पोखरा महानगरद्वारा लकडाउनको समयमा वितरण गरेको राहत रकम सार्वजनिक

१३ जेष्ठ २०७७, मंगलवार १४:४५ मा प्रकाशित

चिप्लेढुङ्गा । पोखरा महानगरपालिका–५ ले बन्दाबन्दीले समस्यामा परेका विपन्न परिवारलाई वितरण गरेको राहत रकम सार्वजनिक गरेको छ । वडाले जनप्रतिनिधि, टोल विकास संस्था, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीबीच सामाजिक दूरी कायम गरेर वडाध्यक्ष धनबहादुर नेपालीले रु २२ लाख २८ हजार राहतमा खर्च भएको आज सार्वजानिक गरे ।

उनले वडाभित्र रहेका स्थायी अस्थायी बसोबास गरेका रु एक हजार ३५८ परिवारलाई (फुल प्याकेज ३०१) र (एक हजार ५७ जनालाई आधा प्याकेज) राहत वितरण गरिएको जानकारी दिए । राहतका लागि पोखरा महानगरले रु नौ लाख ८४ हजार आर्थिक सहयोग गरेको थियो भने अन्य सङ्घसंस्थाले आर्थिक तथा खाद्य सामग्री उपलब्ध गराएका थिए ।

बन्दाबन्दीमा विभिन्न सङ्घसंस्थाले पाँच हजार ३०० लाई प्याकेजिङ खाना खुवाएका छन् । चार परिवारबाट रु दुई लाख ८१ हजारको घरभाडा छुट गरिएको छ । तीन सडक बालबालिकालाई लुम्ले बाल विकास केन्द्रमा व्यवस्थापन गरेको वडाले जनाएको छ । त्यसैगरी विदेशबाट आएका १४ जनाको आरडिटी गरिएको छ भने सो अवधिमा अस्थायी रोजगार सिर्जना गरेर रु ६५ हजार ज्याला भुक्तानीसमेत गरिएको छ ।

अपाङ्गता, बिरामी, घर आगलागी भएका, मृत्यु संस्कारमा रहेका १४ परिवारलाई वडा समितिले विपद् व्यवस्थापनअन्तर्गत २७ हजार आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिकाको कोरोना रोकथाम व्यवस्थापन समिति र राहतकोष स्थापना भएलगत्तै वडाले व्यवस्थापन समिति गठन गरी सर्वदलीय, बैठक र टोल विकास संस्थाबीच बैठक गरेर वडामा बस्ने विपन्न परिवारलाई राहत वितरण गरेको सो अवसरमा जानकारी दिइएको थियो । रासस

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार