को राष्ट्रवादी ? को राष्ट्रघाती ?

५ असार २०७७, शुक्रबार १७:४५ मा प्रकाशित

नेपालको राजनीतिक दुनियामा एउटा निकै चर्चित नाम हो राजेनद्र महतो । एउटा चर्चित र विवादस्पद व्यक्ति पनि । कुनैवेला भारतीय दुतवासमा गएर सबैभन्दा बढी चिया खाने मान्छे । भारतीय नेताहरुसँग अदृश्य रुपमा कुरा गर्ने, साठगाँठ अनि सम्बन्ध राख्ने व्यक्ति । ‘एक मधेश, एक प्रदेश’ को नारा खल्तीमा बोकेर हिड्ने मान्छे । विखण्डनकारी, साम्प्रदायिक र भारतीय दलालको आरोप खेपेका मधेशी नेता । तरपनि उनी मधेशी जनताको मसिया र विश्वासिलो पात्र । मधेशीहरुको न्याय, अधिकार, स्वतनत्रताको पक्षमा हिमाल झैं अटल एक बहादुर योद्धा । जो आन्दोलनमा मुड्की र लाठी खादै बेहोस भएको तपाई हामीले नदेखेको पनि होइन । मधेशी जनताको सामाजिक न्याय र अधिकारका खातिर राजनीतिक क्रान्तिमा होमिएको व्यक्ति । उहाँले प्राप्त गरेको जनताको अभिमत र साथले प्रष्ट देखाउँछ उनी मधेशका एउटा खुङखार नेता ।

तर, उहाँप्रति जेठ ३१ गते विहानसम्म शंका थियो । शंकाको वादलभित्र महतोको सेतो कपाल अनि कालो छाला भएको अनुहार वरिपरि घुमि रहेको भान हुन्थ्यो । संविधान संशोधन गर्नमा महतोको भूमिका के हुने ? मधेशी दलको भूमिका के हुने ? के निशान छाप परिवर्तन गर्न राजी छन् त ? भलै, अविश्वासका प्रश्नहरु नआएको होइन । किनकी विगतमा मधेशी राजनीतिक दल र नेतृतवले दक्षिणतिरको कुरा सुनेर जनतालाई दिएको अनेकन दुःख र सास्ती यति चाँडै भुलेका अवश्य छैनन् । त्यसकारण, जनताहरु किंकर्तव्यविमुढ थिए । तर, ती शंकाहरु क्षणभरका पानीका थोपा जस्तै भए । अविश्वास्नीय रुपमा महतोले संविधान संशोधनका दिन प्रतिनिधी सभामा निकै दम्दार भाषण गरे । सदन पूरै सुनसान र शान्त भयो ।

तीन करोड नेपाली जनताले बुझ्नेगरी गर्जिएर भने ‘मधेशीहरु राष्ट्रघाती होइनन्, देश बेचुवा को हो ? त्यसलाई टुँडिखेलमा लगेर झुण्ड्याउनु पर्यो ।’ उनका मधेशी लवजका ती आवज पक्कै पनि धेरैको कानमा अहिलेसम्म गुञ्जिरहेको होला । जसले करोडौं नेपालीको मन छोएको हुनुपर्छ । ‘मधेशीले कहिले सम्म अग्निपरीक्षा दिनु पर्ने ?’ उहाँले संसदमा प्रश्न गर्नु भयो । मधेशी जनता राष्ट्रियता, स्वाधीन्ता, अखण्डता र सार्वभौमिकताको सवालमा अन्य समुदाय झै एक इन्च तलमाथि छैनन् । जसले सीमा रक्षाको खातिर भारतीय एसएसबीको मुक्का, लाठी र बुट खाएर भिडेका छन् । मुत्युवरण गरेका छन् । हिजो देशको सीमाना रक्षाको लागि भक्ति थापा, भिमशेन थापा जस्ता देशका वीर सपूत वैरीसँग लडेका थिए । आज आफ्नो देशको सीमामा जंगेपिलर बचाउन मधेशी जनता छाती फुलाएर लडेका छन् भिडेका छन् । के तिनीहरु राष्ट्रघाती हुन् ?

मधेशी समुदायलाई नककली राष्ट्रवादको भुङग्रोमा हालेर विशेषगरी पहाडी समुदायले आफुलाई सक्कली राष्ट्रवादी भएको नाटक मंचन गरेको उहाँले आरोप लगाउँन पछि परेनन् । विगतमा राष्ट्रघाती संन्धि सम्झौताहरु कसले गरेका हुन ? महाकाली, टनकपुर, कोशी र गण्डकी जस्ता देश र जनतालाई बर्बाद गर्ने सन्धिहरु के मधेशीले गरेका हुन् ? लिम्पियाधुरा र कालापानी जमिन मधेशीले मिच्न दिएको हो ? यी सम्पूर्ण राष्ट्रघाती संझौताहरु विगतमा खस–पहाडी शासकले गरेका थिए जुन बेला मधेश र मधेशी जनता सबै भन्दा बढी दमन र शोषणको अचानोमा थिए । राज्यले उनीहरुलाई दोस्रो दर्जाको जनताको रुपमा व्यवहार गथ्र्यो । आज उसैले मधेशी जनतालाई राष्ट्रघाती, दलाल र देशद्राहीको नाम दिएर बदनाम गर्न खोजिन्दैछ । जुन कुरा किमार्थ जायज छैन । र, न्यायसंगत छैन् । राजेन्द्र महतोको भाषणको सार यही थियो ।
महतोको भाषणमा तीब्र पीडा, आवेग, तरंग र आक्रोशको समिश्रण थियो । त्यसको ज्वाला उनको अनुहारमा छचल्किएको प्रष्ट भान थियो । उनले प्रतिनिधी सभामा अभिव्यक्त गरेका असन्तुष्टिका मुहानहरु धेरै छन् । त्यसलाई संक्षिप्त रुपमा हेरौं ।

पहिलो, पृथ्वी नारायण शाहाले नेपालको एकिकरण गर्न पहल गरे । त्यसबेला एउटा खाल्डोलाई मात्र नेपाल भनेर चिनिन्थ्यो । गोर्खाबाट आएर नेपाललाई विशाल बनाउँन अभियान चलाए । ससना भुरे टाकुरे, बंशज राज्य, बाइसे चौबिसे जस्ता राज्यहरुलाई नेपालमा गाभ्दै देशको सीमाना फराकिलो बनाए । तर, नेपाललाई विशाल राज्य बनाउनु भन्दा अगाडि देखि नै मधेशमा फरक संसकृति भएका मानिसको बसोबास थियो । पृथक संस्कृतिको थलो थियो । जसको भूमी नेपालमा गाभियो तर मान्छेका मनहरु गाभिन सकेन् । उसका पहिचानलाई बुझ्न सकिएन । उसको थाकथलोलाई नेपाल भनियो तर त्यो थाकथलोमा उम्रिएको र मौलाएको रहनसहनलाई पूर्ण रुपमा आफ्नोपन बनाउन सयौं वर्षसम्ममा पनि सकिएको छैन । तसर्थ, भुगोलको मात्र एकिकरण भयो । जमिन मात्र नेपालमा जोडियो । तर, नेपालीपन जोडिएन । मनोवैज्ञानिक रुपले हामी नेपाली भन्ने राष्ट्रवाद बलियो भएन ।

दोस्रो कुरा, मधेशी मूलका मानिसको राज्य एकिकरणमा कुनै भूमिका नभएको व्यख्या गरियो । नेपालको भुगोल बिस्तार गर्न कुनै भुमिका थिएन । तिनीहरुलाई यहाँ बास बस्नका लागि मात्र ठाँउ दिएको गरी व्यवहार गरियो । यो कुरा यथार्थ हो । भलै, जमिनको एकिकरण गर्न मधेशको कुनै भुमिका थिएन , तर नेपाललाई विकास निर्माणको पथमा अगाडि बढाउन् गरिएको अपार योग्दानलाई हामीले किमार्थ भुल्न मिल्दैन् । उनीहरुको पसिना सिंचित भएर नेपालको माटो उर्वर भएको छ । यहाँको हावा र पानी उनीहरुको रगतमा छ । मधेशी संस्कृतिले नेपाललाई बहुसांस्कृतिक राष्ट्रको रुपमा विश्वमा परिचित गराउन अहम भूमिका नखेको पनि होइन् । राज्यको खातिर सबैथोक दिएका छन् : पसिना, रगत, बलिदान र योग्दान । तरपनि मधेशलाई शंकाको नजरले हेरिन्छ ।

यसै घटनासँग मेल खाने विश्वमा भएको पछिल्लो भटनालाई हेरौं । अमेरिकामा काला जातीलाई गोरा जातीले दमन र विभेद गरिने हिपोक्रेटिक संस्कृतिको पर्दाफास भयो । जर्ज फ्लोइड भन्ने कालो मान्छेलाई निर्ममतापूर्वक खुलेआम रुपमा बीच सडकमा गोरा पुलिसले घाँटीमा घुँडाले किचेर मार्यो । त्यसको बदलामा काला जातीले क्रिस्टोफर कोलम्बसको मुर्ती तोडफोड गरेर ढालिदियो । जुन मूर्तीमा गोरा जातीको पहिचान र सांस्कृतिक अहमता वषौं देखि बिरासतको रुपमा काला जातीको अगाडि खडा भएर उभिएको मात्र छैन त्यो मूर्तीको पर्छाइले कालाहरुको सास फेर्न समेत पाउने अधिकारलाई छिनेको छ । तसर्थ, नेपालमा पनि मधेशीलाई काला जाती झैं व्यवहार गरियो भने । उनीहरुको राष्ट्रप्रेमलाई नक्कली ठानियो । र, पहाडे राष्ट्रवादलाई मात्र सच्चा देशभक्ति ठानियो भने मधेशी जनताले भोली पृथ्वी नारायण शाहको मूर्ती तोडफोड गर्ने दिन नआउन सक्दैन भन्न सकिन्न ।

अर्को महत्वपुर्ण विषय भनेको राज्यको विकासको महाअभियानमा मधेशी, दलित, महिला, जनजाती, लोपनमुख सबैलाई जोडौं । खासगरी मधेशीलाई हेर्ने नजरमा परिवर्तन गरौं । उनीहरुको पहिचानलाई सम्मान र आत्मासाथ गरौं । आफ्नो देश भित्र नै हेपिएको, ठगिएको, लुटिएको र आत्मा सम्मानमा ठेस लागेको अनुभूती विलकुल नहोस । आफ्नो देश भित्र जहाँ पनि शीर उच्च बनाएर, गर्वले छाती फुलाएर म नेपाली हुँ भन्न सक्ने स्थिति राज्यले बनाउनु पर्छ । किनकी जसरी काला जातीको योग्दानले विश्वकै शक्तिशाली देश अमेरिका निर्माण गर्न संभव भयो, त्यसैगरी विश्वमा एउटा समृद्ध र शक्तिशाली देश नेपाल हो भनेर चिनाउनका लागि मधेशी जनताले गहन भुमिका पक्कै खेल्नेछन् । राज्यले यो कुरालाई बुझेर मधेशी जनता र नेतालाई विकासमा जोडौं । जबसम्म हाम्रा देशमा विकासले शिखरको चुचुरो छुन सक्दैन, तबसम्म राष्ट्रियता र सार्वभौमसत्ता बलियो बन्न सक्दैन । र, विदेशी दलालहरुले नेपालमा षड्यन्त्र गर्न पाउने छैन् । नेपाली जनतालाई एकअर्काको विरुद्धमा उचाल्न र पछार्न पाउदैन् । ऊ देशभक्त जनताको अगाडि निस्तेज हुने छ ।

तसर्थ, प्रतिनिधी सभामा जसरी गुमेको भूमी फिर्ता ल्याउन मधेशी नेता एकजुट भए —असली राष्ट्रवादीको हिम्मत देखाए, पृथ्वी रहेसम्म उनीहरुका देशभक्ति भावनामा अलिति पनि दाग लाग्ने छैन् । यस्तै भावना, व्यवहार र हिम्मत देखाए, मधेशी जनता र नेतृत्व विदेशीको दलाली र राष्ट्रघाती होइनन् । एउटा सच्चा र महान देशभक्त नेपाली हुन, जसको शीरमा सगरमाथा र पाउमा मधेश छ । त्यसैले, नेपालको इतिहासमा जेठ ३१ गते कालजयी भएर रहने छ । जुन दिन, प्रतिनिधी सभामा राजेन्द्र महतोले आक्रोशीत भएर भाषण गर्दै भने ‘मधेशी राष्ट्रघाती होइनन् । देश बेचुवा पनि होनन् । अरे देश बेचुवा को हो ? त्यसलाई टुडिखेलमा लगेर झुण्ड्याउनु पर्यो ’ यो कुरा जनताले छर्लङग बुझेका छन् । महतोको यो गम्भिर भाषणले हिजो राष्ट्रघाती संझौता गर्नेहरुको अनुहारमा कालो मोसो पोतिदिएको छ , जुन सजिल्यै पानीले धुएर पखालिने छैन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार