क्रिस्टोफर कोलम्बसदेखि दलितसम्म !

उज्यालो प्रतिनिधि ३१ जेष्ठ २०७७, शनिबार

अमेरिका अहिले त्रसित छ । मै हुँ भन्ने राष्ट्रपति ट्रम्प आफैँ बङ्करभित्र लुक्नुपरेको खबर पाएका छौं । काला समुदायमाथि सदिऔंदेखि अन्याय हुँदै आएको छ । शुरूमा त कालालाई गोराले आफ्नो पशुधनको रूपमा व्यवहार गरेका थिए । गोराहरू अमेरिकाका इनडिजिनस होइनन् । त्यहाँ अहिले पनि भूमिपुत्र इनडिजिनसहरू छन् । अमेरिका नामक देश तिनै इनडिजिनसहरूका भूमि हो । एक समयमा क्रिस्टोफर कोलम्बस भन्ने व्यक्ति त्यहाँ पुगेको दाबी गरेका छन् । त्यत्तिकैमा तिनले अमेरिका पत्तालगाएको भन्दै आकाशको तारा झारेको भन्दा ठूलो फूईँ लगाउँदै आएका छन् ।

अक्टोबरमा ”कोलम्बस डे” मनाएर गोराहरू आफ्नो छाती गर्वले फुलाउँछन् । इनडिजिनसहरूका माग भने ”कोलम्बस डे”लाई हटाएर ”इनडिजिनस डे” मनाउनु पर्छ भन्ने देखिएको छ । हुनपनि तत्कालिक भारतवर्षमा भनेर हिँडेको कोलम्बस अमेरिकामा पुगेका रहेछन् । त्यत्तिकैमा अमेरिका कोलम्बसले पत्ता लगाएको भन्दै गर्वले छाती फुलाउनु भनेको भूईँमा खसेपछि धुलो पनि सुन भनेजस्तै हो ।

अहिलेसम्म पनि गोराहरूले अमेरिकाका इनडिजिनसहरूलाई ‘रेड इण्डियन’ भन्ने गरेका पाइन्छन् । असली इनडिजिनसहरू भने आफूहरू ‘रेड इण्डियन’ होइनौं भन्छन् । ‘रेड इण्डियन’ शब्दको प्रयोग वास्तवमै त्यहाँका भूमिपुत्रहरूका अपमान गर्नु हो । कोलम्बसले राता वर्णका देखेपछि ‘रेड इण्डियन’ भनेका थिए । त्यहाँबाट फर्केर आउँदासमेत कोलम्बस आफू इण्डियामा पुगेको भ्रममा रहेको देखिन्छ । भ्रमको खेती गर्नेहरूले अहिले पनि ‘रेड इण्डियन’को आरोप लगाउने र कोलम्बसलाई अमेरिका पत्ता लगाएको महान् व्यक्तिको रूपमा स्थापित गराउँदै आएका छन् ।

त्यहाँ काला र गोराको मात्रै समस्या छैन । वास्तविक भूमिपुत्र इनडिजिनसहरूमाथि भएका कहालीलाग्दा जातीय नरसंहारको पाटो भुल्न सकिने र हुने विषय पनि होइन । भूमि कब्जा गर्ने क्रममा गोराले कैयन् भूमिपुत्रहरूका वंश नाश गरेको इतिहास छ । इनडिजिनसको हत्या गर्नेलाई पुरस्कार दिने गोराहरू अहिले खूब मानवअधिकारको वकालत गर्दैछन् ।

कोरोना विश्वव्याधिकै बेला अमेरिकाका फूटबल खेल्ने महिलाहरूले पनि आवाज उठाउँदै थिए । त्यहाँ अहिले पनि फूटबल खेल्ने महिला र पुरुषका बीच पारिश्रमिकमा विभेद छ । गल्ती मानिसबाटै हुने हो तर गल्ती गरेकै आधारमा मृत्युदण्ड दिन सक्ने अमेरिकाले मानवअधिकारको कुरा गर्नु भनेको हुँडारले मिर्गको सुरक्षा गर्ने भन्ने जस्तै हो ।

यस्तै अनेक शताब्दीदेखिका शोषण तथा दमनको विरुद्ध अमेरिका यतिखेर तात्तिएको छ । स्वयम् कैयन् गोराहरू समेत कालासँग मिलेर आन्दोलित छन् । इनडिजिनसहरूका आवाज यतिखेर बुलन्द हुनु स्वाभाविक हो । अमेरिका त्यहीँका भूमिपुत्रको हुनु पर्दछ । गोरा र काला पछि पुगेका हुन् । आर्यमूलका गोराले कालाहरूलाई पशुधनको रूपमा लगेका तथ्य छ ।

आन्दोलनको क्रममा क्रिस्टोफर कोलम्बसको मूर्ति पनि तोडिएको छ । त्यसक्रममा शीरोच्छेदन गरेको छ। क्रिस्टोफर कोलम्बसले अमेरिका पत्तालगाएको दाबी गोराहरूले गर्दै आएका छन् । सोही आधारमा आफ्ना शासनलाई वैधता दिँदै आएका छन् । यो सरासर अवैधानिक दाबी हो । लुटेरा, डाँकाको तर्क हो ।

नेपालमा पनि क्रिस्टोफर कोलम्बस देखिएको छ । तिनको नेपाली भर्जन चाहिँ पृथ्वीनारायण शाह हो । अमेरिकी कोलम्बसले भन्दा नेपाली कोलम्बसले अलिक बढी पसिना बगाएको देखिन्छ । यहाँ पृथ्वीनारायण भन्ने मान्छे आउनुअघि थुप्रै राज्य रजौटा रहेका बताउँछन् । तामाङको ठुङ्सा, केसा, बप्सा, नम्सा, ह्युल्सा र दुर्साको समग्र स्वरूपको ताम्सालिङ थियो । शाह वंशले तामाङ लगायतका भूमिपुत्रहरूमाथि बर्बर जङ्गली तथा अमानुषिक हमाला गरेका थिए । जालझेलपूर्ण तबरले समाप्त पारेका थिए । आजसम्म पनि पृथ्वीनारायणले आर्जेको देशको रूपमा नेपाललाई चिन्ने र चिनाउनेहरू छन् ।

तिनीहरूका अनुसार यो देश पृथ्वीनारायण शाहको पौरख हो । त्यसैले पृथ्वीनारायणका सन्तान तथा आसेपासेले यहाँ शासकको कुर्सीमा बस्न पाउनु वैधानिक हुन्छ । हुनपनि पृथ्वीनारायण शाहले स्थापित गरेको कथित राज्यसत्ता अहिले पनि सुचारू रहेको छ । यद्यपि, तामाङ लगायतका आदिवासी राष्ट्रहरूका अनुसार, पृथ्वीनारायण शाह कुनै पनि हालतमा राष्ट्रनिर्माता थिएन । यो देश तिनको पौरख होइन । यो त तामाङ लगायतका विभिन्न आदिवासी जनजातिहरूका पौरख र देन हो ।

यहाँका आदिवासी पुर्खाले पहिलो पटक आएर फाँडेर बस्ती बसाएका हुन् । खेतबारी र गाउँबस्ती बसाएका हुन् । अरूले बसाएको बस्तीमा पछि आएर मेरो पौरख भन्नु कुन अर्थमा तर्क सङ्गत हुन्छ ? वास्तवमा पृथ्वीनारायण शाह भन्ने व्यक्ति हत्यारा, लुटेरा र डाँका हुन् । तिनले यहाँका आदिवासी जनजातिका वंश नाश गरेका थिए । आदिवासीलाई नोकर बनाएर आफू मालिक बनेका थिए । त्यसैले पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भन्ने हो भने यहाँ उच्छेदवादको पुनः अभ्यासमा प्रवेश गर्नुपर्ने हुन्छ ।

त्यसो हो भने पछिल्लो समय नेपालमा तत्कालिक माओवादीले धेरैका जग्गा जमीन खोसेका थिए । पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्ने हो भने, तिनीपछि आएर जग्गा लुटेका माओवादीले किन फिर्ता गर्नु पर्‍यो ? लुटिसकेपछि उसैको हुने भयो नि । त्यसो हो भने यो देशको कैयन् जग्गा जमीनहरू तत्कालिक माओवादीको भएको थियो । त्यसैले अहिले पनि उसैको हुनुपर्छ ।

हैन भने, पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता कसरी भन्ने ? तिनी राष्ट्रनिर्माता होइन भन्ने हो भने तिनले स्थापित गरेको राज्यसत्ताको वैधानिकता के हुन्छ ? वैधानिकता गयो भने के हुन्छ ? हुनुपर्ने हो कि होइन ? लुटेर लगेको भन्ने पुष्टि भएपछि सामान फिर्ता हुनुपर्छ कि पर्दैन ? फिर्ता गर्न नसक्ने भए सत्ताको के काम ? फिर्ता गर्न नसके पनि कम्तिमा अधिग्रहण त गर्नु पर्ला नि ! त्यसपछि पुनः हिसाब किताब मिलाउँदै अन्यायमा परेकालाई न्याय दिलाउनु पर्‍यो; हैन र ?

क्रिस्टोफर कोलम्बसको प्रवेशले गोरालाई अमेरिकी सत्तामा पुर्‍यायो । गोराले त्यहाँका भूमिपुत्रलाई सखाप पारेर कोलम्बसको मूर्ति ठड्यायो । कोलम्बस दिवस मनायो । नेपालमा पृथ्वीनारायण शाहले यहाँका भूमिपुत्र समाप्त पार्‍यो । कथित सत्ता स्थापित गर्‍यो । शाह वंशलाई दैवीकरण गर्‍यो । तिनका सालिक ठड्यायो । अहिले अमेरिकाका जनताले कोलम्बसको सालिक भत्काएर इनडिजिनसको दिवस मनाउने प्रस्ताव गरेको छ । त्यस्तैगरी नेपालमा आदिवासी जनजातिले शाहका सालिक भत्काउँदै आदिवासी जनजाति दिवसको प्रस्ताव किन नगर्ने ?

शाह वंशको उदयसँग यहाँ पहाडे हिन्दू ब्राह्मणवादले ज्यादति गर्दै आएको छ । तिनले स्वतन्त्र तथा निर्बन्ध खस लगायत केही गुरुङ र मगरलाई समेत हिन्दूकरण गर्‍यो । हिन्दूकै शास्त्रीय मान्यतानुसार भने जन्मजात मात्रै हिन्दू हुन सक्छ । सोही आधारमा खस, गुरुङ र मगर लगायतका कुनै पनि आदिवासी जनजातिहरू हिन्दू हुनै सक्तैन । खै यो कुरा कसैले किन बुझ्न सकिरहेको छैन ।

खस लगायतका आदिवासीहरू यहाँका राष्ट्र हुन् । त्यसैले यिनीहरू स्वयत्त, स्वतन्त्र र निर्बन्ध हुनुपर्छ । कसैले बन्दित गर्न सक्ने र मिल्ने भन्ने नै हुँदैन । यहाँ राष्ट्र र राष्ट्रियता, देश र राज्यको परिभाषा गोलमाल पारेका छन् । नेपाल कदापि राष्ट्र र राष्ट्रियता हुँदै होइन । यो देश र देशत्त्व मात्रै हो । राष्ट्र त तामाङ, गुरुङ, मगर, थारू, राई, लिम्बु र खस लगायतका हुन् । यदि तामाङ, गुरुङ र मगर राष्ट्र होइन र नेपाल राष्ट्र र नेपाली राष्ट्रियता हो भने हामी भूमिपुत्रहरू नेपाल नामक देशमा के आधारमा अडिने ? यसको छलछामपूर्ण वा उट्पट्याङ नभएर सही उत्तर यो राज्यसत्ताले दिन सक्नुपर्छ । अन्यथा चर्किसकेको ऐनालाई टेपले टाँसेर राख्ने जस्तो मूर्खतापूर्ण कर्ममा किन समय बर्बाद पार्ने ?

त्यसैले कोही राष्ट्रनिर्माता हुने सम्भावना छैन । यदि राष्ट्रनिर्माता हुने सपना देख्छ भने तिनले यहाँका राष्ट्रहरूका निर्माण गर्न सक्नुपर्ने हुन्छ । त्यो पूर्णतः असम्भव छ । पृथ्वीनारायण शाह नेपाल नामबाट अहिलेसम्म चिन्दै र चिनाउँदै आएको देशको निर्माता मात्रै हो । देश र राष्ट्रियतामा कुन ठूलो भन्ने हो भने देश वा राज्य कहिल्यै पनि राष्ट्र र राष्ट्रियताको समान हुनै सक्तैन । यो तर्क विश्व बौद्धिकी जगत्को हो । विश्व बौद्धिकी जगत्लाई कसैले चुनौती दिनु भनेको काँचो गोबरले सिंहको शिकार गर्छु भन्नुजस्तै हो ।

शाह सत्ताले आदिवासी जनजातिलाई दुर्इ फ्याक पार्‍यो । मासिन्या र नमासिन्या मतवाली भनेर विभेद गर्‍यो । आफू समान तथा एउटै थर भएकालाई समेत दलित बनाउँदै मानवताको मुहारमा कलङ्क पोत्यो । पूर्वीय दर्शनभित्रको हिन्दू सभ्यतालाई कलङ्कित पार्ने अपराध गर्‍यो । आज गणतन्त्रको नारा लगाउने सत्तासीनहरू पृथ्वीनारायणको जुठोमा रमाइरहेका छन् । यिनीहरूले पृथ्वीनारायण शाहलाई एकताका बेवास्ता गरेका थिए । आफैँलाई मसिह घोषणा गरेका थिए । समयसँग पृथ्वीनारायणरचित सत्ताको पनि अवसान हुन थाल्यो । त्यसपछि झस्कियो र पुनः पृथ्वीनारायणलाई पुरानै स्थानमा स्थापित गराउने क्रम चालेका छन् ।

यस्तो अवस्थामा दलित समुदायमाथि घोर अमानुषिक अपराध हुनु भनेको अन्ततः सत्तासँग जोडिएकै कुरा हो । कुनै एक गाउँका बासिन्दामाथि जाइलाग्नु राम्रो सङ्केत होइन । जाइलाग्नु छँदैछ; त्यसैले गाउँले बासिन्दाका सट्टा सत्तामाथि जाइलाग्न सक्नुपर्छ । यसक्रममा राजनीतिले मात्रै समस्या समाधान गर्नेछ । सत्ताले हस्तक्षेप गर्नु पर्नेछ अनि अन्तरजातीय विवाहलाई बढावा दिनुपर्छ भन्ने गोबरग्वाँच तर्क पनि देखिएका छन् । नेपालमा वि.सं. २०२० सालदेखि नै जातीय विभेदमाथि बर्जित नगरेका हुन् र ? दलितसँग विवाह गर्नेलाई पुरस्कारको घोषणा नभएको हो र ? यो समस्या राजनीतिबाट वा अन्तरजातीय विवाहबाट समाधान हुँदै हुँदैन । बाहुनले कामी वा दमाई भनेर लेखेर पनि हुने होइन । नश्लीय विभेद उन्मूलन भएका साथै व्यापक रूपमा अन्तरजातीय विवाह भइरहेका अमेरिकामा पनि किन यस्तो भइरहेको छ ? बेलायत लगायतका देशमा पनि जातीय तथा नश्लीय विभेदको प्रसङ्ग किन उठाइरहेका छन् । रङ्गभेदको प्रश्न किन उठाउन बाध्य छन ?

विगतमा राज्यसत्ताद्वारा अन्यायमा पारिएको भन्दै आममाफी मागेकै देशमा पनि नश्लीय विभेद किन समाप्त हुनुको सट्टा बढ्दैछ ? यो गम्भीर प्रश्न हो । हल्का रूपमा लिने र गलत तर्क गर्ने हो भने समस्या झन् बढ्ने छ । अन्तरजातीय विवाह नै दलित उत्थानको कडी भनेर कसैले दाबी गर्छ भने; अन्ततः त्यसले दलितमाथि अर्को ठूलो नरसंहार निम्त्याउने छ ।

त्यसो भए, अबको बाटो के भन्ने हुन्छ । वास्तवमा यहाँ नश्लीय तथा जातीय विभेदको भावना एकदम दरो रहेको छ । यो भावना नै खतरनाक र आपराधिक छ । यो भावनाको उत्पादन तथा उत्सर्जन गरिरहेको सामाजिक अवयवभित्रको ग्रन्थी वा अङ्गलाई चिन्नुपर्ने हुन्छ । त्यसपछि, रिफ्रेस, रिडिफिनेसन, रिकन्ट्रक्सन वा रिसेट वा डिकन्स्ट्रक्सन गर्नुपर्ने हुन्छ । अन्ततः गतल कनेक्सनलाई डिस्कनेक्ट गरेर सही स्थानमा रिकनेक्ट गर्नुपर्ने हुन्छ ।

यसको अर्थ यहाँ रहेको वर्ण, जातवादी भावना नै हो । हिन्दू समाज वर्णाश्रममा आधारित छ । त्यसैले जातको निर्माण गरेको हो । यहाँ महिला र पुरुष गरी दुई जात मात्रै भनेर खोक्नु पूर्णतः गलत बुझाईको परिणाम हो । महिला र पुरुष भनेको जात होइन । हिन्दू ब्राह्मणवादले यहाँ दलित भनेर चिन्ने र चिनाउनेहरूमाथि वर्ण/जातको आधारमा अपराध गर्दै आएको छ । यो जातीय तथा नश्लीय वा रङ्गभेद पनि होइन । हिन्दू, खस, मगर, तामाङ र गुरुङ आदि मात्रै जातीय वा नश्लीय विषय हो । दलित त जाति वा नश्लीय भन्दा पनि हिन्दूभित्रैको जात मात्रै हो । महिलालाई दोस्रो दर्जामा नराखेसम्म अतिवादी हिन्दूलाई खाएको पचाउन गाह्रो हुन्छ । राष्ट्रपति पदमा आसिन महिलामाथि जनकपुरको मन्दिरमा जुन घटना घटाए; त्यसपछि अन्यको कुरा गर्ने ठाउँ नै छैन ।

कुनै समय गोल्छे सार्कीले रामचन्द्र पौडेललाई संसद्मा झापड लगाएका रे । त्यसपछि गाउँको घरमा पस्ने बेला पौडेललाई हिन्दूविधिअनुसार चोख्याएका रे । प्रधानन्यायधीश पदमा रहेकी बेला शुशिला कार्कीले जातको आधारमा गरेको विभेद पढेकै हौं । त्यसकारण समस्याको समाधान कानून, राजनीति तथा अन्तरजातीय विवाहबाट हुने देखिँदैन । राजनीतिले राजनीतिकरण गरेपछि अन्याय सहनुको विकल्प छैन । राज्यसत्ता र राजनीतिले नै कानून बनाएर समस्या समाधान गर्नुपर्छ भन्ने हो भने, शक्तिमा रहेको राजनीतिक पार्टी वा नेताले जे गरेपनि हवस् मालिक भन्नुपर्ने हुन्छ । त्यो सिधै सुसाइड गोल खाने तर्क हो । यत्ति पनि नबुझ्ने पाखण्ड सोचहरू रहुञ्जेल समस्या बल्झिइरहने छ ।

कुनै समयसम्म हिन्दू भनिएकाले पनि गौमांस ग्रहण गरेका प्रशस्त प्रमाण भेटिएका छन् । सातौं शताब्दीतिर आएपछि बाध्यताबश गोमांसहारमाथि प्रतिबन्ध लगाउनुपरेको दाबी पाइएको छ । त्यसका लागि कामधेनु गाईको अवधारणा विकास गरेका देखिन्छन् । तत्कालिक पुरोहित आदिका माध्यमबाट समाजलाई घोकाएपछि अन्ततः गाईलाई गौमातामा परिणत गर्न गराउन सफल भएको थियो । सोही रीतअनुसार हिन्दूवर्ण (जात)व्यवस्थाको अन्त्य गराउन सक्ने हो भने दलित, जातीय, क्षेत्रीय, वर्गीय, तथा लैङ्गिक समस्या स्वतः समाप्त हुनेछन् । गैरहिन्दूको हकमा के नि भन्ने प्रश्न उठाउन सकिने हुन्छ । स्पष्ट हुनुपर्ने के हो भने; यहाँका आदिवासी जनजातिमा वर्ण र जातको अवधारणा छैन । अहिले यिनीहरूमा देखिएको अवधारणा हिन्दू राज्यसत्ताले लादेको ह्याङओभर मात्रै हो । त्यसैले पनि दलित समस्या अन्तरजातीय विवाहबाट होइन वर्ण व्यवस्थाको आधारमा स्थापित हिन्दू जातप्रथाको उन्मूलनपछि मात्रै हुनेछ ।

यसरी अगाडि बढ्ने हो भने, अहिले रहेको हिन्दूको सङ्ख्यामा अकल्पनीय गिरावट आउने छ । यसले वर्ण वा जातवादीको ओठतालु एकै पटकमा सुकाउनेछ । अतिवादी पहाडे हिन्दू ब्राह्मणवाद स्वतः आफ्नो हैसियत (साइज)मा आउनेछ । यसलाई हिन्दू समाप्त गर्ने खेलको रूपमा नभएर सामाजिक यथार्थको हदमा सीमित राख्नुपर्ने हुन्छ । यसो गर्न सकेमा बाबुराम भट्टारार्इहरूले बाबुराम कामी भनेर लेखिरहनुपर्ने छैन । भट्टरार्इ र रिजाल लगायतका प्रायः ब्राह्मण थरहरू दलितसँग नभएको पनि होइन ।

अन्ततः आजसम्म चलेको विश्वव्यवस्थामा खोट रहेछ भनेर बुझ्न सक्नुपर्दछ । यसरी बुझ्न नसकेसम्म तथ्यबोध हुनेछैन । तथ्यबोध नभएसम्म सबैले आफ्नो दिमागलाई पुनः पुनः फर्म्याट गरिरहन सक्नु पर्नेछ । पूर्णतः फर्म्याट गरेपछि बल्ल नयाँ वैकल्पिक विश्वव्यवस्थालाई इन्स्टल गर्नु गराउनुपर्ने हुन्छ । त्यो भनेको पहिचानवाद हो । म को हुँ भनेर हेर्न र चिन्न नसक्ने गरी अन्धो बनाइरहेको अहिलेसम्मका व्यवस्थाका समूल नष्ट बिना नयाँ शताब्दीको मार्गचित्र कोरिने छैन । नआँत्तिनुस्, मान्छेले चाहेको खण्डमा असम्भव केही पनि छैन ।

२९ जेठ ‘७७
चाबहिल

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *