पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी विभाग सञ्चालनमा

उज्यालो प्रतिनिधि ३० बैशाख २०७७, मंगलवार गण्डकी प्रदेश

कास्की । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी विभाग (बहिरङ्ग) आजबाट सञ्चालनमा आएको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न र भीडभाड हुन नदिन गत चैत ११ देखि अस्पतालको ओपिडी सेवा बन्द गरिएकामा आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्ने गरी पुनः सेवा सञ्चालनमा ल्याइएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको सो अस्पतालमा सेवा लिन सम्भव भएसम्म बिरामीमात्र आउनुपर्ने, नभए आफन्त एकजनाभन्दा बढी आउन नहुने र अनावश्यक भीडभाड नगर्न आग्रह गरिएको छ । अनिवार्यरुपमा मास्क लगाउनुपर्ने तथा अस्पतालको लायन्स पार्क अगाडि साबुन पानीले हात धुने व्यवस्था गरिएकाले अनिवार्य हात धोएरमात्र प्रवेश गर्न भनिएको निर्देशक आचार्यले जानकारी दिए । उनले भने, ‘अहिलेको विषम अवस्थामा आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गराउँदै सेवा सञ्चालन गरिएको छ । सेवाग्राहीलाई अनावश्यक भीड नगर्न र सामाजिक दूरी कायम गर्न विशेष आग्रह गरेका छौँ ।’

अस्पतालको टिकट काउन्टर, फार्मेसी, ल्याब, स्वास्थ्य परीक्षण गर्ने कोठा तथा अन्य लाइनमा बस्नुपर्ने तथा उभिनुपर्ने स्थानमा सरकारले तोकेको न्यूनतम सामाजिक दूरी कायम गरेरमात्र बस्न विशेष निर्देशन दिइएको अस्पतालले जनाएको छ । सरकारले पश्चिमाञ्चल अस्पताललाई कोभिड–१९ को उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको थियो । ‘लेबल एक’ र ‘लेबल दुई’ दुवैको उपचार गर्ने गरी अस्पताललाई तोकिएको छ ।
लेबल एकमा कोभिड अस्पतालले सामान्य केस व्यवस्थापन आफैँ गर्नुपर्छ भने बाहिरबाट आएका र अस्पतालमा पहिचान भएका बिरामीलाई प्रोटोकलअनुसार आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने उल्लेख छ । लेबल दुईमा कोभिड अस्पतालले मध्यम, जटिल र अति जटिल केस व्यवस्थापन गर्नुपर्ने हुन्छ । बाहिरबाट आएका र अस्पतालमै पहिचान भएका मध्यम र जटिल साथै अति जटिल बिरामीलाई सघन उपचार कक्ष (आइसियु) केयरमा उपचार गर्नुपर्ने सरकारले जारी गरेको उपचार निर्देशिकामा उल्लेख छ ।

यसअघि सङ्घीय सरकारले कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री खरिदका लागि अस्पताललाई रु छ करोड बजेट पठाएको थियो । कोभिडका बिरामी आएको खण्डमा उपचार व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल १० श्ययाको आइसोलेशन कक्ष तयारी अवस्थामा छ । त्यसैगरी ११ श्ययाको आइसियुलाई कोभिड उपचारमैत्री बनाउने गरी काम भइरहेको बताइन्छ । सरकारले डेडिकेटेड अस्पताल तोकिसकेकाले कोभिड–१९ का बिरामी आएको खण्डमा अस्पतालका अन्य सबै प्रकारका सेवा भने प्रभावित हुनेछ ।

प्रदेशको सबैभन्दा ठूलो अस्पताललाई कोरोना उपचार अस्पताल बनाउँदा अस्पतालका अन्य सेवा बन्द हुने र सेवाग्राही मर्कामा पर्ने भएकाले पश्चिमाञ्चल अस्पतालको विकल्प खोज्नुपर्नेसमेत आवाज उठेको छ । नेपाली काँग्रेसले सर्वसाधारणले सर्वसुलभरुपमा स्वास्थ्य उपचार सेवा पाउने अस्पताललाई कोरोना अस्पताल बनाउने योजना अव्यावहारिक भएकाले अन्य विकल्प खोज्न माग गरेको छ ।
अस्पताललाई कोरोना अस्पताल बनाउँदा सर्वसाधारण र अन्य बिरामीको उपचारमा ठूलो समस्या आउने र सर्वसाधारण सर्वसुलभ स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुने भएकाले विकल्प खोज्न आग्रह गरिएको पार्टीका जिल्ला सभापति कृष्ण केसीले बताए ।

हाल पश्चिमाञ्चल अस्पतालको प्रयोगशालामा रहेका दुईवटा मेसिनबाट गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणको अवस्था परीक्षणका लागि दैनिक पिसिआर जाँच गर्ने गरिएको छ ।
प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट गरी वर्षमा तीन लाख तथा दैनिक एक हजार हाराहारीमा सेवाग्राहीले सो अस्पतालबाट बहिरङ्ग सेवा लिने गरेका छन् भने दैनिक २०० जनाले आकस्मिक उपचार सेवा लिने गरेको बताइन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार