विषय सन्दर्भ
अन्तर्जातीय प्रेम बसेपछि जाजरकोट भेरी नगरपालिका वडा नं.४ का १९ वर्षीय नवराज वि.क. यही २०७७ साल जेठ १० गते बेलुका चौरजहारी नगरपालिका वडा नं.८ सोतीकी प्रेमिका सुष्मा मल्ललाई १२ जना साथीहरूसित भगाउनका लागि त्यहाँ पुगे । तर प्रेमिकातर्फका घरपरिवारले थाहा पाएर आरोपित वडाध्यक्षसहितका गाउँलेहरूले नवराज विकलगायत उनलाई साथीहरूमाथि ढुङ्गामूढासहित साङ्घातिक आक्रामण गरेर उनी र उनका एक जना साथीलाई कुटीकुटी त्यहीँ मारे भने २ जना भेरी नदीमा हाम फाल्दा ज्यान गुमाउन पुगे भने ६ जना बेपत्ता छन् । घटनापछि प्रहरीले शंकास्पद १२ जनालाई पक्राउ गरी छानबीन गर्दैछ। उता नवराजको बुबा मुनलाल वि.क. ढाडको रोगको कारण थलिएको वर्षौँ भयो काम गर्न नसक्ने भएको । उनकी आमा उर्मिला विक जो गरिबीको प्रताडना खेप्दै आएकी छिन् भने छोराको दुलहा बन्ने सपना मात्र होइन उनको जीवन लीला समाप्त भएको छ, एउटा क्रुर बर्बरतापूर्ण मानव हत्या क्रमसँगै । अनि प्रहरी बनेर बाबाआमालाई सुख दिने उनका सपना र बाबाआमाको छोराले प्रहरी बनेर देशको सेवासँगै आफ्नो परिवारको कल्याण सपना मात्र होइन, मायाको डोरो चुँडिएको छ सदाका लागि।सिर्फ त्यो साना जातका दलित परिवारले कथित ठूला जातका छोरीचेलीसँग प्रेम गरेर विवाह हुन लागेकोमा ।
तर यो घटना दलितमाथिको हाम्रो समाजको कहाँ एकल घटना मात्र हो र ? मानव सभ्यतामाथिकै कलङ्कित, पाखण्डी, बर्वर र पशुजन्य यस्ता कार्य वर्षेनी घटिरहेकै छन्। जुन कहिले उच्च र निम्न जातीय प्रेम विवाहको नाममा, कतिपय अवस्था धारामा पानी छोएको निहुँमा र कतिपय अवस्थामा मन्दिर प्रवेशको विषयलाई लिएर यस्ता निर्मम घटनाहरू घटिरहेछन् ।यस्ता घटनाहरू दलित समुदायमात्र सीमित छैनन् समाजमा घट्ने यस्ता अमानवीय, जघन्य, क्रुर साक्षसी घटनाहरू जुन महिलामाथिको बलात्कारकोरूपमा, महिलालाई जिउँदै जलाउने हर्कत बनेर, बोक्सीको नाममा महिलालाई दिसापिसाब खुवाउनेसम्मको घटनादेखि बोक्सीको नाउँमा गाउँ निकाला गर्ने र हत्या गर्नेसम्मको अत्यन्त क्रुर र बर्बर दुखद घटनारूपीकलङहरूहाम्रो समाजमा दिनानुदिन घटिरहेछ । त्यसैगरी छाउपडीको कुसंस्कारमा वर्षेनी कैयौँ महिलाहरूले अकालमा ज्यान गुमाइरहेछन् ।यसरी सदियौँदेखिको लैङ्गिक, जातीय विभेदका साथै अन्धविश्वासजन्य मानव सिर्जित कुकार्यले कथित वर्तमान सभ्यताको धज्जी मात्र उडाएको छैन, शिक्षित समाज र शिक्षा पाउनुको अर्थमाथि नै गम्भीर प्रश्न उठेको छ ।
किनभने मुलुक ऐन २०२० देखि नै जातीय छुवाछुतको व्यवस्था गरेको थियो भने वि.सं.२०६४ साल जेठ २१ गते जातीय छुवाछुत मुक्त देश घोषणा गरियो । अझ घटना घटेको चौरजहारी नगरपालिका पनि छुवाछुतमुक्त र जातीय सद्भावयुक्त नगरपालिका घोषणा भएको देखियो । त्यही नगरपालिकामा वडाध्यक्ष जो स्वयम् वडा सरकार प्रमुख मानिन्छन् सङ्घीय व्यवस्थामा, यस्ता दुखद घटना घट्न हुन नदिनुपर्ने अभिभावक, जनताका र रक्षक तर तिनै व्यक्ति दलितको नाम आम नरसंहार कर्ता। तिनकै नेतृत्वमा यो निशंश हत्याको ताण्डव नृत्य मच्चाइए । तथापि यो एकल घटना होइन, कथित शिक्षित सभ्य भनिएको समाजमा शिक्षकले बोक्सीको नाममा महिलामाथि दिशापिसाब खुवाउने र कुटपीट गरी अपराध गरेको तथा शिक्षित व्यक्ति वा परिवारबाट दाइजोको नाममा महिलालाई जिउँदै जलाइएका असङ्ख्य घटनाहरू घटिरहेछन्, जुन कुरा मानव समाजमा हुन कल्पनै गरिएको हुँदैन, त्यही कुकर्म भइरहेछन्, घटना घटिरहेछन् । यो घटना विगतको निरन्तरताको एक शृङ्खला मात्र हो सभ्य भनिएको समाजको पाखण्डीपनको कठोर र कटु प्रमाण वा भनू सभ्यतामाथिको असभ्य चरित्र र व्यवहारको नाङ्गो प्रकरण हो । यो घटना अन्तिम होइन जसरी विगतको यो घटनाको वर्तमानसम्म शृङ्खला जोडियो यसले भविष्यसम्म यस्तै हृदयाविदारक, कानुनी व्यवस्थाको धज्जी उडाइ र कथित सभ्य तथा शिक्षित भनाउँदा समाज र मानिसको असली अन्तर संस्कार, अन्धविश्वास, शिक्षा पद्धतिको कमजोरी र सामाजिक तथा सांस्कृतिक रूपान्तरणको बहानालाई सतहमा ल्याइरहने छ । यसका लागि व्यक्ति, समाज र राष्ट्रले वर्तमान शिक्षा व्यवस्था, साक्षरता, विकासको प्रभाव र गरिएका नीति कार्यक्रमको जनतासम्म पुगेको प्रभावको सिंहावलोकन गर्न हतार भइसकेको छ । यसले हाम्रो राजनीतिक र शासकीय व्यवस्थामा, समग्र विकास योजना र कार्यक्रमको मोडालिटीमा र शिक्षाको अन्तरवस्तुका साथै शिक्षा प्रवाह गर्ने सिलसिलामा गहन र गम्भीर त्रुटिहरूको रातो सङ्केत गरिरहेछ डोर विक्रम विष्टकाअनुसार नेपालको विकासको बाधक भाग्यवाद हो। यसको मूल जरो वा कारण पत्ता नलगाई अब धेरै छैन, अन्यथा हाम्रा सारा प्रयासहरू अहिलेजस्तै सतही, बोक्रे, आडम्बरी र जीवनजगत नबुझ्ने केवल मेसिन वा सुगाजस्तै हुनेछौँ जसको न विवेक हुन्छ न विद्धता । बरू यो मूर्खतामा बदलिन्छ वडाध्यक्षले नै दलित युवाको हत्यामा उत्रनु मूर्खताको पराकाष्ठा हो, महिला शिक्षकले बोक्सीका नाममै महिलाकै अपमान गर्नु र अनि महिला शिक्षक नै छाउगोठमा मर्नु शिक्षाप्रतिकै पाठ्यक्रम र विषयवस्तु तथा त्यसलाई प्रवाह गर्ने शिक्षक र शिक्षण संस्थाको सक्षमतामाथिको गहन र यक्ष प्रश्न हो आदि ।
व्यक्ति र समाजभित्र लुकेको यथार्थ
जसरी हरेक प्राणी वा मानिसको जीवन करौँडौँ कोषहरू ईट्टासरी मिलेर बनेको हुन्छ, तिनै सानो कोषको स्वस्थता, सबलता र सक्रियतामा समग्र प्राणीको जीवन स्वस्थ हुन्छ । जसरी क्यान्सर हुँदा त्यही कोषको वृद्धिमा गडबडी हुन्छ र कोषको थुप्रो लाग्न पुग्छ ।समयमै त्यस कोषलाई उपचार विधिमार्फत् जस्तो शल्यक्रिया, रेडियोथेरापी र किमोथेरापी गरी क्यान्सर कोषको नष्ट गर्न अपरिहार्य छ अन्यथा घरको ईट्टारूपी शरीरका कोषहरू क्यान्सरले बढ्न थालेमा जसरी घर ढल्छ भने मानिसको मृत्य हुन पुग्छ ।
व्यक्ति, समाज र राष्ट्रको विकासमा पनि माथिको कोषीय सिद्धान्त लागू हुन्छ जहिले पनि समाजको सबैभन्दा तल्लो वा सूक्ष्म एकाइ व्यक्ति हो। तिनै व्यक्तिको शिक्षा, स्वास्थ्य र सक्षमताका साथै उसको सोच, संस्कार र व्यवहारको माथिल्लो एकाइ समाज र देश हुन् । तसर्थ सुधारको एकाइ मानिसको शरीरको सूक्ष्म कोषबाट नगरे सम्भव नभए जस्तै सामाजिक सांस्कृतिक रूपान्तरणका लागि सूक्ष्म एकाइ भनेको व्यक्ति र उसको सोच, संस्कार र व्यवहार परिवर्तन हो । यस रूपान्तरणको आधार चाहिँ सामाजिक मूल्य मान्यता, संस्कार, संस्कृतिको निर्माण र हस्तान्तरण हो । अर्को औपचारिक, अनौपचारिक शिक्षाबाट व्यक्तिको सोच, संस्कार र व्यवहारमा परिवर्तन हो ।तर हाम्रो समाजमा घटना घट्नुको कारण, रहस्य र मूल ज्वरोलाई म देहायअनुसार प्रस्तुत गर्छुः
घटना १: कक्षा ७ मा पढ्दा एकदिन दलित साथीले ल्याएको मकै भटमास खानु पर्यो र मेरो मनमा के हुने हो ? परिवारमा भनेअनुसार देवता रिसाउने, अनिष्ट डरले मनमा हुँडलो मच्चिरह्यो । घरमा कसैलाई भनिनँ किनभने घरैमा हो दलित भनेको सानो जात, छुन नहुने, देवता रिसाउने, पाप लाग्ने आदिआदि सुनेको थिएँ। त्यसैको सिकार भएर केही भित्रभित्रै केही न हुने होइन भन्ने पीडा भइरह्यो भने केही दिन पछि स्वतः हराउन पुगे मनको डर ।
घटना २: माध्यमिक विद्यालयमा म सामाजिक विषय पढाउने हुँदा दाइजो, लैङ्गिक विभेद र अन्धविश्वासको बारेमा पढाउनुपर्ने थियो । मैले पढाउँदा महिला पुरूष बराबर हुन् समाजले सानोठूलो बनाउने काम गरेको हो भनी बताउँदा छात्रहरू हैन हामी केटा ठूलो, हामी पुरूष हो भनी भाले प्रवृत्ति देखाई छाडे । मैले विभिन्न उदाहरण दिएर सम्झाए जसमा छात्राको पनि मेरो तर्कप्रति सहमत थियो, किन बराबर भन्ने तर्क छात्राहरू दिन सक्दैनथे तर मैले संसारको महिलाको सफलतादेखि व्यवहारिक उदाहरण दिएर केही दिनमै महिला पुरूष समान हो भन्ने सम्म छात्रहरूलाई आश्वस्त बनाए र स्वीकारे । तर एक दिनको कुरा अन्धविश्वासकै प्रसङ्गमा धामी, झाँक्री र भूतप्रेतको कुरा उठ्यो । मैले नानीहरूलाई भूतप्रेत भन्ने कुरा कहाँ हुन्छ र ? धामीझाँक्री पनि मनको शान्ति हो, भ्रम हो भने । त्यो असत्य हो भनेँ तर उनीहरू तिनछक परे यो सर बौलायो कि क्या हो ? भनेर कानेखुशी गरिरहेको सुनेँ । त्यसपछि म उनीहरू अन्धविश्वास के हो र सत्य के हो भनी बुझाउन निरन्तर ६ महिना जति सामाजिक विषय पठनपाठनकै क्रममा सिलसिलामा जोडेर लागेँ । बल्ल ६ महिनाको मेरो कठोर प्रयासले भूतप्रेत जस्ता कुरा मानिसबाट बनाइएका वा प्रमाण विनाका फैलाइएका हावा कुरा हुन् भनी बुझ्न सके । तर एउटा आश्चर्यको कुरा त्यो विद्यालयमा म चाहिँ एउटा कक्षामा सामाजिक अन्धविश्वास हटाउन बोक्सी भन्ने कुरा गलत भन्ने भने अर्को कोठामा बीएस्सी शिक्षकले विद्यार्थीलाई हेर नानी हो, हिजो बोक्सीले टोक्दा मेरो गोडामा यस्तो खत बा डाम बसेको छ भन्दै देखाउँदै गरेको पाउँथे। मेरा लागि यो कुरा सुन्दा संसारको नवौँ दसौँ आश्वर्य जस्तो लागे पनि अधिकाँश शिक्षकका लागि सत्य हुन्थ्यो किनभने त्यही विद्यालयका प्रअसहित धेरै शिक्षकले त्यस विद्यालयका बालिकामा मास हिस्टेरिया हुँदा पूजा गरौँ भन्ने गरेकोमा मैले डाक्टर बोलाएर उपचार गर्न लगाउँथे ।
घटना ३: म एकपटक मावि तहमा पढाउने बेलामा कोठा छुट्टै भए पनि खानाको व्यवस्थाको लागि आयुर्वेद केन्द्रमा उक्त स्वास्थ्य केन्द्रका २ जना साथीसँग मेसमा सहकार्य गर्थें । एक जना साथी उक्त केन्द्रका प्रमुख ब्राम्हाण समुदायका आचार्य थरका थिए भने अर्को वैद्य पदका कार्यरत तामाङ जातिका साथी थिए । म पनि तामाङ जातिकै थिएँ । कहिलेकाहीँ हाकिम आचार्य र तामाङ वैद्य अध्ययनकालमा विद्यार्थी राजनीति गरेका थिए। दुई जनाबीच कहिलेकाहीँ साना र ठूला जातको कुराकानीमा डिस्कस हुन्थ्यो, कुटाकुट हुने स्थिति सम्म आउन लाग्थ्यो । जसमा मैले यो जात भनेको मानिसले कथित वा मानिसले बनाएको चीज हो ठूला सानो कर्मले हुने हो भनेर सम्झाएपछि चुप लाग्थे फेरि पछि उस्तै हुन्थे किनकि उसको मगजमा भरिएको ठूलो र सानोको भ्रम हटाउन बाँकी थियो । मैले सकेको प्रयास गरेँ । अझ तामाङ बैद्य साथी त एउटा वडा ठूलो तनावमा देखिनुहुन्थ्यो र भन्नुहुन्थ्यो मेरी आमा त के हो केहो ? मेरा बच्चा त उहाँकै पछि लाग्ने अनि केके मात्र भन्ने । मलाई लाग्यो यिनले आमालाई बोक्सी ठानेको हुनुपर्छ । उनलाई मैले नजानिँदो तरिकाले वैद्यज्यू यो संसारमा त मानिसले बोक्सी वा भूतप्रेत केके बनाए हैन र भनेँर मन चोरेँ । तर उहाँले बोक्सी कुनै हालतमा हुन्छ बाजी राखौँ र अरूलाई बोलाऔँ । मैले भूत देखेको छु आदिआदि बताए । बिरामीलाई सम्झाउनुपर्ने डाक्टरको बुझाइ यतिसम्म छ कि आफ्ना आमालाई बोक्सी ठानिरहेको छ। कठै, हाम्रो शिक्षा पद्धति भन्ने लाग्यो, जसले वैद्यको जागिर खाएको छ र बिबिएससम्म पढेको छ ।मैले एक महिनाको छलफल पछि उहाँलाई संसार यथार्थ र अन्धविश्वास उहाँलाई बुझाएँ,त्यसपछि उहाँ त्यति खुशी हुनुभयो कि मलाई उहाँको मनको रोग निको पार्ने डाक्टर मान्नुभयो । अहिले अधिकृत सोसरह पदमा कार्यरत हुनुहुन्छ ।
घटना ४: कुनै जिल्लामाजिल्ला शिक्षा अधिकारी हुँदा सिडिओको च्याम्बरमा बैठक हुनु अघि अनौपचारिक कुराकानी चलिरहेको थियो । एक उपसचिवस्तरको कृषिका वरिष्ठ अधिकृतले भूतप्रेत र बोक्सीको कुरा निकाले र केही समयसम्म सबैले एलडिओ लगायत महिला विकास अधिकृतले समेत त्यसमा सही थापे पछि मेरो कन्सिरीको रौँ तात्यो । मैले के तपाईँहरूलाई विश्वास विश्वास छ बोक्सी प्रथामा भनी सोधेँ । सबैजना बोक्सी हुन्छ भन्नेमा लागे तर मैले तर्क गरेर छैन भन्नेमा जोड गरिरहेँ त्यत्तिकैमा बैठक सुरू भयो । भनूँ तिनीहरूको मस्तिष्कमा बोक्सी रहिरह्यो विकास विकास अधिकृत सम्ममा । उनीहरूबाट अपराध कार्य नघटेको भए पनि पलपलमा अपराधिक सोच संस्कार बोकेर बसिरहेकै होलान् अझै ।
हामी चुक्यौँ कहाँ ?
मलाई मेरो विद्यालय कक्षाकोठा र पाठ्यपुस्तकले सिकाएको होइन, भूतप्रेत, बोक्सी र जातजाति अन्धविश्वास र भ्रम हो भनेर । मेरा साथीहरू जो विद्यार्थीकालमै वामपन्थी आन्दोलनमा लागेका थिए उनीहरूबाट विद्यालयको छात्राबासमा बस्दा छलफलको कुरा सुनेर बुझ्न थालेँ । अनि ती विद्वानहरू गुरूहरू जसले कसैले गायत्री मन्त्र सुनाउँथे जसलाई सुनाउन हुन्न भनिन्थ्यो । तिनै महान गुरू जसले शोषण, अन्धविश्वास विरूद्ध नाटक लेखन प्रदर्शन गर्नुहुन्थ्यो अनि तिनै गुरू जसले देउसी भैँलोको कार्यक्रममा प्रगतिशील गीत गाउने नाच्ने गर्नुहुन्थ्यो । एक जना हेर सरले भन्नहुन्थ्योःदरबारमा रानीसाहेब महिलालाई कसले बोक्सी भन्न सक्छ ? जो विधवा छ जो गरीब छ उसलाई बोक्सी भन्ने होइन र ? यति नै काफी थियो उहाँको वर्णन अन्धविश्वास चिर्नको लागि। मन्त्रीदेखि सभाषद भएका मान्छेलाई दलित भनेर कसले हेप्छ तर लुगा सिइरहेका, घन ठोकेर पेसा गरिरहेका दलितलाई कसले हेप्दैन ? जस्ता शिक्षकबाट गरिएका प्रश्नसहितको दार्शनिक सिकाइले मलाई यसबारे बुझ्न सहयोग गर्यो ।
सबैभन्दा ठूलो बुझाइको परिवेश त सरहरू ३ जना मिलेर विद्यालयमा आफ्नो नाम जोडेर कृसक (कृष्ण खुलाल, डा.सनत बराल, कर्ण थापा) पुस्तकालय स्थापना गर्नुभयो । जहाँ मैले मोदनाथ प्रश्रित लिखित केही सांस्कृतिक निबन्धहरू पढेँ त्यसले मलाई मान्छेले मान्छेमाथि गरिने भेदभाव र छुवाछुत अमानवीय र भ्रम रहेको भन्ने विषयमा आँखा खोलिदियो।गाउँमा आफ्नै संयोजकत्वमा खोलेको पुस्तकालयमा मार्क्स, लेलिन लगायतका भौतिकवादी पुस्तकको पठनपाठनका साथ प्रश्रितकै भूतप्रेतको कथा पढेपछि मेरो मनका बोक्सी, भूतप्रेत र जातपातीसम्बन्धी सदाका लागि हटे । मैले दलितसम्बन्धी पुतलीको लास नाटक लेखेर मञ्चन गर्न कार्य गरेँ आफ्नै गाउँमा, जुन केही समयपछि प्रकाशन हुँदैछ । तर मेरा साथीहरू, अन्य विद्यालय कक्षा साथीहरू जो मैले पाएको साथीको सल्लाह, गुरू मार्गदर्शन र प्रश्रितका पुस्तक नपाएकाहरू तिनै बोक्सी र जातपात मान्ने एलडीओ, कृषि उपसचिव, महिला अधिकृत जस्ता भए ।
माथिको प्रसङ्गसँग जोड्दा मिलान गर्दा चौरजहारी नपाकोआरोपित वडाध्यक्ष जस्तो भए, देवता हुनुपर्ने ठाउँमा राक्षसको रूप धारण गरेर नवराज विकहरूको हत्या गर्न पुगे । जुन अरूको हत्या मात्र नभई आफ्नै पनि अप्रत्यक्षतः हत्या हुन गयो । यसमा स्पस्ट के छ भने माथिका अन्धविश्वासी शिक्षक, वैद्य, कृषि उपसचिव, एलडिओ र शिक्षक अनि वडाध्यक्षहरूको घरपरिवार, विद्यालय र समुदायको शिक्षामा वा उनीहरूले पढेको पाठ्यपुस्तकमा मैले पढ्न पाएको थप विषय छुटेको थियो । उनीहरूले सही शिक्षा पाउने अवसर प्राप्त गरेनन्, भनूँ पढाइको नाममा विद्यालयदेखि कलेजसम्म पढी परीक्षा पास गर्यो र लोक पास गर्यो, जागिर खायो ।
तर उसको जिन्दगीको लागि अत्यावश्यक कोर्स छुट्यो भनूँ उसको जिन्दगीको सफलताको प्लेन छुट्यो । त्यो प्लेन भनेको त्यही जातिपाति, बोक्सी प्रथा, दाइजो प्रथा र छाडपडी जस्ता अन्धविश्वासलाई पार लगाउन आवश्यक थियो ।त्यही छुटिरहेछ अहिले पनि घरमा, विद्यालय र कलेजमा र समुदायमा सिक्नैपर्ने कुरा, नभई नहुने कुरा र छुटाउनै नहुने कुरा जुन कुराको सिकाइ विना यो धर्तीमा साँचो र असली मान्छे हुनै सक्दैन त्यही छुटिरहेछ । त्यसकारण यहीँनेर गडबडी छ हाम्रो संस्कार सुधार गर्ने मुहानरूपी घरपरिवार र समुदाय नै गलत संस्कार हस्तान्तर गरिरहेछ अझैसम्म । अनि विद्यालय र कलेजहरू परीक्षा पास गराइरहेछन् र सुगा बनाइरहेछन् तिनलाई मान्छे नबनाएसम्म यो मानवतामाथिको कलङ्क दोहोरिरहने कुरामा कुनै शंका छैन । किनभने घरपरिवार र समुदायमा सिकेको गलत कुरा परिमार्जन, परिस्कार र सुधार गर्ने थलो विद्यालय र कलेज हो । तिनैको कोर्स वा पाठमा उल्लेखित विषयवस्तु त छुटेको छ नै, विद्यालय र कलेजका अधिकाँश शिक्षक वा प्राध्यापक नै अन्धविश्वासरूपी चक्रव्यूह तोड्न सकेनन् महाभारतको अभिमन्यूलेजस्तै विचरा, अभिमन्यूलाई चक्रव्यूहमा पस्न सिकाइको थियो तर निस्कन भने सिकाइन । र त मृत्य हुन वरण गर्न पुग्यो ।कठै ती वडाध्यक्ष, ती शिक्षक, ती वैद्य, ती एलडिओ, ती महिला विकासहरू अधिकृत तिनै महाभारतका अभिमन्यू जस्तै हुन्, जसरी अभिमन्यूलाई चक्रव्यूह तोड्न सिकाइएन भने यी सबैलाई शिक्षाको नाममा मात्र परीक्षा पास गर्न सिकाइयो । सभ्य मानव समाज र राष्ट्रको लागि आवश्यक संस्कार दिएन भने यस्ता घटनाहरू घटिरहेछन् र यो घटिरहनेछ । जबसम्म कोर्स करेक्सन हुँदैन र सही गुरूको फेला परेर सही संस्कार र दीक्षा प्राप्त गर्दैनन् ।यो अपराध हो, यसको कारण मनुवादी सोच, सामन्तवाद आदिआदि भन्दैमा सुधार हुँदैन, यसको लागि त जहाँनिर क्यान्सररूपी कोष बिग्रेको हो त्यसलाई हटाउनै पर्दछ वा मनमष्तिष्कमा रोपिएको गलत संस्कारमा प्रहार गर्नुपर्छ वा सुधार गर्नु पर्दछ ।
के गर्नुपर्छ त सुधारका लागि ?
एकातिर शासन सत्ता कानुन बनाइरहन्छ, बोक्सी, जातिपाति, छाउमुक्त र निरक्षरतामुक्त स्थानीय तह, प्रदेश अनि देश नै घोषणा भरहन्छन् नाटकमा नयाँ नयाँ दृश्य फेरिएजस्तै ।तर जातिपाति विभेद घट्नेवाला छैन, अन्धविश्वास हराउनेवाला छैन, छाउपडी मुक्त हुने छैन त्यो बेलासम्म जबसम्म उनीहरूका मनमा रोपिएका जातिपाति विभेद गलत हो र यसलाई हटाउन उनीहरू नै अगाडि नबढेसम्म । अनि अन्धविश्वास हट्ने छैन त्यो बेलासम्म, जुन बेलासम्म बाल मस्तिष्कमा भूतप्रेत र अन्धविश्वासको हाउगुजी भरिएको र बोक्सी भन्ने भ्रमलाई मनमस्तिस्कमा रोपिदिएको छ त्यसलाई जरैदेखिन उखेलेर नफालेसम्म । अनि छाउपडी गोठ भत्काएर मात्र हट्नेसम्म छैन वा छाउपडी मुक्त क्षेत्र त्यो बेलासम्म हुनेछैन, जुन बेलासम्म मनभरि गडिएको छाडपडीरूपी भ्रम हटाइँदैन । त्यसैले त भनेको हुनुपर्छ पहिला भत्काऊ मनका छाउहरू ।किनभने गोठ निर्दोष छ दोषी त मान्छे हो। त्यसैले उसलाई सक्षम बनाऊ, सिकाऊ, बुझाऊ । अनि मात्र उसले सदाका लागि यो धर्तीबाट यस्ता सामाजिक विसङ्गति र विकृतिलाईकसिङ्गर सरी बढारी दिन्छन् । अन्यथा मुलुकी ऐन जारी गरिएपछिको १६७ वर्षको छुवाछुत विरूद्धको घोषित कानुनी प्रावधान चिसा अक्षरमा सीमित रहन्छन् र यस्ता अपराधहरू दैनन्दिन घटिरहन्छ निरन्तर ।
त्यसैले भारतीय दलित क्षेत्रमा वकालत गर्ने विद्वान डा.भीमदेव अम्बेदकरले भनेझैँ कहाँ दुख्छ घाउ भन्ने कुरा त्यसलाई सोध जसलाई घोचेको छ । फेरि त्यसको उपचार डाक्टरबाटै गर अन्यथा अरूले उपचार गर्नु भनेको कच्चा वैद्यको मात्र यमपुरीको यात्रा जस्तै हो ।माथि उल्लिखित वडाध्यक्ष, शिक्षक, वैद्य, सरकारी कर्मचारीमा पनि लागू हुन्छ ।त्यसका लागि निर्णय गर्नेदेखि सेवा दिने सेवकलाई घरसमुदाय, विद्यालय र कलेजदेखि नै सही शिक्षा दिनुको विकल्प छैन ।सामाजिक र सांस्कृतिक रूपान्तरणको लागि होमी भाबा र गायत्री स्पीभाकले भनेझैँ पुरातन संस्कार हटाउनुपर्दछ र सबाल्टर्न वा सीमान्त वर्गको सक्षमता विकास गर्नुपर्दछ ।राज्यको योजना, नीति, कार्यक्रम तथा सेवा हावामा सञ्चालन गर्ने होइन, यो हरेक मानिसको मनमनमा पुग्नुपर्छ भने यसले मस्तिष्कको भ्रमरूपी क्यान्सर हटाउनु पर्दछ अन्यथा क्यान्सरले शरीरको मृत्यु भएजस्तै राज्य असफल हुन्छ रविन्सन र एसमग्लुले भनेझैँ ।यस्ता मानवता विरूद्धको अपराध न्यूनीकरणको लागि छोटो र छिटो उपाय कानुन हो ।सोही कानुनबमोजिम अपराधीलाई कडा कारवाही गर्नुपर्छ ताकी त्यो कारवाही देखेर तर्सेर अरूबाट त्यस्तो अपराध कर्म नगरोस् । अन्ततः मानिसको मनमस्तिष्कमा सही ज्ञान, विचार, संस्कार प्रत्यारोपणगर्नुपर्दछ जसबाट मात्र यो संसार साँच्चै सभ्य, सुसंस्कृत, न्यायिक हुन सक्छ ।आखिर यो दायित्व कसको ? सङ्घ, प्रदेश र स्थानीय सरकारको साथै घर समुदाय, विद्यालय तथा कलेजको ।