काठमाडौं । काठमाडौंस्थित डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयका ६ जना कर्मचारी मंगलबार साँझपख ८ लाख ५० हजार नगदसहित पक्राउ परे ।
अख्तियारको विशेष टोलीले उनीहरुलाई काठमाडौंस्थित सामाखुसीस्थित एक पार्टी प्यालेसबाट पक्राउ गरे ।
पक्राउ हुनेहरुमा एकजना अधिकृत, ४ जना नासु र १ जना खरिदार छन् । मालपोत कार्यालयका शाखा अधिकृत रघुवंश कँडेल, नासु नवराज घिमिरे, नासु नारायण प्रसाद पोखरेल, नासु उद्धव प्रसाद सापकोटा, खरिदार दिपक खनाल, नासु गोपाल खड्का रंगेहात अख्तियारको टोलीले पक्राउ गरे ।
पक्राउ ६ कर्मचारी जसले जग्गा कित्ताकाट गर्न ४८ लाख मागेका थिए
काठमाडौंका एकजना जग्गा धनीले जग्गा बिक्रीका लागि कित्ताकाट गर्न खोजेका थिए । सबै जग्गालाई २४ कित्तामा विभाजन गर्ने ती व्यक्तिको तयारी थियो ।
यही योजनाका साथ उनी डिल्लीबजार पुगे । डिल्लीबजार पुग्दा कर्मचारीले उनीसँग पैसाको ‘डिल’ गर्न खोजे । अख्तियारको फन्दामा परेका ६ जनाको समुहले सुरुमा ती व्यक्तिसँग प्रतिकित्ता २ लाख रुपियाँ मागे ।
२४ कित्तामा जग्गा विभाजन गरे बापत् उनीसँग ती कर्मचारीको समुहले ४८ लाख मागे ।
लगातारको छलफलपछि ती व्यक्ति र कर्मचारी समुहसँग १७ लाख रुपियाँ लिने दिने सहमति भयो । सोही अनुरुप आज मंगलबार ८ लाख ५० हजार अर्थात ५० प्रतिशत बुझाउने सहमति भयो ।
सोही सहमति अनुसार काठमाडौं सामाखुसी चोकमा रहेको एक पार्टी प्यालेसमा बसेर पैसाको कारोबार गर्ने सहमति भयो । बाँकी ५० प्रतिशत पैसा काम सकेर बुझाउने सहमति थियो ।
तर, यो कुरा यहीबीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीको कानमा पुग्छ ।
र, अनि अख्तियारको टोलीसँगको मिलेमत्तोमा ती कर्मचारीहरुलाई घुस लिँदालिँदै पक्राउ गरेका हुन् ।