काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा, अन्य खेलाडी र एक फिजियोथेरापिष्टसहित ६ जनाले राज्यविरुद्धको अपराध मुद्दामा सर्वोच्च अदालतबाट पनि सफाई पाएका छन् ।
सरकारी पक्षले २०७५ मंसिर २० गते राज्यविरुद्धको अपराधको मुद्दा पुनरावेदनमा सर्वोच्चले सागरसहित पूर्व अन्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिव थापाले सर्वोच्चबाट मंगलबार सफाई पाएका हुन् ।
सरकारी पक्षले २०७५ मंसिर २० गते सर्वोच्चमा गरेको पुनरावेदनमा मंगलबार यस्तो फैसला आएको हो । न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाई दिएका हुन् । उनीहरुलाई २०७५ जेठ २४ गते सोही अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाई दिएको थियो ।
राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा उनीहरुले म्याच फिक्सिङ गरेको पुलिसको दावी थियो । तर नेपालमा म्याच फिक्सिङको अलग्गै कानुन नभएका कारण पुलिसले राज्यविरुद्धको अपराधमा पाँच जनाविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा २०७२ कात्तिक २२ गते मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई ठहर गर्ने आधार नभेटिएको भन्दै सफाइ दिने फैसला सुनाएको थियो ।
उनीहरुले उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप लगाइएको थियो । म्याच फिक्सिङमा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो । तर अदालतमा ती आरोप पुष्टि हुन नसकेपछि उनीहरुले सफाई पाएका थिए । पाँचै पूर्व खेलाडीलाई एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले भने आजीवन प्रतिबन्ध लगाएको छ ।