प्रतापको बलिदान र विश्वबिद्यालय

२ असार २०७७, मंगलवार २०:४६ मा प्रकाशित

– बलराम थापा/

उसको मृत्युमा
बगाइन मैले आँसु
लेखिन कुनै शोकगीत
जलाएर सपनाको रातो किताब
चढाइन कुनै महाराजको पाउमा
बरू, उसको मृत्युपछि
उसले छरेको उज्यालोमा
निहाल्दै उसका रक्तिम पाइलाहरू
पछ्याउँदै उसका पदचिन्हहरू
अबिचल हिंड्ने कोसिस गरिरहे
किनकी
आगो ओकिलिरहेको त्यो समयमा
भिजाएर आँखाका परेलीहरू
आँसुका गीत गुनगुनाउँदा
उसको वलिदानको अपमान हुनेथियो
*** *** ***
शहादतको झन्डै दुई दसक पुग्नलाग्दा पनि उनको सम्झना उत्तिकै ताजा भएर आउँछ । समय बित्दै जाँदा स्मृतिहरू धुमिल हुँदै जानुपर्ने हो । तर उनको हकमा त्यसो भएको छैन । एकपछि अर्को गर्दै सम्झनाका तरङ्गहरू झन ताजाताजा भएर स्मृतिपटमा घुमिरहन्छ । यी सम्झनाहरू कुनै औपचारिकता बाँधेर आउँदैन । सामाजिक परिवर्तनको मुद्दा बलशाली हुँदा पनि उसँगको स्मृति ताजा हुने गर्छ, परिवर्तनको मुद्दा कमजोर हुँदा पनि सम्झना तीव्र बनेर आउँछ । सम्झनाको यो क्रम टुटेपछी सधै मनमा प्रश्न उठने गर्छ – उसकै हकमा किन यस्तो हुनेगर्छ ? यसको चित्तबुझ्दो जवाफ आजसम्म आफ्नो मनले आफैंलाई दिनसकेको छैन ।

अबिराम चलिरहेको जीवनको यात्रामा थुप्रै साथीहरू भेटिए । कयौंसँग लामो सहकार्य भयो, कयौंसँग छोटो समयमै सम्बन्ध तोडिए । तीमध्ये कतिले आस्थाका प्रिय झण्डालाई आफ्नै आँखाअगाडि च्यातचुत पारेर रद्दीको टोकरीमा मिल्काए । कतिका लागि यही झण्डा मुनाफा कमाउने मुख्य व्यवसाय बन्यो । तिनीहरूका लागि आदर्श र बलिदान नाफा र घाटाको हिसाब राख्ने फगत एउटा खाता बन्ने गरेको छ । आस्थाका झण्डा कुनै दलाल व्यापारीले बिक्रिका लागि सोकेसमा सजाइएको एउटा बिकाउ माल बनेको छ । सँगसँगै अर्को थरी पनि थिए साथीहरू । उनीहरूका लागि त्यो रातो झण्डा फगत कपडाको टुक्रा थिएन । आस्थाका यो प्रिय झण्डा उनीहरूको सम्पूर्ण जीवन थियो । यही झण्डाभित्र उनीहरू मानव जातिका मुक्तिका सपना देख्थे । झण्डाको स्पर्शले मात्र पनि उनीहरू शरीरमा नयाँ रक्त सन्चार भएको अनुभूति गर्दथे ।

बिश्वबिख्यात वैज्ञानिक आर्किमिडिजले एकपटक भनेका थिए – ` मलाई उभ्भिनका लागि एउटा मात्र सुदृढ जमीन देउ,म सारा धरतीलाइ हल्लाउने छु । ´ आस्थाका इमानदार सिपाहीहरूका लागि यही रातो झण्डा आर्किमिडिजले भनेको धर्ती थियो । त्यसले पैदा गर्ने आत्माविश्वास संसारका अरू कुनै चिजबाट पैदा हुँदैन थियो । त्यसैले त उनीहरू यही गौरवशाली झण्डालाई आफ्नो जीवनभन्दा प्रिय ठान्दथे र जीवन बलिदान दिएर क्रान्तिका बाटोमा कहिल्यै ननिभ्ने दियो बनेर बलिरहन्थे ।

तिनै दियो बनेर बलिरहेका एउटा योद्धा हुनुहुन्थ्यो – रीतबहादुर खड्का अर्थात् कमरेड प्रताप । पार्टी पंक्तिमा प्रताप र साहित्यनुरागिहरूका बीचमा चम्किलो ताराको नामले चम्किरहेका प्रतापको राजनीतिक यात्रा एउटा आँधीहुरिजस्तो थियो । तीसको दसकको अन्त्यतिर स्थानीय स्तरमा चलेको स्वतस्फूर्त वर्गसंघर्षले उनमा पैदा गरेको बिद्रोही भावना तुफानजसरी अघि बढ्यो । पन्चायतबिरोधि आन्दोलनमा यूवा- विद्यार्थीहरूको नेतृत्व गर्दै भएको प्रतापको राजनीतिक जीवनको शिखर यात्रा ०४५ सालको जेल जीवनबाट सुरु भएको थियो । बाल्यकालमा पैदा भएको त्यो बिद्रोही भावना यूवावस्थामा आइपुग्दा क्रान्तिकारी चेतमा फेरिइसकेको थियो ।

त्यही क्रान्तिकारी चेतको आधारमा उनलेे आफू संगठित भएको तात्कालिन एमाले पार्टीबाट बिद्रोह गरेका थिए । यद्यपि, कतिपयले यो बिद्रोहलाई उक्त पार्टीभित्र भएको साँस्कृतिक बिसंगतिका बिरूद्द प्रतापले राखेको प्रस्ताव असफल भएपछि असन्तुष्टिस्वरूप गरेको बिद्रोहको रूपमा मात्र सिमित गर्न खोजिरहेका छ्न । तर यो बिद्रोहको मुख्य कारण उनमा भैरहेको क्रान्ति चेतको विकास नै थियो । त्यो स्पष्ट बैचारिक / सैद्धान्तिक बिद्रोह नै थियो । यसका कयौं तथ्यहरू समयक्रममा प्रकाशित हुँदै जानेछ्न ।

राजनीतिक नेतृत्व तहमा क्रियाशील पात्रहरूमा कुनै न कुनै बिशेष गुण हुने गर्द्छ । कोही असाध्यै ईमानदार हुन्छ तर उसँग जोखिमहरूसँग खेल्ने कला हुँदैन । कोही कुशल संगठक हुनसक्छ तर उसमा बैचारिक / सैद्धान्तिक रूचि नहुन सक्द्छ । कोही असाध्यै गतिशील र जुझारु हुनसक्छ तर उसँग बस्तुवादी योजना बनाउने क्षमता नहुन सक्छ । कोहीसँग परिस्थितिको वस्तुपरक विश्लेषण गर्ने प्रतिभा हुनसक्छ तर उसँग व्यवस्थापन र संगठन परिचालनको ज्ञान नहुन सक्छ । यसकारण कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्वको अबधारणा स्थापित भएको थियो । यद्यपि, आजकाल वडादेखि केन्द्रसम्म मनमनै आफूलाई महाराज घोषणा गरेर श्रीपेच लगाउने प्रतिस्पर्धा चलिरहेको किन नहोस । कमरेड प्रतापमा यी बिशिस्ट गुणहरूमध्ये बहुगुणहरू थिए । मेरो अनुभवमा परिस्थितिको बस्तुनिष्ठ विश्लेषण गर्ने प्रश्नमा उनका केही सिमाहरू थिए । यीबाहेक माथि उल्लेखित प्राय बिशिस्ट गुणहरू कमरेड प्रतापमा धेरथोर थियो । यही बिशिस्टताले उनलाई छोटो समयमै नेतृत्वमा स्थापित गरायो ।

पूर्व एमालेसँग सम्बन्धबिच्छेद भएपछि प्रतापमा भएको आन्तरिक प्रतिभा तीव्र रूपमा प्रष्फुटन हुनपुग्यो । त्यसपछिको क्रान्तिकारी यात्रामा बैचारिक दृष्टिले प्रताप निरन्तर क्रान्तिकारी कित्तामा दृढतापूर्वक उभिइरहे । नेतृत्व क्षमताको अर्को महत्वपूर्ण कडि भनेको बैचारिक कामसँगै संगठन निर्माण र परिचालनको कला अभिन्नरूपले जोडिएको हुन्छ । नेतृत्व विकासमा बैचारिक र सांगठनिक कामलाई अघि बढने दुइटा पाइला पनि भन्न सकिन्छ । बैचारिक काम गर्दा सांगठनिक काम बिर्सने र सांगठनिक काम गर्दा बैचारिक काममा ध्यान नदिने नेतृत्व बिशुद्द प्राविधिक बन्नपुग्दछ र आफूसँगै आन्दोलन पनि असफलतामा धकेलिदिन्छ । कमरेड प्रतापमा यी दुबै पक्षको सन्तुलन र तालमेल मिलाउने अदभूत क्षमता देखिन्छ । आजको पुस्ताले उनीबाट सिक्नुपर्ने एउटा महत्त्वपूर्ण पक्ष यो पनि हो ।

क्रान्तिकारी आन्दोलन त्याग , बलिदान र समर्पणबाट मात्र पनि अधि बढन सक्दैन । बिचारधारात्मक स्पष्टता नै क्रान्ति अगाडि बढाउने मुख्य प्राण वायु हो । कमरेड प्रतापमा रहेकोे अर्को महत्त्वपूर्ण पक्ष विचारधारात्मक स्पष्टता नै थियो । मार्क्सवाद गतिशील बिज्ञान भएकोले परिस्थितिअनुरूप यसका प्रयोगका तरिकाहरू फेरिन्छ भन्ने मान्यतालाई उनले दर्‍होसँग आत्मसात गरेको देखिन्छ । त्यसैले तात्कालिन माओवादी पार्टीभित्र अन्तरसंघर्षमा सक्रिय सहभागी प्रतापले बैचारिक संश्लेषण र त्यसको प्रमुख उपलब्धि प्रचण्डपथको निर्माणमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरे । पार्टीभित्र भएको तीव्र दुई लाइन संघर्षमा पदोन्नतिको अंकगणित हेरेर होइन, सही र क्रान्तिकारी धाराको निर्माण र विकासमा ईमानदारपूर्वक लाग्ने कुरा उनीबाट सिक्ने महत्त्वपूर्ण पाटो थियो । संगठन र आन्दोलनको कामसँगै प्रतापले लेखेको ` बैचारिक केन्द्रिकरणको महत्त्व र प्रचण्डपथले पैदा गरेको तरङ्गलागायतको चर्चित लेखहरूले त्यसबेला यूवापुस्तामा अभूतपूर्व बैचारिक तरङ्ग पैदा गरेको थियो ।

उनले आफूलाई कहिल्यै सर्वज्ञानी ठान्ने भूल गरेनन् । लेखहरू लेख्दा र नयाँ रचना गर्दा सहकर्मीहरूसँग छलफल गर्ने उनको बिशेषता थियो । गाउँकि जेठी आमा शीर्षकको कविता र वासीभात नामको कथा लेखनको समयमा हामीले छ्लफल गरेका थियौ । औपचारिक ढंगले फाल्गुन १ बाट जनयुद्ध सुरू भएपनी एक महिनाअगाडि नै दोलखामा जनयुद्धको तयारी भएको थियो । चरिकोटको सडकबिभागबाट युद्धसामग्री कब्जा गर्नु एक प्रकारको जनयुद्धको सुरूवात नै थियो । इतिहासमा यसलाई यसरी स्थापित गर्न सकिएको छैन । यही प्रसंगमा चम्किलो ताराको नाममा दोलखाको जिलेटिन माओवादीले कसरी हात पारे ? शीर्षकमा एउटा लेख प्रकाशित भएको छ ।

मैले धेरै कर गरेपछि प्रतापले हतारोमा तयार पारेको एउटा सामन्य खेस्रा पुनर्लेखन गरीएको थियो । जसको पहिलो अंश पौरख मासिकमा छापिएको थियो । यो अंश अहिले यूट्युब च्यानलमा वाचन भर्शनमा भेटिन्छ । पौरख बन्द भएपछि यसको दोस्रो अंश छाप्न जानादेशमा लगिएको थियो । तीव्र दमनको वीचमा अफिस सारिरहँदा उक्त अंश हराएपछी प्रकाशित हुन सकेन । यसरी नयाँ रचना गर्दा छलफल गर्ने उनको बिधिले एकातिर सिर्जना खारिन्थ्यो भने अर्कोतिर सामूहिक ज्ञानप्राप्तिको अभ्यास हुन्थ्यो । यो उनीबाट सिक्नुपर्ने अर्को महत्वपूर्ण पाटो थियो । समग्रमा बिचार र कर्मको सुन्दर संयोजन नै कमरेड प्रतापको जीवनको मुख्य बिशेषता थियो ।

प्रतापको निधनको अठाह्र वर्षपछि पनि नेपाली राजनीति गुणात्मक ढंगले बदलिन सकेन । रूप र संरचनामा केही फेरबदल भएपनि प्रत्येक राजनीतिक परिवर्तनपछि हुने नयाँ सत्तासीन वर्गको उदय रोकिएन । सत्ताचरित्रसँग एकाकार भएका नयाँ दलालहरूमार्फत वर्गउत्थानको उल्टो अभियान चलिरहेको छ । दलाल चरित्र स्वीकार गर्न नचाहनेहरूलाई असक्षमताको प्रमाणपत्र दिएर पलायन हुन बाध्य पारिदै छ । निष्ठा र आदर्शहरू खुल्लमखुल्ला लिलामीमा चढाइदै छ । सहिद परिवार , घाइते योद्धा र बेपत्ताका परिवारजनहरूसँग केबल आलांकारिक सम्बन्ध मात्र बाँकी छ ।

वर्ग र वर्गीय शब्द पार्टीभित्र ठट्टाको बिषय बन्ने खतरा देखिदै छ । एक ढंगले भन्ने हो भने कमरेड प्रतापलगायतको बलिदानले निर्माण भएको आदर्शको आन्दोलन लगभग विघटनको संघारमा पुगेको छ । ठीक यही बिन्दुबाट हामीले हाम्रो जिम्मेवारी पूरा गर्नुपर्ने छ । प्रतिकुलताभित्र अनुकुलता खोज्दै प्रतिक्रान्तिलाइ क्रान्तिमा फेरेर कुरूपतालाइ सुन्दरतामा बदल्ने कोसिस जीवनपर्यन्त गरिरहनु नै क्रान्तिकारीहरूको चरित्र हो । कमरेड प्रतापको जीवन र बलिदान यही आदर्श र आशावादीताको बिश्वबिधालय हो । यो नै प्रताप चरित्रको अमरत्व र हामीले सिक्ने अन्तिम कुरा हो ।

मृत्युपछि पनि उ
घुमिरह्न्छ यतै कतै
सडकको जुलुसहरूमा
कलेजको आक्रोशहरूमा
म देखिरहेछु उसलाई
हलो बोकेका किसानहरूसँग
बेल्चा बोकेका मजदुरहरूसँग
कृपया, उसलाई त्यही छोड
स्वीकार छैन उसलाई
सत्ता नामको कैदखाना ।

२ असार २०७७ , दुवाकोट ,भक्तपुर

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार