विदेशबाट मजदुर ल्याउन हिमालय एयरलाइन्सलाई १२ करोडको बिजनेस

उज्यालो प्रतिनिधि १ असार २०७७, सोमबार समाचार

काठमाडौं । रोजगारी गुमाएर अलपत्र परेका नेपालीको उद्धारका नाममा उनीहरूबाटै चर्को भाडा असुल्ने नीति लिएको सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई अपारदर्शी रूपमा बिजनेस वितरण गराएको छ । मजदुरले तिर्ने भाडामा कसले सस्तो दिन सक्छ भनेर प्रतिस्पर्धा गराउनुपर्नेमा सरकारले मध्यस्थता गरेर श्रमिकलाई मर्कामा पार्न लागेको छ ।

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई मात्रै होइन, यती समूहको लगानी रहेको हिमालय एयरलाइन्सलाई समेत विनाप्रतिस्पर्धा बिजनेस प्रदान गरेको छ । सरकारले गर्ने पहिलो चरणको उद्धारअन्तर्गत नेपाल वायुसेवा निगमलाई २४ उडान र हिमालय एयरलाइन्सलाई १९ वटा उडान गर्ने तयारी गरेको छ । तर, उडान केका आधारमा वितरण भयो भन्ने सरकारले स्पष्ट पारेको छैन ।

ओमानस्थित दूतावासको पहलमा चार्टर्ड गरिएको सलाम एयरबाट एक सय ८० नेपाली श्रमिक सोमबार फर्काइँदै छ । राजदूत शर्मिला पराजुलीका अनुसार सलाम एयर नेपाली समयअनुसार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण गर्नेछ । ‘नेपाली श्रमिकले टिकट खर्च आफैँ व्यहोरेका छन् । तर, नेपालका एयरलाइन्सले तोकेको भाडाभन्दा धेरै कम छ,’ उनले भनिन्, ‘सरकारले दुईपटक गरी ३० प्रतिशत हवाई भाडा घटाएको छ । यो राम्रो काम हो । तर, अझै पनि महँगो छ । यतिवेला एयरलाइन्सको व्यवसायभन्दा पनि पीडित श्रमिकबारे सोच्ने वेला हो ।’

ओमानबाट नेपाल फर्कनु सात दिनअघि श्रमिकले पिसिआर परीक्षण गर्नुपर्नेछ । पिसिआर परीक्षण नेगेटिभ देखिएका श्रमिकलाई मात्रै नेपाल फर्काइने उनले बताइन् । ओमानबाट ६ सय १५ नेपालीले नेपाल फर्कन अनुमति पाएका छन् ।

तर, पहिलो चरणमा २४ हजार नागरिकको उद्धारमै ५० करोडको व्यापार हुँदै छ । दोस्रो चरणको उद्धारमा दुई लाखभन्दा बढी यात्रु हुने गैरआवसीय नेपाली संघ (एनआरएन)को अनुमान छ । एयरलाइन्सले अर्बौँको व्यापार गर्दा मजदुर भने मर्कामा पर्ने भएका छन् ।

संकटमा परेका मजदुरलाई सित्तैमा नेपाल फर्काउन पहल गर्नुपर्ने हो, किनकि नेपाली मजदुरले विदेश जानुअघि नै कल्याणकारी कोषमा दुई हजार पाँच सय रुपैयाँ दाखिला गर्छन् । यो रकम जम्मा गरेपछि मात्र उनीहरूले श्रम स्वीकृति पाउँछन् । विदेशमा मजदुर संकटमा परे खर्च गर्नका लागि यो रकम संकलन भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सञ्चालन गरेको यो कोषमा ६ अर्ब रुपैयाँ संकलन भए पनि उनीहरू संकटमा पर्दा सरकारले कोषको थैली बन्द गरेर चर्को भाडा संकलन गर्ने नीति लिएको छ ।

श्रमिकको उद्धारका लागि हिमालय एयरका तीन न्यारोबडी जहाजले १९ उडान गर्नेछन् । यसबापत १२ करोड १० लाख ८४ हजार रुपैयाँको व्यापार गर्दै छ । नेपाल वायुसेवा निगमले न्यारोबडी जहाजबाट १० उडान गरेर सात करोड ४६ लाख ८१ हजार रुपैयाँको व्यापार गर्दै छ । त्यस्तै, वाइडबडी जहाजमार्फत १३ उडान गरेर ३० करोड ७७ लाख ६८ हजार रुपैयाँको व्यापार गर्नेछ ।

हिमालय एयरलाइन्सको कहाँबाट कतिको बिजनेस ?

हिमालय एयरलाइन्सले उद्धारमा १९ उडान गर्ने जिम्मा पाएको छ । साउदी अरबमा मात्रै दुई उडानमार्फत एक लाख ३५ हजार डलरको व्यापार गर्नेछ । कम्बोडियामा गर्ने उडानबाट ६३ हजार डलर, कोलम्बोबाट ६३ हजार, कुवेतबाट ६४ हजार डलरको व्यापार गर्नेछ ।
हिमालय एयरलाइन्सले मालेमा एक उडानबाट ७९ हजार, कतारमा दुई उडानमा एक लाख ५४ हजार, बंगलादेशमा दुई उडानमार्फत ५२ हजार, मलेसियामा एक लाख ४६ हजार डलरको व्यापार गर्नेछ । ओमानबाट ७२ हजार डलर, युएईमा दुई उडानमार्फत एक लाख ४२ हजार डलर र साइप्रसका नेपालीबाट एक लाख १५ हजार डलरको व्यापार हिमालय एयरले गर्नेछ ।

निगमले कहाँबाट कति बिजनेस ?

नेपाल वायुसेवा निगमले न्यरोबडी र वाइडबडी जहाजमार्फत २३ उडानमा ३८ करोड २४ लाख ४९ हजार पाँच सय ७८ रुपैयाँको व्यापार गर्दै छ । जसमा न्यारोबडीले कुवेत उडानमा ६४ हजार डलर, माले उडानमा ७९, बंगलादेशबाट २६ हजार, ओमानबाट ७२ हजार, युएईबाट ७१ हजार, बहराइनबाट ६१ हजार र बैंककबाट ६१ हजार डलरको व्यापार गर्दै छ ।

त्यस्तैगरी, वाइडबडी जहाजले बंगलादेशबाट ४५ हजार डलर, मालेबाट एक लाख ३८ हजार, युएईबाट एक लाख एक हजार, बैंककबाट एक लाख ६ हजार र साउदीको रियादबाट दुई लाख ५४ हजार, मलेसियाबाट एक लाख दुई हजार, दक्षिण कोरियाबाट दुई लाख ३९ हजार, अस्ट्रेलियाबाट आठ लाख ८५ हजार र जापानबाट पाँच लाख १२ हजार डलरको व्यापार गर्दै छ ।

निगम भन्छ– सस्तो भाडा दिएका छौँ

नेपाल वायुसेवा निगमले उद्धार उडानमा यात्रुहरू एकतर्फी मात्र हुने गर्दा निगमले लागत खर्चलाई मात्र आधार गरी उडान भाडादर निर्धारण गरेको जनाएको छ । ‘संकटमा परेका मजदुरलाई राहत दिन सरकारले चाहेमा भाडा योभन्दा कम हुन सक्थ्यो,’ निगमका एक अधिकारीले भने, ‘उडान गर्दा ओभरफ्लाइङ, ल्यान्डिङ, एयरक्राफ्ट ह्यान्डलिङ, पार्किङ शुल्क तिर्नुपर्छ । यसमा सरकारले छुट दिने हो भने भाडा सस्तो हुन सक्छ ।’

तर, सरकारले उद्धारका नाममा चर्को व्यापार गर्न खोजेको भन्दै विदेशमा रहेका नेपालीले गुनासो पोखेका छन् । सरकारले तोकेको हवाई भाडादरले नेपाली श्रमिकको घाउमा नुन–चुक लगाएको बताउँछन् साउदी अरबमा रोजगारी गर्दै आएका केपी निरौला । निरौला तीन महिनादेखि बेरोजगार छन् । उनी ‘ग्यास्ट्रिक’को बिरामी छन् । तर, आफूसँग औषधिसमेत खाने पैसा नभएको उनले गुनासो गरे । ‘ग्यास्ट्रिकको औषधिसमेत किन्न नसक्ने अवस्थामा पुगेका जनतालाई दोब्बरभन्दा बढी भाडा लेऊ, तिम्रो उद्धार गर्छौँ भन्दै सरकारले सूचना जारी गरेको छ, सरकारले उद्धार गर्न खोजेको हो कि व्यापार ?’ उनले नयाँ पत्रिकासँग आक्रोश पोखे ।

दुबईमा रोजगारी गर्दै आएका स्याङ्जाका केबी खड्काले पनि सरकारले पैसा हुने नागरिकलाई मात्रै फिर्ता गर्ने योजना बनाएको भन्दै दुःखेसोको पोखे । ‘केही पैसा हुने त टिकट किनेर जालान्, तर लामो समयदेखि बेरोजगार भई बसेका श्रमिक कसरी फर्कने ? यहाँ बसे के खाने ?’ उनले भने, ‘यो संकटका वेला काम नलाग्ने सरकार कहिले काम लाग्छ ? तर, सरकारले राहत होइन, पीडामाथि झन् चोट थप्ने काम गरेको छ,’ उनले भने ।

हवाई भाडा महँगो भएका कारण अधिकांश श्रमिक नेपाल सरकारले तोकेको उडानबाट फर्कन नसक्ने गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले बताए । ‘रोजगारी भएका, कमाइ भएका नेपालीले फर्कन हतार गरेका होइनन्, रोजगारी गुमाएका, खर्च सकिएकाहरू फर्कन खोजेका हुन्, उनीहरूबाटै महँगो भाडा असुल्ने भनेपछि उद्धार कसरी सम्भव होला ?’ उनले प्रश्न गरे, ‘बेरोजगार भई खान र बस्ने नसक्ने भएका श्रमिकले त्यति महँगो भाडा कसरी तिर्लान्, सरकारले सोचेको भए हुन्थ्यो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार