यक्रम छ । कोरोना भाइरसको जोखिममा पनि अग्रमोर्चामा बसेर काम गरेका स्वास्थ्यकर्मीलाई विशेष ध्यान दिइने नगरप्रमुख अधिकारीले बताए ।रासस

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार